|
फाइल फोटो

काठमाडौं : आइतबार प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचन  हुँदैछ। गत साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले घोषणा गरेबमोजिम आइतबार आमनिर्वाचन हुन लागेको हो। 

बिहान ७ देखि बेलुकी ५ बजेसम्म हुने मतदानबाट २७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन्। १६५ जना पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। 

प्रदेश सभातर्फ सातै प्रदेशमा ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। निर्वाचन सकिएर मतपेटिका संकलन हुनेबित्तिकै मतगणना सुरु गर्ने र तीन दिनभित्र प्रत्यक्षतर्फको गणना सक्ने आयोगको कार्यतालिका छ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ६१ र समानुपातिकतर्फ ४७ राजनीतिक दल भाग लिँदै छन्। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ दुई हजार १८७ पुरुष र २२५ जना महिला गरी दुई हजार ४१२ उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन्। 

समानुपातिकतर्फ दुई हजार १९९ जना उम्मेदवार छन्। जसमा महिला उम्मेदवारको संख्या एक हजार २०० छ। प्रदेश सभाअन्तर्गत सातवटै प्रदेशमा तीन हजार २२४ जना प्रत्यक्षतर्फ र तीन हजार ७०८ जना समानुपातिकतर्फ उम्मेदवार छन्। यसरी देशैभर प्रत्यक्षतर्फ पाँच हजार ६३६ र समानुपातिकतर्फ पाँच हजार ९०७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। 

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता मतदान गर्न योग्य छन्। ८८ लाख ४७ हजार ५७९ जना महिला तथा ९१ लाख ४० हजार ८०६ पुरुष र १८५ जना अन्य समूहका मतदाता छन्। आयोगका अनुसार मतदानका लागि १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ मतदान केन्द्र तोकिएको छ।  

चार प्रकारका मतपत्र

एक जना मतदाताले चारवटा मतपत्रमा स्वस्तिक चिह्न लगाउनुपर्नेछ। प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) र समानुपातिक गरी दुई र प्रदेश सभातर्फ प्रत्यक्ष र समानुपातिक गरी दुई प्रकारका गरी चार प्रकारका मतपत्रमा स्वस्तिक चिह्न लगाउनुपर्नेछ। 

आयोगका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सेतो पृष्ठभूमिमा रातो रङको चुनाव चिह्न अङ्कित मतपत्र रहनेछ। प्रतिनिधि सभाको समानुपातिकतर्फ सेतो पृष्ठभूमिमा कालो रङको मतपत्र छापिएको छ। प्रदेश सभाको प्रत्यक्षतर्फ सेतो पृष्ठभूमिमा रातो चुनाव चिह्न र समानुपातिकतर्फ सेतो पृष्ठभूमिमा कालो रङले अंकित चुनाव चिह्न भएको मतपत्र छापिएका छन्। 

अस्थायी मतदाताले भने प्रतिनिधि सभाको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउनेछन्। त्यस्ता मतदाताको संख्या चार लाख ५० हजार रहेको छ। अस्थायी मतदाताका लागि १४१ वटा तोकिएको छ।

संविधान जारी भएपछि दुवै सभाका लागि हुन लागेको यो दोस्रो आवधिक निर्वाचन हो। यसअघि २०७४ मङ्सिर १० र २१ गते दुई चरणमा निर्वाचन भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.