|

काठमाडौं : प्रतिनिधिसभा र प्रदेश निर्वाचनको मतदान सकिएको छ। आयोगले तोकेको आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय सकिएको हो। 

मतदानका क्रममा अनुगमनमा निस्किएका उम्मेदवारहरूबीच जम्काभेट भएको छ। उनीहरूबीच सौहार्द्रपूर्ण भेटघाट भएको छ भने केही उम्मेदवारबीच घोचपेचसमेत भयो। 

काठमाडौं–५ मा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार रहेका प्रदीप पौडेल र ईश्वर पोखरेलबीच टोखा नगरपालिका–७ मा जम्काभेट भयो। उनीहरूबीच त्रिलिङटार मावि मतदान केन्द्रमा भेट भएको हो। 

काठमाडौं–१ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका कांग्रेस नेता प्रकाशमान सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबीच जम्काभेट भएको छ। उनीहरूबीच रत्नराज्य मावि मतदान केन्द्रमा जम्काभेट भएको हो। 

राप्रपा नेता शरदराज पाठकका अनुसार जम्काभेटका क्रममा कांग्रेस नेता सिंहले मिश्रलाई भनेका थिए, ‘मनोनयन दर्तामा भेट भाथ्यो, आज भेटियो। अब ५ वर्षपछि भेटौँला।’ 

भेटका क्रममा उनीहरूबीच घोचपेच भएको छ। २०७४ सालको निर्वाचनमा पनि सिंह र मिश्र प्रतिद्वन्द्वी रहेका थिए।

‘अब अर्को पटक उम्मेदवारका रुपमा सम्भवतः हाम्रो भेट नहोला‚’ मिश्रको जवाफ थियो, ‘किनकि तपाईंलाई विश्राम चाहिएको छ, काठमाडौं– १ का मतदातालाई अब म चाहिएको छ।’ 

झापा–३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच पनि जम्काभेट भएको छ। 

कञ्चनपुर–३ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखक र नेकपा एमालेका उम्मेदवार निरुदेवी पालबीच पनि भेट भएको छ। उनीहरूबीच क्षेत्र-३ मा पर्ने वेदकोट नगरपालिका–८ गैलनदीस्थित बैजनाथ मावि मतदान केन्द्रमा भेट भएको हो। 

कञ्चनपुर–२ मा पर्ने कृष्णपुर नगरपालिका–९ राजघाटस्थित पञ्चाधीन माविमा प्रदेशसभा सदस्य उम्मेदवारद्वय ओम सरल भाट र बचनबहादुर सिंहको अनुगमनका क्रममा भेट भएको छ।

भाट सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार हुन् भने सिंह एमालेका तर्फबाट उम्मेदवार बनेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.