|

काठमाडौं : न्युजिल्याण्ड भ्रमणमा रहेको भारतले दोस्रो टी-२० मा ६५ रनको जित निकालेको छ।

१ सय ९२ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १ सय २६ रनमा समेटिँदा भारतले जारी शृंखलामा १-० ले अग्रता लिएको हो। 

टस हारेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो। भारतका लागि सूर्यकुमार यादवले शतकीय पारी खेल्दै १ सय ११ रन बनाए। ५१ बलको सामना गरेका उनले ११ चौका र ७ छक्का प्रहार गरेका थिए।

सूर्यकुमारबाहेक भारतका लागि इशान किसनले ३६ तथा श्रेयस ऐय्यर र हार्दिक पाण्ड्याले १३/१३ रन बनाए।

न्युजिल्याण्डका टिम साउदीले ह्याट्रिक गर्दा लकी फर्गुसनले २ विकेट लिए। 

१ सय ९२ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले दोस्रो बलमै पहिलो विकेट गुमाएको थियो। कप्तान केन विलियम्सन ६१ र डेभोन कन्वेले २५ रन बनाउनुबाहेक अन्यले राम्रो रन जोड्न सकेनन्। ५२ बलको सामना गरेका विलियम्सनले २ छक्का र ४ चौका प्रहार गरेका थिए। 

न्युजिल्याण्डलाई सस्तोमा समेट्न भारतका दीपक हुडाले ४ तथा मोहम्मद सिराज र यजुर्वेन्द्र चहलले २/२ विकेट लिएका थिए।

वर्षाका कारण शृंखलाको पहिलो खेल रद्द भएको थियो भने तेस्रो तथा अन्तिम खेल मंगलबार खेलिनेछ।

त्यसपछि भारत र न्युजिल्याण्डले ३ खेलको एकदिवसीय शृंखला खेल्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.