|

पर्वत : ‘यिनका धन्दा धान्न मत हाल्न आउन पर्नी।  पानी नभएर अहिलेसम्म काकाकुल बन्दा कसैले देखेनन्। फेरि घरको काम छाडेर यिनैलाई जिताउन भोट हाल्न पर्नी। कस्लाई भोट हालेर के भयो? अझै फेरि भोट हाल्न दुःख दिनी बरु बिग्रोस पछुतो हुन्न मलाई। पानी खान नपाएको नदेख्नेलाई मत दिएर के भो?’ पर्वतको जलजला गाउँपालिका–७ धाई रिङमा रहेको कृष्ण भवन धर्म माध्यमिक विद्यालयको ‘ख’ मतदान केन्द्रमा मतदानका लागि आएकी एक महिलाको भनाइ हो यो। 

कुनै काम छाडेर निकै हतार–हतार मतदानका लागि आएकीजस्तै देखिएकी उनी फोटो सहितको नामावलीमा कर्मचारीले नाम भिडाउने बेला एकोहोरो बोलिरहिन्। जनताका समस्या नदेखेका नेतालाई भोट दिनुको तुक नभए पनि बाध्यतामा परेर आएको बताउँदै उनले मतदान गरिन्।

सोही मतदान केन्द्रमा बिहानको ११ बज्दा सम्म झन्डै १५ प्रतिशतभन्दा मत खस्न सकेन। हरेक निर्वाचनमा सात बजेबाटै थामी नसक्नुको भिड लाग्ने गरेको भए पनि यस पटक कुनै पनि बेला भीडभाड भएन। मतदान केन्द्रमा रहेका राजनीतिक दलका प्रतिनिधिहरू आफ्ना मतदाता आए की? भन्दै चियाइरहन्थे तर मतदाता फाटफुट मात्रै आए। यो अवस्था एउटा मतदान केन्द्र मात्रै होइन जिल्ला भरको हो। 

स्थानीय तहको निर्वाचनको बेलामा मतदाताहरू उत्साहित देखिएको भए पनि प्रतिनिधि र प्रदेश सभा निर्वाचन भने मतदाताका लागि खल्लो लागेको देखिएको छ। यसको पुष्टि जिल्लामा खसेको मतको संख्याले पनि देखाउँछ। मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका प्रवक्ता राजु ढुङ्गानाका अनुसार जिल्लामा ५५ प्रतिशत मतदाताले मात्रै आफ्नो मत जाहेर गरेका छन्। १ लाख २२ हजार ६ सय १९ मतदाता रहेकोमा ६६ हजार २ सय ७३ जनाले मात्रै मतदान गरेका छन्।

विहादी गाउँपालिकामा ५ हजार ७ सय ५१, जलजला गाउँपालिकामा ९ हजार २ सय २०, फलेवास नगरपालिकामा १२ हजार १ सय ३२, कुश्मा नगरपालिकामा १८ हजार १ सय ३, महाशिला गाउँपालिकामा ४ हजार १, मोदी गाउँपालिकामा १० हजार ५ सय ७७ र पैयुँ गाउँपालिकामा ६ हजार ४ सय १९ मत खसेका छन्।

जबकी ६ महिना अगाडि मात्रै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा जिल्लामा ६५ प्रतिशत मत खसेको थियो। त्यो बेला कायम रहेका १ लाख २२ हजार ५० कुल मतदाता मध्ये ७९ हजार ७ सय ९६ जनाले मतदान गरेका जिल्ला निर्वाचन अधिकारी लक्षु शर्मा बताउँछन्। कुश्मामा ६६ प्रतिशत, फलेवासमा ६३ प्रतिशत, जलजलामा ६८ प्रतिशत, मोदीमा ६४ प्रतिशत, महाशिलामा ६४ प्रतिशत, बिहादीमा ६३ प्रतिशत र पैयुँमा ६५ प्रतिशत मत खसेको थियो।

२०७४ सालमा भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको बेलामा आक्रामक प्रचार शैली, वाक युद्ध, सामाजिक सञ्जालको प्रयोग जस्ता गतिविधिमा मतदाता सक्रिय देखिएको भए पनि यस पटकको निर्वाचनमा भने उनीहरू करिब मौन जस्तै भएका छन्।

एक त निर्वाचन आयोगले आचार संहिताको पालनामा गरेको कडाइ अर्को सधैँ मतदान तर नेता र देशको अवस्था उस्तै।  स्थानीय तहको निर्वाचनमा आफ्नो नजिकैको मान्छे चुनावमा लड्ने भएकाले कार्यकर्ताहरू बढी चुनावमुखी बन्ने तर प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा आफूलाई नचिन्ने उम्मेदवार रहने कारण पनि कार्यकर्तामा उत्साह नरहने युवा पुस्ता नै बताउँछन्।

‘जसले जिते पनि हाम्रो अवस्थामा परिवर्तन आएन। सर्टिफिकेट राखेर ऋण दिनेसम्मको घोषणा गरे, घरमा ग्याँसका पाइप हुने भने, दिन सक्ने जति सबै आश्वासन दिएर सकेका छन्। तर,तिनीहरूले उपलब्धि त के देशको अवस्था झनै खोक्रो पारिसके।’ कुश्मा नगरपालिकाका युवा विक्रमराज क्षेत्री भन्छन्,‘पोखरा काठमाडौँ बढ्न बसेको मान्छे यीनिका लागि मत दिन किन आउनु?’ घरको काम छाडेर मतदानको लाइनमा बस्न मान्छे किन जाने? उपलब्धि बहिनी नेता बनाउन मत दिनुभन्दा कृषकले एक डोको मल खेतमा लगेर फाले फाइदा हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.