|

 काठमाडौं : कतारमा शुरु विश्वकप फुटबलको दोस्रो खेलमा ग्रुप बी का इरान र इंग्ल्याण्ड प्रतिस्पर्धा गर्दै छन्। फिफा वरीयतामा पाँचौँ स्थानमा रहेको इंग्ल्याण्ड र २० औँ स्थानमा रहेको इरान पहिलो पटक आमुन्नेसामुन्ने हुन लागेका हुन्। 

सन् १९५० मा पहिलो पटक विश्वकप खेलेको इंग्ल्याण्ड सन् १९६६ को विजेता पनि हो। १५ पटक विश्वकप खेलिसकेको इंग्ल्याण्डका लागि यो १६औं विश्वकप हो। 

सन् १८७२ मा फुटबलको इतिहासमै पहिलो अन्तरराष्ट्रिय खेल खेलेको इंग्ल्याण्डलाई हरेक पटक विश्वकपमा उपाधिको दावेदारका रुपमा हेर्ने गरिन्छ। सन् २०१८ मा इंग्ल्याण्ड चौथो बनेको थियो। सन् १९६६ मा विश्वकप विजेता भएपछि विश्वकपमा यो नै इंल्याण्डको सबैभन्दा उत्कृष्ट प्रदर्शन हो। 

सन् १९४१ मा अफगानिस्ताविरुद्ध आफ्नो पहिलो अन्तरराष्ट्रिय खेल खेलेको इरान एशियाको बलियो टोलीमध्ये गनिन्छ। सन् १९७८ मा पहिलो पटक विश्वकप खेलेको इरानले ५ वटा विश्वकप खेलिसकेको छ। 

यसअघि कहिल्यै समूह चरण पार गर्न नसकेको टोलीले अहिलेसम्म विश्वकपमा दुईवटा जितमात्र दर्ता गराएको छ। सन् १९९८ को विश्वकपमा अमेरिका र सन् २०१८ मा मोरक्कोलाई हराउनुबाहेक इरानले अरु जित देखेको छैन।

३ पटकको एशियन कप विजेता टोली इरान आफ्नो छैटौँ विश्वकप भने सम्झनलायक होस् भन्ने चाहन्छ। 

५६ वर्षपछि विश्वकपको उपाधि उचाल्ने दाउमा इंग्ल्याण्ड रहेको छ भने कम्तिमा पनि समूह चरण पार गरेर अन्तिम १६ मा पुग्ने चाहना इरानको छ।

खेल शुरु हुनुभन्दा अगाडि नै अधिकांशले नतिजा इंग्ल्याण्डको पक्षमा आउने अनुमान लगाएका छन् तर पछिल्ला खेलहरू हेर्ने हो भने इंग्ल्याण्डको नतिजा खासै सन्तोषजनक छैन। 

पछिल्ला ५ खेलमा इंग्ल्याण्डले एउटा पनि जित निकाल्न सकेको छैन। इंग्ल्याण्ड गत जुनमा तुलनात्मक रुपमा कमजोर मानिने हंगेरीसँग ४-० को फराकिलो अन्तरले पराजित भएको थियो।

जर्मनीसँग २ बराबरी खेल खेलेको टोलीले इटालीसँग एउटा खेलमा पराजित भएको थियो भने एउटा खेल बराबरीमा रोकिएको थियो।

तर इरानले भने आफ्नो पछिल्ला ५ मध्ये ३ खेलमा जित निकालेको छ। इरानसँग पराजित हुनेमा उरुग्वे जस्तो बलियो टोली पनि थियो।

इंग्ल्याण्ड र इरानको खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे दोहास्थित खलिफा अन्तरराष्ट्रिय स्टेडियममा शुरु भइसकेको छ।

ग्रुप बी मा इरान र इंग्ल्याण्डबाहेक अमेरिका र वेल्स रहेका छन्। ग्रुप बी अन्तर्गतको अमेरिका र वेल्सको खेल राति पौने १ बजे हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.