|

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. सिके राउत सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन्। 

राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै विजयी भएका हुन्। राउतले ३५ हजार ४२  मत ल्याए भने अध्यक्ष यादवले  १६ हजार ९७९ मत ल्याएका छन्। 

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा दुईवटा क्षेत्रमा जित हात पारेको जनमत पार्टीले प्रतिनिधिसभा निर्वाचनमा जनमत बटुल्न सफल भएको छ।

जनमत पार्टीका नेता वीरेन्द्र माझीले सप्तरीको हनुमान नगरी कंकालिनी नगरपालिका प्रमुख जिते। यसैगरी बालन–विहुल गाउँपालिकाले खेमचन्द्र यादवले प्रमुख र रेणु यादवले उपप्रमुखमा जनमत पार्टीबाटै जित हात पारे।

पार्टीप्रति जनताको आकर्षण देखेका राउत यसपटक आफैँ निर्वाचनमा होमिएका हुन्। उनले पहिलो प्रयासमा उपेन्द्रको विकेट खसालेका छन् भने आफ्नो संसद् यात्रा सुरक्षित गरेका छन्। 

वैज्ञानिकदेखि सांसदसम्म

२०७५ फागुन २४ गतेभन्दा अगाडि डा. सिके राउत भन्नेबित्तिकै आपराधिक समूहको नाइके भन्ने बुझिन्थ्यो। तर अहिले परिस्थिति बदलिएको छ। राउत अब माननीय भएर संसदमा प्रवेश गर्नेछन्।

उनले नीति निर्माणदेखि जनताका आवाजलाई संसदमा सशक्त रूपमा उठाउनेछन्। 

सन् २०११ अगाडिसम्म राउत अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत थिए। सोही समयको अन्त्यतिर राजीनामा दिएर नेपाल फर्किएका राउत पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेर एउटा इन्जिनियरिङ क्याम्पसमा विभागीय प्रमुखका रूपमा काम गरे।

आफूलाई सोध्दै नसोधी सहायक विभागीय प्रमुखको जिम्मेवारी दिएपछि असन्तुष्ट रहेका उनले राजीनामा दिए। त्यसपछि राउत छात्रवृत्ति कोटामा अध्ययनका लागि जापान पुगे।

जापानबाट फर्किएपछि सन् २००४ को अगस्टमा गेरू वस्त्र लिएर घरबाट निस्केका राउत भगवान् खोज्ने भन्दै भारतका कलकत्ता, मद्रास, कन्याकुमारी, मदुरई, बेंगलोर र रामेश्वरम् हुँदै साईबाबाको पुट्टपर्तीस्थित प्रशान्ति निलयमसम्म पुगे।

एक महिनापछि उनी फेरि जापान फर्किए। जापानमा कोर्सको अन्तिमतिर उनी बिरामी भए। अस्पतालमै उनले आफ्नो थेसिस लेखे, थेसिसको डिफेन्स गर्न एक जापानी साथीले अस्पतालबाट डिपार्टमेन्टसम्म उनलाई ह्ववीलचेयरमा लग्नुपरेको थियो।

 जापानमा मास्टर्स डिग्री पूरा गरेपछि बेलायतको क्याम्ब्रिज युनिभर्सिटीमा विद्यावारिधि गर्न आवेदन दिएर छनोट भए।

पहिलोपटक इन्जिनियरिङ पढ्न काठमाडौं आउँदा यहाँ ऋतिक रोशन कान्ड भएको थियो भने जापानमा फर्कने क्रममा इराकको आतंकवादी संस्थाले नेपालीहरुको हत्या गरेपछि काठमाडौंमा दङ्गा भड्किएको थियो। ती दुवै घटनालाई उनले मधेसीमाथि भएको दमनका रुपमा लिए।

सन् २००६ को अगस्टमा घर फर्कंदा मधेश आन्दोलन सुरु भएको थियो। मधेश आन्दोलनकै क्रममा उनीसहितको समूहले स्वतन्त्र मधेशको अर्को कुनै विकल्प नभएको सार निकाल्दै ‘मधेश अधिकार एवं स्वतन्त्रता गठबन्धन’ अर्थात् एलायन्स फर राइट्स एन्ड इन्डिपेन्डेन्स अफ मधेशको स्थापना गर्‍यो।

सन् २००९ मा उनी अमेरिका सरे इन्टरनेट/आर्पानेट र इमेल सिस्टम विकास गरेको संस्थाको रूपमा प्रख्यात बिबिएनमा वैज्ञानिकका रुपमा काम गरे।

अमेरिका गएर मधेशीहरूको डायस्पोरा संगठन बनाउने योजना पहिलादेखि नै थियो उनको, त्यसलाई कार्यान्वयन गर्न थाले।

सन् २०१२ अप्रिल १० मा खुलामञ्चको आमसभामा भाषण गर्न मधेसी बुद्धिजीवीका रूपमा उभिए पनि उनले मधेसलाई अलग देश बनाउने विखण्डनकारी एजेन्डा सारेका थिए।

अलग देशकै नाराका कारण सन् २०१४ सेप्टेम्बर १३ मा उनी मोरङको रंगेलीबाट पक्राउ परेपछि देशकै नजरमा परेका थिए।

नेपालबाट छुट्याएर अलग्गै देश बनाउने अभियानमा जुटेपछि सरकारले उनका गतिविधिलाई निगरानी गर्न थालेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.