|

पाल्पा : स्याङ्जा क्षेत्र नम्बर २ मा तीन दिन बित्दासमेत मतगणना हुन सकेको छैन। कहिले र कतिबेला सुरु हुन्छ भन्नेमा अन्योल छ।

चापाकोट नगरपालिकाको विभिन्न मतदानस्थलमा बूथ कब्जा गरेर कांग्रेसल मत खसालेको एमालेको आरोप छ।  यता सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको कांग्रेसको दाबी छ।

चापाकोटका विभिन्न बुथमा जबरजस्ती गठबन्धनले फर्जी मत खसालेको एमालेका उम्मेदवार पद्मा अर्यालले आरोप लगाएकी छन्। निष्पक्ष रूपमा मतदाताले मत खसालेको कांग्रेसका उम्मेदवार धनराज गुरुङले दाबी गरे। अहिले धाँधली भएको बुथमा पुनः निर्वाचन हुनुपर्ने माग गर्दै एमालेले आन्दोलन गरिरहेको छ। तत्काल मतगणना गर्न भन्दै कांग्रेस धर्ना बसिरहेको छ। दुवै पक्षको आन्दोलन वालिङमा जारी छ।

गठबन्धनका अन्य दलसहित कांग्रेसले बुथ कब्जा गरेर फर्जी मत खसालेको नेकपा एमाले स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैरे पारसले बताए। जुनजुन बूथमा कब्जा गरेर अनाधिकृतरुपमा  मत खसाल्ने काम भयो। त्यहाँ पुनः निर्वाचन हुनुपर्ने उनको माग छ। स्वच्छ, निष्पक्ष, धाँधलीरहित निर्वाचन हुन नसकेको हुँदा पुनः मतदान गर्नुपर्छ। सम्बन्धित मतदाताले मत खसाल्ने वातावरण सिर्जना गर्नुपर्छ। उनी भन्छन् ‘यहाँ मृत्यु भएका मानिस र विदेशमा रहेका मानिसका नाममा समेत मत खसाल्ने काम भएको छ।’  करिब ९० प्रतिशतसम्म मत खसालिएको उनले बताए। पुनः मतदान नभएसम्म आफूहरूलाई स्वीकार्य नहुने अडान लिए।  बुथ कब्जा भएपछि आफूरूले असहमति जनाउँदै मुचुल्कामासमेत सहीछाप नगरेको अध्यक्ष गैरेले स्पष्ट पारे।

निर्वाचन विधिपूर्वक, सौहार्दरुपमा सम्पन्न भएको नेपाली कांग्रेस स्याङ्जाका कार्यबाहक सभापति केदार काफ्लेले प्रतिक्रिया दिएका छन्। नियमसंगत ढंगबाट निर्वाचन प्रक्रिया सम्पन्न भएको र मतपेटिका उठाउने काम भएको उनले बताए। आजैदेखि मत गणना हुने उनले दाबी गरे। विपक्षी सहभागी नभए पनि मतगणना हुन्छ? भन्ने प्रश्नमा उनले भने ‘उहाँहरू पनि आउनुहुन्छ। यो भन्दा अरु कुनै जवाफ दिएनन्।’ आफूहरू मतगणना हुनुपर्ने माग गर्दै धर्ना बसिरहेको काफ्लेले बताए।

स्याङ्जा क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले केन्द्रीय निर्वाचन कार्यालयको निर्णय पर्खेर बसेको थाहाखबरलाई बताए। माथिबाट निर्णय नआउँदासम्म आफू थप केही नबोल्ने उनी बताउँछन्। केन्द्रीय निर्वाचन कार्यालयमा जानकारी गराउने काम भएको र अहिलेसम्म कुनै जवाफ नआएको शर्माले बताए।

चापाकोट नगरपालिकास्थित दिसिङकोट आधारभूत विद्यालय कमिरे, राम मन्दिर माध्यमिक विद्यालय दारसिङ मतदान स्थल, दिनदयालु आधारभूत विद्यालयको केन्द्र, जनराष्ट्रिय आधारभूत विद्यालय चिदिपोखरी मतदानस्थलमा बुथ कब्जा गरी मत खसालेको एमालेको आरोप छ।

यहाँ बुथ कब्जा गरेर मत खसालिएको भिडियो सामाजिक सञ्जालमासमेत सार्वजनिक भएका दृष्य देखिन्छन्।  मतगणना वा पुनः मतदान के गर्ने भन्नेबारे समयमै टुंगो नलाग्दा यहाँका जनता निराश बनेका छन्।

पद्मा अर्याल नेकपा एमालेकी केन्द्रीय सचिव हुन्। धनराज गुरूङ नेपाली कांग्रेसका केन्द्रीय उपसभापति हुन्। उनीहरू स्याङ्जा क्षेत्र नम्बर २ का उम्मेदवार हुन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.