|

डडेल्धुरा :  डडेल्धुरा प्रदेशसभा–१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का खगराज भट्ट विजयी भएका छन्। उनले १२ हजार ११२ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचन भएका हुन्।

नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज एवं स्थायी समिति सदस्यसमेत रहेका भट्टले नेकपा एमालेका पठानसिंह बोहरालाई २ हजार ९ सय १७ मतले पराजित गरे। उनका निकटतम् प्रतिद्वन्दी बोहराले ९ हजार १९५ मत पाए।

यस्तै, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीले १ हजार ७ सय ५४, राप्रपाका पदमराज जोशीले ७६२ र धनबहादुर बोहराले २०२ मत पाएका छन्। २५ हजार ३६१ मत खसेकोमा १ हजार ३३६ मत बदर भयो।

को हुन् खगराज ?

भट्टको जन्म वि।स २०३१ पुस २ गते साविक चिपुर गाविस–६ चौडीमा भएको हो। भट्टले कलिलै उमेरदेखि राजनीति सुरु गरे। १६ वर्षको उमेरमा राजनीतिमा होमिएका भट्टले तत्कालीन एकता केन्द्रको पार्टी सदस्यता २०४७ सालमा लिए।

तत्कालीन नेकपा माओवादीको सशस्त्र विद्रोहको क्रममा ज्यान गुमाएका आफ्ना दाजु जयराज भट्टको प्रेरणाले उनी माओवादी राजनीतिमा सक्रिय भएर लागेका हुन्। विद्यार्थी राजनीति र पार्टी राजनीतिमासँगै जोडिएका खगराज २०५० सालमा पार्टीको डडेल्धुरा जिल्ला कमिटी सदस्य बने।

पार्टी राजनीतिका साथै उनी विद्यार्थी संगठनमा पनि क्रियाशील रहे। २०५२ सालयता केही वर्ष भने उनी कहिले डडेल्धुराको त कहिले कञ्चनपुर गरी विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षको भूमिका निर्वाह गरे।

माओवादीले सशस्त्र विद्रोह सुरु गरेपछि ०५० साल फागुनमा उनी पूर्णकालीन भए। ०५२ साल २४ फागुनमा डडेल्धुराबाट उनी पक्राउ परे। उनी सानै उमेरमा जेलसमेत परे। भट्ट साढे नौ महिना हिरासतमा बसे। अदालतको आदेशपछि उनी जेलबाट छुटे।

२०५४ सालमा उनी अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य बने। त्यसपछि ०५८ सालमा दार्चुला, बैतडी र डडेल्धुराको ‘सेक्रेटरी’को रूपमा उनले काम गरे। त्यसबेला माओवादीले तीनरचार जिल्ला मिलाएर एक जिल्ला बनाएको हुन्थ्यो।

०६० सालमा भट्ट पार्टीको केन्द्रीय सदस्य बने। माओवादीको चुनवाङ बैठकमा सबैको एक पद घटुवा भयो। र, त्यसमा भट्ट पनि परे। त्यसपछि उनले सुदूरपश्चिम राज्य कमिटी सचिवको जिम्मेवारी प्राप्त गरे।

०७० पछि उनी सोही कमिटीको संयोजक बने। नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा हुँदा उनी केन्द्रीय सदस्य बनेका थिए। आइएलसम्म अध्ययन गरेका भट्ट जनतामाझ लोकप्रिय नेता पनि हुन्।

भट्टको परिवार नै राजनीतिमा होमिएको छ। उनकी पत्नी मञ्जु वम माओवादीबाट पहिलोपटक संसदमा सहभागी हुँदा अन्तरिम विधायिका भइन्। उनका भाइ उमेशप्रसाद भट्ट ‘विकास’ डडेल्धुराको अजयमेरु गाउँपालिकामा दोस्रो कार्यकाल अध्यक्ष छन्। ‘विकास’ माओवादी केन्द्र डडेल्धुरा संयोजकसमेत हुन्।

देउवासँगको ह्याट्रिक हार भोगेका नेता

भट्ट संसदीय राजनीतिमा तीनपटकसम्म हारेका नेतासमेत हुन्। उनी नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग तीनपटक चुनाव हारे। संसदीय निर्वाचनमा देउवाको छायामा परिरहेका नेता भट्ट यसपटक भने उनले हारको श्रृंखलालाई तोडेका छन्। उनलाई हारको खराब रेकर्ड तोड्न १५ वर्ष लाग्यो।

उनी पहिलोपटक ०६४ सालको निर्वाचनमा थोरै मतले देउवासँग पराजित भएका थिए। पहिलो संविधानसभा निर्वाचनमा देउवासँग केवल १ हजार ३६८ मतान्तरले हारे। ०७० सालको निर्वाचनमा पनि भट्ट देउवासँग दोब्बर मत अन्तरमा पराजित भए।

त्यतिबेला देउवाले २३ हजार ९२० मत ल्याउँदा खगराजले १२ हजार ४९३ मत मात्रै पाए। २०७४ को चुनावमा वाम गठबन्धन हुुँदा पनि खगराज देउवासँग ६ हजार ९२९ मत हारे।

यसरी खगराजको राजनीतिक यात्रामा देउवा निरन्तर बाधक बनिरहे। तर, यसपल्ट भने देउवाको पार्टी नेपाली कांग्रेसको सहयोगमा भट्ट विजयी भए। र, माओवादीको सहयोग देउवा पनि भारीमतले चुनाव जिते। भट्ट नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज एवं स्थायी समिति सदस्यसमेत हुन्।

मुख्यमन्त्रीको सम्भावना

खगराज प्रदेशसभा–१ मा विजयी भएसँगै मुख्यमन्त्रीका लागि बाटो खुलेको छ। खगराज अब सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने घोषणा गरिसकेका छन्।

२० कात्तिकमा गृहजिल्ला डडेल्धुराको परशुराममा आयोजित चुनावीसभामा देउवाले जिताएर पठाए भट्ट नै मुख्यमन्त्री बन्ने दाबी गरेका थिए। सम्बोधनका क्रममा देउवाले भनेका थिए, ‘​अबको सुदूरपश्चिमको मुख्यमन्त्री खगराज भट्ट नै हो। मेरो पार्टीले भनिहाल्यो अबको मुख्यमन्त्री भट्ट नै हुन्‚ तपाईंहरू जिताएर पठाउनुस्।’ सुदूरपश्चिममा माओवादी केन्द्रको नेतृत्वमा सरकार बने भट्ट मुख्यमन्त्री हुने प्रवल सम्भावना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.