विश्वकप फुटबलमा एशियन पावर हाउस दक्षिण कोरिया अर्को दक्षिण अमेरिकी प्रतिद्वन्द्वी उरुग्वेसँग प्रतिस्पर्धा गर्दै छ। कतारस्थित एजुकेशन सिटी स्टेडियममा हुने खेल साँझ ६:४५ मा शुरु हुने खेलमा दक्षिण कोरिया २०१८ मा भएको मैत्रीपूर्ण खेलको नतिजा दोहोर्याउन चाहन्छ।
पुरानो र बलियो विरासत बोकेको उरुग्वे पनि एशियाली प्रतिद्वन्द्वीविरुद्ध जित निकाल्दै विश्वकपमा विजयी शुरुवात गर्न चाहन्छ। त्यसो त उरुग्वेसँग स्टार र नयाँ खेलाडीको बाहुल्य रहँदा दक्षिण कोरिया भने स्टार खेलाडी सन ह्युङ मिनको विश्वासमा छ।
उरुग्वेसँग लुइस सुआरेज, डिएगो जोडीन, एडिन्सन काभानी, डार्विन नुनेज जस्ता स्टार मैदानमा हुनेछन् तर योपटक एशियन मैदानमा एशियाली टिमको वर्चस्वले गर्दा दक्षिण अमेरिकी राष्ट्र उरुग्वे पनि केही सशंकित छ।
जारी विश्वकपमा साउदी अरेबियाले अर्जेन्टिना तथा जापानले जर्मनीलाई स्तब्ध बनाएकाले दक्षिण कोरिया पनि अर्को सनसनीपुर्ण नतिजा दोहोर्याउने पक्षमा रहेको छ। दक्षिण कोरिया उरुग्वेलाई हराउँदै नकआउट दाबेदारी बलियो बनाउने प्रयास गर्नेछ।
त्यसो त दक्षिण कोरिया र उरुग्वेबीच विश्वकपको इतिहासमा यसअघि २ पटक प्रतिस्पर्धा भएको छ। जसमा १९९० मा १-० र २०१० मा २-१ ले उरुग्वेले जित हासिल गरेको थियो। तर समग्रमा भने ८ पटक प्रतिस्पर्धा हुँदा दक्षिण कोरियाले २०१८ मा भएको मैत्रीपूर्ण खेलमा जित हासिल गरेको थियो। जहाँ २-१ ले कोरिया विजयी रहेको थियो। बाँकी ६ खेलमा उरुग्वे विजयी हुँदा १ खेल बराबरीमा सकिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।