|

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। प्रत्यक्षमा १६५ सिटका लागि भएको निर्वाचनमध्ये हालसम्म ८२ सिटको नतिजा सार्वजनिक भएको छ। 

निर्वाचनअघि जित सुनिश्चित गरेका उम्मेदवारहरू निर्वाचनपछि जमानत नै जफत हुने गरी पराजित बन्न पुगेका छन्। निर्वाचनमा यसअघि पटकपटक निर्वाचन जितेका र चर्चित मानिएका व्यक्तिहरू जमानत जोगाउने नसक्ने गरी पछारिएका छन्। निर्वाचन आयोगले कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारहरूको जमानत जफत गर्छ। 

लक्ष्मणलाल कर्ण

लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण आफ्नो जमानत जोगाउन असफल भए। 

पर्सा–१ बाट उम्मेदवार बनेका कर्णले १ हजार ११७ मत मात्रै ल्याए। उनी त्यहाँ सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए। पर्सामा कर्णसहित १९ जनाको जमानत जफत भएको छ। त्यस क्षेत्रबाट जनता समाजवादीका प्रदीप यादव २२ हजार ५३७ मतका साथ विजयी भए। 

कर्ण २०७४ सालको निर्वाचनमा पर्सा–४ बाट तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएका थिए। कर्णले २० हजार ७३८ मत प्राप्त गरेका थिए। 

रञ्जु दर्शना
काठमाडौं क्षेत्र नम्बर ५ बाट रञ्जु न्यौपाने (दर्शना)को जमानत जफत भएको छ।

विवेकशील साझा पार्टीबाट सक्रिय रूपमा राजनीतिमा होमिएकी रञ्जुले यसपटक काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् तर कुल खसेको सदर मतको जम्मा १.४ प्रतिशत मत मात्रै पाइन्। उनले कुल सदर मत ४४ हजार २४९ मध्ये ६००  मात्रै मत प्राप्त गरिन्। 

उनी २०७४ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएर चर्चामा आएकी थिइन्। उनले २३ हजार ४३९ मत ल्याएकी थिइन्।

मिलन पाण्डे

साझा पार्टी नेपालका मिलन पाण्डेको पनि जमानत जफत भएको छ। काठमाडौं–९ बाट उम्मेदवारी दिएका पाण्डेले २ हजार ३२७ मत प्राप्त गरेका छन्। उक्त क्षेत्रबाट नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ ११ हजार ५५६ मतसहित विजयी बने। उनले कुल सदर मत ४२ हजार ५१७ मध्ये ५.५ प्रतिशत मत प्राप्त गरेका छन्। 

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि पाण्डे यही क्षेत्रबाट उम्मेदवार थिए। उक्त निर्वाचनमा पाण्डेले झण्डै पाँच हजार मत ल्याएर जमानत सुरक्षित गरेका थिए। 

गंगा चौधरी

दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी गंगा चौधरीको पनि जमानत जफत भएको छ। मतगणना सम्पन्न हुनै लाग्दा चौधरीले पाँच सय मात्रै मत ल्याएकी छन्। 

युग पाठक
त्यस्तै झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका युग पाठकको पनि जमानत जफत भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिन पुगेका पाठक जमानत उकास्न नसकेर गरेर फर्किएका छन्। स्वतन्त्रबाट उम्मेदवारी दिएका उनले जम्मा ३५६ मत मात्रै ल्याएका छन्। 

साथै सचेत नेपाली पार्टीका अध्यक्ष पुण्यप्रसाद प्रसाईको जमानत जफत भएको छ। काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका प्रसाईले ९४९ मत मात्रै पाए।काठमाडौं ७ बाट स्वतन्त्र उम्मेदवारी दिएका ईश्‍वर अर्याल पराजित भएका छन्। उनले १०२ मत मात्रै प्राप्त गरे।

निर्वाचनको नतिजा सार्वजनिक हुने क्रम जारी रहेकाले जमानत जफत हुनेहरूको संख्या बढिरहेको छ। 

कस्तो अवस्थामा हुन्छ जमानत जफत ?

निर्वाचनमा दुई हजार ४१२ उम्मेदवार छन्। १० प्रतिशतभन्दा कम  ल्याएका उम्मेदवारको जमानत जफत हुने कानूनी व्यवस्था छ। 

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा भनिएको छ, ‘निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ तर निर्वाचित उम्मेदवारका हकमा यो कुरा लागू हुने छैन।’

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै दलले कम्तीमा एक सीट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.