२०७४ मा ७ सिटमा जीत, अहिले १२ स्थानको नतिजा आउनै बाँकी

|

पर्वत : २०७४ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेसले गण्डकी प्रदेशबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभामा १ र प्रदेश सभामा ६ गरेर ७ सिटमा मात्रै जितेको थियो। एमालेसँगको सत्ता प्रतिस्पर्धामा गठबन्धनका दलबाट आएका सांसदहरूको सहयोगमा प्रदेश सरकारको नेतृत्व हात पारेको कांग्रेसले यस पटक निर्वाचनमा भने नतिजा ल्याएको छ।
२०७४ सालको निर्वाचनबाट संघ र प्रदेशमा गरेर झन्डै १३ प्रतिशत मात्रै सिटमा सीमित भएको कांग्रेस अझै १२ क्षेत्रको नतिजा नआएको बेलासम्म २० क्षेत्रमा विजयी भएको छ। २० सिट गण्डकीका कुल सिटको ३७ प्रतिशत हो।

मतगणना चलिरहेका केही क्षेत्रमा कांग्रेसका उम्मेदवारहरू अगाडि रहेकाले बाँकी रहेका १२ ठाउँका केही सिटमा पनि कांग्रेसका उम्मेदवारहरूले जीत हात पार्ने सम्भावना देखिएको छ।

कांग्रेसले जीत हात पारेका २० मध्ये ५ सिट प्रतिनिधि सभाका र १५ सिट प्रदेश सभाका रहेका छन्। प्रतिनिधि सभा अन्तर्गत मनाङ १ मा टेकबहादुर गुरुङ, तनहुँ २ मा शंकर भण्डारी, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ मा शशाङ्क कोइराला, मुस्ताङ १ मा योगेश गौचन थकाली र म्याग्दी १ मा खम बहादुर गर्बुजा रहेका छन्।

प्रदेश सभा सदस्यतर्फ गोरखा १ ‘ख’ मा नन्दप्रसाद न्यौपाने, २ ‘ख’ मा सुरेन्द्रराज पाण्डे, मनाङ १ ‘क’ मा मुनीन्द्र जङ गुरुङ, लमजुङ १ ‘क’ मा टकराज गुरुङ, ‘ख’ मा भेष बहादुर पौडेल, कास्की २ ‘ख’ मा बिन्दु कुमार थापा, तनहुँ १ ‘क’ मा अशोक कुमार श्रेष्ठ, २ ‘ख’ मा जीत प्रकाश आले कांग्रेसबाट विजयी भएका छन्। यस्तै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ ‘क’ मा महेन्द्र धवज, मुस्ताङ १ ‘क’ मा नम्डु गुरुङ, ‘ख’ मा विकल शेरचन, बागलुङ १ ‘क’ मा दीपेन्द्र बहादुर थापा, ‘ख’ मा डिल्लीराम सुवेदी, २ ‘क’ मा द्रोणराज कुँवर र ‘ख’ मा जीत बहादुर शेरचन विजयी भएका छन्।

नतिजा आएका ४२ क्षेत्रमध्येका ८ क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरूले जीत हात पारेका छन्। प्रतिनिधि सभामा गोरखा २ बाट नेकपा (माओवादी केन्द्र) का पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बागलुङ १ बाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर के.सी. निर्वाचित भएका छन्। बाँकी ६ सिट प्रदेश सभातर्फ माओवादीले जितेका क्षेत्रहरू हुन्। जसमा गोरखा १ ‘क’ मा कृष्ण प्रसाद धिताल, २ ‘क’ मा फडिन्द्र देवकोटा, तनहुँ १ ‘ख’ मा हरि बहादुर चुमान, म्याग्दी १ ‘क’ मा हरि बहादुर भण्डारी र ‘ख’ मा रेसम बहादुर जुग्जाली रहेका छन्।

नतिजा आएकामध्ये गण्डकीमा हालसम्म एउटा क्षेत्रमा मात्रै स्वतन्त्र उम्मेदवारको जीत भएको छ। उनी मनाङ १ ‘ख’ बाट राजीव गुरुङ रहेका छन्। एमाले र कांग्रेस सहितका कुनै पनि दलले उम्मेदवार नै नउठाएको तथा अन्य स्वतन्त्र उम्मेदवारहरू पनि खडा नभएपछि गुरुङले सर्वसम्मत रूपमा चुनाव जितेका हुन्। उनले २०७४ सालमा पनि सोही क्षेत्रबाट स्वतन्त्र रूपमा चुनाव जितेका थिए।

गण्डकी प्रदेश सरकार निर्माणका लागि आवश्यक पर्ने बहुमतको लागि अहिलेसम्म गठबन्धनका दलहरूबाट २० जना सांसद चुनिएका छन्। एमालेका पृथ्वी सुब्बा गुरुङको नेतृत्वमा रहेको सरकार ढलाएर कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार बनाउन सघाएका बहालवाला युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले कसलाई सघाउँछन् भन्नेमा अहिले नै यकिन छैन। एमाले र कांग्रेस दुवैको सरकार बनाउने बेलामा सघाएकै कारण यी दुवै दलहरूले उनका विरुद्धमा उम्मेदवार खडा गरेनन्। यसको गुन तिर्न मनाङले कसलाई सघाउँछन् भन्ने सरकार निर्माणकै बेलामा देखिने छ। यद्यपि उनी अहिले गठबन्धनकै सरकारमा मन्त्रीका रूपमा रहेका छन्।

गण्डकीमा एमालेले अहिलेसम्म प्रतिनिधि सभामा ३ र प्रदेश सभामा १० सिट जितेको छ। प्रतिनिधि सभामा लमजुङ १ बाट पृथ्वी सुब्बा गुरुङ, कास्की २ बाट विद्या भट्टराई र पर्वत १ बाट पदम गिरी निर्वाचित भएका छन्। प्रतिनिधि सभातर्फ कास्की १ ‘ख’ बाट वेद बहादुर गुरुङ, २ ‘क’ बाट भीम बहादुर कार्की, ३ ‘क’ बाट गणेशमान गुरुङ, तनहुँ २ ‘क’ बाट श्यामराज महत, स्याङ्जा १ ‘क’ बाट सिता कुमारी सुन्दास, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ ‘ख’ बाट रोशन गाहा थापा, २ ‘क’ बाट पदमा जि.सी, ‘ख’ बाट लक्ष्मण पाण्डे, पर्वत १ ‘क’ बाट भक्त बहादुर कुँवर र ‘ख’ बाट मित्रलाल बस्याल निर्वाचित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.