|

म्याग्दी : नेपाली कांग्रेस म्याग्दीले २३ वर्ष पछि पहिलो पटक जिल्लामा प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेको छ।

निर्वाचन जितेसँगै दुई दशकपछि देशमा नीति निर्माण र सुशासन कायम गराउने थलो संसदमा म्याग्दी कांग्रेसको पनि प्रतिनिधित्व हुने भएको छ।

२०५६ सालपछि पहिलो पटक म्याग्दी कांग्रेसका सभापतिसमेत रहेका खमबहादुर गर्वुजा (खमवीर)ले तेस्रो प्रयासमा प्रतिनिधिसभा निर्वाचनमा विजय प्राप्त गरेका हुन्।

२०५६ सालमा नेपाली कांग्रेसको तर्फबाट नेपाली सेनाका सेवानिवृत्त म्याग्दीका कर्नेल स्व.नारायणसिं पुन विजयी भएका थिए। त्यसयता म्याग्दी कांग्रेसले विजय प्राप्त गर्न सकेको थिएन।

गर्बुजा यसअघि ०७० सालको निर्वाचनमा नेकपा एमालेका नवराज शर्मासँग र ०७४ सालको निर्वाचनमा नेकपा एमालेकै भुपेन्द्रबहादुर थापासँग पराजित भएका थिए। त्यसैगरी ०६४ सालमा समानुपातिकतर्फ नाम सिफारिश भए पनि निर्वाचित हुन सकेका थिएनन्।

तर आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका गर्बुजाले तेस्रो प्रयासमा फराकिलो मतान्तरले विजय प्राप्त गरेका हुन्।

गर्बुजाले २४ हजार २१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार १८९ मत प्राप्त गरे। प्रतिद्वन्द्वी नेकपा एमालेका श्रेष्ठले भन्दा ३ हजार ८३२ मत बढी ल्याएर निर्वाचित भएका हुन्।

जिल्लाभरि ८६ हजार १२० मतदाता रहेकोमा ५० हजार ६२५ मत खसेको थियो।

निर्वाचित भएसँगै गर्बुजाले यो आफ्नो मात्रै जित नभएर समग्र म्याग्दीवासीको जित भएको प्रतिक्रिया दिए।

उनले भने, ‘म जनताको शासक होइन सेवक भएर काम गर्नेछु, मेरो बुद्धि, बर्कत र सामर्थ्यले भ्याएसम्म म्याग्दीलाई विकासको मीठो फल चखाउने प्रयास गर्नेछु, कतै म अलमलिएँ वा लर्बरिएँ भने मलाई सचेत बनाउनुहोला।’

हँसिलो स्वभावका रसिला गर्बुजाले बेलायती सेनाबाट अवकाश लिई २०५४ सालमा नेपाली कांग्रेसमा आबद्ध भएदेखि निरन्तर कांग्रेसको दरिलो खम्बा बनेर म्याग्दीका विकट गाउँबस्तीलाई विकासको उज्यालोले उजिल्याउने प्रयासमा लागिरहेका नेपाली कांग्रेस म्याग्दीका उपसभापति केवी भण्डारीले बताए।

२०५४ सालमा तरुण दलको सदस्यता लिएर म्याग्दीको विकासका लागि होमिएका गर्बुजाको जन्म २०२२ सालमा रघुगंगा गाउँपालिकाको वडा नं ४ मा पर्ने दग्नाम गाउँमा भएको थियो।

बुबा चकबीर गर्बुजा र आमा कृष्णकुमारी गर्बुजाको कोखबाट जन्मिएका खम्बीर गर्बुजा २०५६ को पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसका नारायणसिंह पुनलाई जिताउन अहोरात्र खटेका थिए।

२०७० सालको दोस्रो संविधानसभाको निर्वाचन र २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा उपविजेता भए पनि म्याग्दीको विकासका लागि केन्द्र र प्रदेशसँग समन्वय गरेर निर्वाह गरेका भूमिका म्याग्देलीका लागि अविस्मरणीय रहेको म्याग्दी कांग्रेसका सहसचिव ध्रुवराज कार्कीले बताए।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका गर्बुजा २०६७ सालमा सम्पन्न नेपाली कांग्रेस म्याग्दीको पाँचौ जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिको उपसभापति र २०७२ सालमा सम्पन्न छैठौं जिल्ला अधिवेशन र २०७८ सालमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.