|

पर्वत : प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका उम्मेदवार रहेका पर्वतका २२ जनाको जमानत जफत हुने भएको छ। एमाले र सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका बाहेकका राजनीतिक दल तथा सबै स्वतन्त्र उम्मेदवारको धरौटी जफत हुने भएको हो। 

प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवारले १० हजार र प्रदेश सभामा प्रत्यक्षतर्फको उम्मेदवार बन्नको लागि ५ हजार रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था छ। ती उम्मेदवारले सम्बन्धित क्षेत्रमा सदर भएकामध्ये १० प्रतिशत मत पाएमा धरौटी फिर्ता हुने भनिएको छ। सदर मतको १० प्रतिशत मत पाउन नसके धरौटी जफत हुने नियम छ। यो नियम अनुसार पर्वत जिल्लाबाट प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदमा उम्मेदवार रहेका २२ उम्मेदवारको धरौटी जफत हुने भएको हो। 

प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा जिल्लामा कुल ६६ हजार १२९ मत खसेकोमा तीमध्येका ६३ हजार ७१६ सदर र २ हजार ४१३ मत बदर भएका छन्। सदर मतको १० प्रतिशत हुनका लागि ६ हजार ३७२ मत आएको हुनुपर्छ। तर पर्वतबाट प्रतिनिधिसभामा भिडेका एमाले र कांग्रेसका उम्मेदवारबाहेक अन्य उम्मेदवारले तोकिएको मत पाएका छैनन्। 

एमालेका पदम गिरी २९ हजार ८७२ मत पाउँदै विजेता बन्दा काँग्रेसका अर्जुन जोशी २७ हजार ६०९ मत सहित पराजित भएका छन्। उनीहरूबाहेक १० उम्मेदवारले भने सदरको १० प्रतिशत मत पाएका छैनन्।

मतपरिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर मल्लले १ हजार ३४, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका ठाकुरप्रसाद भुसालले ७५, मंगोल नेशनल अर्गनाइजेसनका चन्द्रबहादुर पाइजा पुनले २३३, राष्ट्रिय जनमुक्ति पार्टीका बलबहादुर थापाले १२, नेपाली कांग्रेस (बीपी) का देवाखर भट्टराईले १२८, नेपाल सुशासन पार्टीकी भगवती पौडेलले १७५, राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पुर्जा पुनले ४ हजार १७३ मत पाएका छन्। स्वतन्त्र रूपमा चुनाव लडेका अरुण पौडेललाई २७१, सावित्री शर्मालाई ४ र सीता देवी शर्मालाई २२ मत परेको छ। 

प्रदेश सभा १ मा कुल ३५ हजार १६८ सदर भएका छन्। यसको १० प्रतिशत ३ हजार ५१७ हुन आउने भएकाले यो संख्या पार गरेका उम्मेदवारको मात्रै धरौटी फिर्ता हुने छ। यो क्षेत्रमा एमाले र गठबन्धनबाहेकका उम्मेदवारको धरौटी जफत हुने छ। विजेता बनेका एमालेका भक्त कुँवरले १६ हजार ८२५ र पराजित बनेका नेकपा (माओवादी केन्द्र) का सुदीप कुँवरले १४ हजार ४२७ मत पाएका छन्। 

तर २ हजार ७६१ मत पाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेम कुमार गुरुङ, एक हजार ८२ मत पाएका नेपाली काँग्रेस (बीपी) का कमलराज पौडेल, ५१४ मत पाएका नेपाल सुशासन पार्टीका थमबहादुर क्षेत्री, ४७७ मत पाएका हाम्रो नेपाली पार्टीका रमेश पौडेल, ४६५ मत पाएका मंगोल नेसनल अर्गनाइजेसनका शेरबहादुर पुर्जा पुन, ८८ मत पाएकी राष्ट्रिय जनमुक्ति पार्टीकी सौभाग्य थापा पुन र १३७ मत पाएकी स्वतन्त्र उम्मेदवार मायादेवी पौडेलको धरौटी जफत हुने छ।

प्रदेश सभा २ मा पनि एमाले र गठबन्धनका उम्मेदवार बाहेक अन्य उम्मेदवारले धरौटी जोगाउन सकेनन्। यो क्षेत्रमा २७ हजार ५०१ मत सदर भएका थिए। धरौटी जोगाउन त्यसको १० प्रतिशत अर्थात् २ हजार ७५० मत आएको हुनुपर्छ। एमालेबाट विजयी बनेका मित्रलाल बस्यालले १४ हजार १३२ र पराजित बनेका नेपाली कांग्रेसका ऋषिकेश तिवारीले १२ हजार २१० मत पाए। तर अन्य पाँच उम्मेदवारले भने १० प्रतिशत मत पाउन सकेका छैनन्। 

परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुनाथ उपाध्यायले ६२१, हाम्रो नेपाली पार्टीका नारायण खत्रीले ३३८, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बालकृष्ण पौडेलले १६१ तथा स्वतन्त्र उम्मेदवार चन्द्रकुमारी मल्ल क्षेत्रीले ३४ र वसन्तकुमार श्रेष्ठले ५ मत मात्रै पाएका छन्।

जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माका अनुसार सदर मतको १० प्रतिशत मत पाएका उम्मेदवारले तीन महिना भित्रमा जिल्ला निर्वाचन कार्यालयमा ‘धरौटी फिर्ता पाऊँ’ भनी निवेदन दिएपछि मात्र फिर्ता पाउने छन्। तर १० प्रतिशत मत प्राप्त नगरेकाहरूले धरौटीको रूपमा राखेको रकम तीन महिना कटेपछि राजस्वको रूपमा जम्मा हुने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.