|

हेटौंडा : ‘ओरालो लागेको मृगलाई बाच्छोले पनि खेद्छ’भन्ने उखानझैँ ओरालो लागेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई आफ्नै सहयात्रीले पराजित गरेका छन्। 

निरन्तर ओरालो यात्रामा रहेका थापाले योपटक ओरालो यात्रालाई उकालोमा मोड्न नेकपा एमालेको हात समातेका थिए। तर, उनलाई कुनै समय उनको चेला रहेका उनकै सहयात्री दीपकबहादुर सिंहले चुनावमा पछारेका छन्।

हालसम्म ८ पटक आमनिर्वाचनमा होमिएका थापा मंसिर ४ गते भएको निर्वाचनमा छैटौँपटक पराजित भएका छन्। यसअघि निरन्तर कम्युनिष्टसँग हार्दै आएका पूर्वराजावादी थापा यो निर्वाचनमा कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेर राजावादीसँगै पराजय भएका छन्।

पञ्चायत कालमा मकवानपुर जिल्लामा थापा पञ्चायतको पर्याय थिए। त्यति बेलाका कम्युनिस्ट र कांग्रेसका कार्यकर्ताहरू उनीबाट भयभित थिए । तर, उनै थापा कहिले कांग्रेस त कहिले कम्युनिस्टबाट चुनाव चिह्न लिएर उम्मेदवार बनिरहेका छन्। ०७४ मा कांग्रेसको समर्थनमा आफ्नै चुनाव चिन्हमा निर्वाचनमा होमिएर हार व्यहोरेका थापा यो निर्वाचनमा एमालेको सूर्य चिन्हबाट उम्मेदवार बनेका थिए। कुनै पनि हालतमा चुनाव जित्न रहेर आफ्नो नीति, सिद्वान्त र अस्तित्वलाई दाउमा राखेर एमालेको सूर्य चिन्हसहित चुनावमा होमिएका थापा छैटौँपटक पराजित हुन पुगे। 

नेतृत्वमा पराजित भएको झोँकमा भएका एजेन्डा पनि त्यागेर गणतन्त्र स्वीकारेका उनीसँग अब पार्टीलाई बलियो बनाउने सशक्त एजेन्डा पनि छैन। चुनावमा पार्टीभन्दा माथि एमाले र आफ्नो जितलाई राखेर दौडिएका थापालाई पार्टीकै सारथिहरूले साथ छोड्नसक्ने खतरा देखिएको छ।

प्रजातन्त्र पुनःस्थापनापछि भएको पहिलो आमनिर्वाचन ०४८ मा पराजित भएका थापा ०५१ को मध्यावधि चुनावमा भने विजयी भएका थिए । थापा ०५१ यता हालसम्म ८ प्रधानमन्त्रीत्वकाल र ०६२ को पूर्वराजा ज्ञानेन्द्रको मन्त्रिमण्डलमा गरी ९ पटक मन्त्री बनिसकेका छन्।

०४८ को निर्वाचनमा मकवानपुर–१ मा थापालाई एमालेका कृष्ण दाहालले पराजित गरेका थिए । दाहालसँग थापाले ०५१ को मध्यावधि चुनावमा त्यसको बदला लिए । ०५६ मा थापा मकवानपुर–१ मा दाहालसँग पराजित भए । त्यसबेला दाहालले २० हजार ४ सय ४२ मत पाउँदा थापाले १५ हजार नौसय ८५ मत प्राप्त गरेका थिए ।

०६४ को संविधानसभा निर्वाचनमा मकवानपुर–३ बाट उम्मेदवार बनेका थापा तेस्रो भए । ०७० को संविधानसभा निर्वाचनमा उनी प्रतिस्पर्धामा उत्रिएनन् । उनले आफ्नो श्रीमतीलाई मकवानपुर–१ बाट उम्मेदवार बनाएर आफू समानुपातिक उम्मेदवार बनेका थिए ।

समानुपातिकबाट सांसद बनेका उनी ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा तीनै प्रधानमन्त्रीका मन्त्रिमण्डलमा मन्त्री बने । ०७४ को प्रतिनिधिसभामा उनले मकवानपुर–१ मै फेरि उम्मेदवारी दिए । थापाका प्रतिस्पर्धी थिए, उनै तीनपटक प्रतिस्पर्धा गरेका दाहाल । तर, उक्त निर्वाचनमा पनि थापा पराजित भए । कांग्रेस–राप्रपाको गठबन्धनलाई माओवादी–एमाले गठबन्धनका दाहालले थापालाई पराजित गरेका थिए। 

पटक–पटक विभिन्न मन्त्रालय सम्हालेका उनले जनताबाट अनुमोदित हुने असर दुईपटक मात्रै पाए। २०७८ मंसिरमा भएको राप्रपा महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि उनले पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरी आफूलाई हराएको आरोप लगाए ।

राप्रपा छाडेको घोषणा गरे । पुरानै राप्रपा नेपाल ब्युँताए । राजतन्त्रको मुद्वा पनि त्यागे । त्यसपछि नै उनले लाक्पा तामाङले चलाएको राप्रपा नेपाल पुनर्गठन गरेका थिए। राप्रपा नेपाल पुनर्गठन गरेपछि पनि उनी पार्टीलाई बलियो बनाउने योजना बोकेर जनतामाझ गएनन्।

आफ्नै जीतको दाउ बोकेर बसेका उनी आफू अर्को पार्टीबाट उम्मेदवार बन्न भ्याए। राप्रपा नेपालको केन्द्रीय अध्यक्ष रहेका थापाले आफ्नो पार्टी र पार्टीको अन्य उम्मेदवारको लागि कहीँ कतै भोट मागेनन्।

एमाले पार्टी र एमालेको सूर्य चिन्हबाट आफ्नो लागि भोट माग्न मकवानपुरको गाउँ–गाउँ पुगेका उनले आफ्नो पार्टीको लागि न त कतै सम्बोधन गरे न कतै चुनावी सभा। प्रतिनिधिसभातर्फ राप्रपा नेपालबाट ५८ जनाले विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारी दिए।

यस्तै, समानुपातिकतर्फ पनि उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाइएको छ। यस्तै, प्रदेशको प्रत्यक्ष र समानुपातिकतर्फ पनि उम्मेदवार छन्। आफ्नो पार्टीको उम्मेदवार जिताउन अरू पार्टीको अध्यक्षहरु दौडधुप गरिरहँदा थापा आफ्नै जितको दौडमा थिए।

थापालाई पार्टी अध्यक्षमा पराजित गरेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन आफ्नो उम्मेदवार जिताउन दुईपटक मकवानपुर आए। उनले दीपक सिंहलाई जिताइदिन जनतासँग अनुनय विनय गरे। तर, थापा आफू कुनै पार्टीको अध्यक्ष हो भन्ने यादबाट पनि बाहिरिएका थिए।

जसले गर्दा कात्तिक १ गते राप्रपा नेपालका पाँच पदाधिकारी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। नेतृत्वकै कारण राप्रपा नेपालभित्र चुनावी माहौल नभएको भन्दै नेताहरुबीच चर्चा परिचर्चा भइरहेका बेला उपाध्यक्ष श्याम तिमल्सिना, महामन्त्री केशव श्रेष्ठ, सहमहामन्त्री दमन बस्नेत, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश आचार्य खुमलटार पुगेका थिए।

‘सामान्य भेटघाट’का लागि भनिए पनि पाँच पदाधिकारीको खुमलटार पुग्नुको उद्देश्य अध्यक्ष कमल थापालाई पार्टीभित्रको संकटबारे राजनीतिक र रणनीतिक सन्देश दिनु नै थियो। थापाको कार्यशैलीले पार्टीमा चरम निराशा छाएको र नेता कार्यकर्ता तितरबितर हुने अवस्थामा पुगेको निष्कर्ष उनीहरूको थियो। यो निर्वाचनबाट कमल थापाले आफ्नो जीवको छैठौं हार मात्रै व्यहोरेका छैनन्, पार्टीको नेता कार्यकर्ताको विश्वास पनि गुमाएका छन्। उनले आफ्नै अस्तित्व र नैतिकतामाथी प्रश्न उठाएका छन्। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनबाट उदाएको थापा नेतृत्वको राप्रपा नेपाल २०७९ सम्म आइपुग्दा पतनको बाटोमा अघि बढेको छ।

सत्ता स्वार्थ, अस्थिर कार्यशैली, पार्टीभित्रको टुटफुट र विभाजन जस्ता कारणले थापाको हैसियत कमजोर अवस्थामा पुगेको छ। पटकपटक सत्ताको स्वाद चाख्नको लागि जोसुकैको सरकारमा पनि सहभागी हुँदै सत्ता र शक्तिमा बस्दै आएका थापा राजनीतिमा ओरालो यात्रा छन्।

सधैँ शक्तिमा रहने बानी परेका थापा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि सहन नसकेर पार्टी त्यागेका थापा यो निर्वाचनमा विजयी बन्न मात्रै होइन उनी दोस्रोसमेत हुन सकेनन्। राप्रपाका पूर्वसहकर्मी दीपकबहादुर सिंहले अप्रत्यासित रुपमा जीत निकालेर संसद्को यात्रा तय गर्दा थापा कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायभन्दा पछि पर्दै लज्जास्पद हार बेहोर्न पुगेका छन्। यो हारसँगै ‘राजनीतिक जीवनको अन्तिम’ चुनाव लड्दै गरेको बताउने थापाको राजनीतिक भविष्य नै संकटमा परेको छ।

यतिबेला उनको हार मात्रै होइन ,उनको नियत र नेतृत्वको जिम्मेवारीमाथि पनि गम्भीर प्रश्न खडा भएको छ। एउटा पार्टीको नेतृत्व आफ्नो सम्पूर्ण जिम्मेवारी पाखा लगाएर अर्कै पार्टीको चुनाव चिन्हबाट लड्नुले नै उनको पतनको बाटो देखाएको छ।

नेतृत्वमा पराजित भएको झोँकमा भएका एजेन्डा पनि त्यागेर गणतन्त्र स्वीकारेका उनीसँग अब पार्टीलाई बलियो बनाउने सशक्त एजेन्डा पनि छैन। चुनावमा पार्टीभन्दा माथि एमाले र आफ्नो जितलाई राखेर दौडिएका थापालाई पार्टीकै सारथिहरूले साथ छोड्नसक्ने खतरा देखिएको छ।

आफ्नो पूर्वसहकर्मी सिंहसँगको लज्जास्पद हार, अस्तित्व र नैतिकतामाथि उब्जिएको प्रश्न र पार्टी नेतृत्वमा देखिएको गैरजिम्मेवारपनलाई पन्छाएर उनलाई फेरि उठ्न  सहज देखिँदैन। सत्ता र शक्तिको लागि हरसम्भव प्रयास गर्ने थापाको आगामी राजनीतिक यात्रा कता मोडिन्छ? यो चाखलाग्दो विषय बनेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.