|

काभ्रे : नेपाली कांग्रेसका नेता तथा काभ्रे प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार शिवप्रसाद हुमागाईंले आफ्नै पार्टीभित्रको घेराबन्दी र चक्रब्यूहमा पर्दा चुनावमा हार व्यर्होनु परेको बताएका छन्।

शुक्रबार चुनावी मत परिणाम सार्वजनिक हुँदा उनको पक्षमा परिणाम नआए पनि उनले धुलिखेलमा पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन्।

हुमागाईंले आफुले चुनाव हार्नुमा मतदाताको कुनै दोष नभएको भन्दै मतदातालाई घरघरमा नै पुगेर धन्यवाद दिने बताए। उनले अस्वस्थ समीकरणका कारण मात्रै परिणाम निकाल्न नसकेको दाबी गरे। उनले भने, ‘मैले चुनाव हार्नुमा मतदाताको दोष छैन, अस्वस्थ समीकरणले गर्दा मात्रै सोचे जस्तो परिणाम नभएको हो।’

नेता हुमागाईंले निर्वाचनको अवधिमा आफ्नै पार्टीभित्रबाट धेरै घेरबन्दी र चक्रब्यूहभित्र राखेको तर त्यसको बाबजुद आफूले सफल रूपमा निर्वाचन अघि बढाएको बताए।

त्यस्तै, उनले आफ्नो कोही कसैप्रति आग्रह पूर्वाग्रह नरहेको स्पष्ट पार्दै स्वस्थ, निष्ठागत, नैतिक राजनीति आस्था र भारोसाको राजनीतिबाट विचलित नहुने बताए। उनले काभ्रेली जनता र यहाँको माटोलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न जीवनको अन्तिम क्षणसम्म लागि पर्ने बताए।

मतदान गर्नु हुने सम्पूर्ण मतदाताहरुलाई उनले पत्रकार सम्मेलनमार्फत धन्यवादसमेत दिएका छन्।

हुमागाईं ५ हजार ८६३ मतान्तरले नेकपा एमालेका पोलिट ब्यूरो सदस्य गोकुल बाँस्कोटासँग पराजित भएका थिए। बाँस्कोटाले ४५ हजार ३४५ मत ल्याउँदा हुमागाईंले ३९ हजार ४२८ मत ल्याएका थिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.