‘कम्युनिष्टहरु एकठाउँमा हुने परिस्थिति बन्न सक्छ'

|

काठमाडौं : मंसिर ४ मा सम्पन्न चुनावको मतपरिणाम आउने क्रम जारी छ।

१ सय ४० भन्दा बढी सिटको छिनाफानो भइरहँदा सत्ता गठबन्धन वा प्रतिपक्ष दुवैको सरकार गठनका लागि आवश्यक बहुमत पुग्ने देखिँदैन। पाँच महिनाअघि मात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको नतिजाले ठूला र पुराना दलहरुको निद हराम भएको छ। 

सत्ता गठबन्धन र एमालेले सरकार बनाउन लागि आवश्यक संख्या १३८ पुर्‍याउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी र  राप्रपाको सहारा लिनुपर्ने संकेत देखिएको छ। एकल बहुमत ल्याएर सरकार बनाउने सपना देखेको एमालेले चुनावी नतिजालाई कसरी हेरिरहेको छ। एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग थाहाखबरले गरेको कुराकानीको सम्पादित अंश :

अहिलेको चुनावी नतिजा एमालेका लागि स्वभाविक हो कि अप्रत्याशित ?

यो हामीले सोचेभन्दा घटी हो। हामीले समानुपातिक र प्रत्यक्ष गरेर १ सय ५० सिटको लक्ष्य राखेका थियौं। प्रत्यक्षमा कम्तीमा १ सय ल्याउने भन्ने थियो। समानुपातिकमा ४५ देखि ५५ सम्म पुग्छ। भन्ने थियो। तर कमी भयो। निर्वाचनमा गठबन्धनले हामीलाई घेराबन्दी गर्‍याे।

नयाँ पार्टीहरू धेरै ठाउँमा उदाएका छन्, तपाईंलाई यो निर्वाचनको सन्देश के हो भन्ने लाग्छ?

नयाँ पार्टीको कुनै भिजन र कार्यक्रम छैन। तर,पनि यो निर्वाचनले ठूला शक्तिहरूमा असन्तुष्टि भएको, काम गराइको तौरतरिका ठीक छैन भन्ने सन्देश दिएको छ। मधेशको पहिचानको नारा थियो। तर, काम भएन भन्ने सन्देश दियो। यो ठूला दलहरूमाथि मतदाताको आक्रोश हो।

यो चुनावले जुन नतिजा दिँदै छ, यसले सरकार गठनमा अहिले भएका समीकरणहरू फेरबदल हुने संभावना हुन्छ त ?

यो त प्रष्ट नै देखियो नि! काँग्रेसमा पनि प्रत्यक्षमा धेरै आउने देखिएन। एमालेको पनि देखिएन। तेस्रोमा नयाँ साना दल होला। अब फेरि मुलुक अस्थिरतातिर जाने देखिन्छ। 

अब एमालेको भूमिका के हुन्छ ? 

यो निर्वाचनले अस्थिरताको परिणाम आएको छ। यसलाई सकभर समन्वय  गरेर यो प्रणालीलाई बलियो बनाएर अगाडि जाने काम अब एमालेले गर्छ। त्यसको संस्थागत पहल पनि हुनुपर्छ।

काँग्रेससँग मिलेको माओवादीलाई पनि फलिफाप देखिएन,हिजो मात्रै पनि तपाईंको पार्टीका अध्यक्ष केपी ओलीले प्रचण्डसँग लामो समयपछि फोन संवाद भएको कुरा बाहिरियो,तपाईं चुनावअघि नै बाम एकता गरेर जानुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो,यो नतिजाले वाम दललाई एकै ठाउँमा ल्याउने सम्भावना देख्नुहुन्छ ?

राजनीतिमा सबै कुरा सम्भव हुन्छ। आज असम्भव देखिएका कुरा भोलि सम्भव देखिन्छ। अस्ति हामीसँग मिलेर एकताबद्ध भएका पार्टीहरू हाम्रै विरूद्ध लागे। तर पनि फेरि मलाई एकै ठाउँमा बसेर काम गर्ने परिस्थिति बन्छ र बनाउनुपर्छ जस्तो लाग्छ।

त्यसैले सबै पार्टीमा सकारात्मक ढंगले सोचेर स्थिरता कायम गर्ने,देशको स्वाधीनताको रक्षा गर्नुपर्छ भन्ने शक्तिहरू संवेदनशील भएर अगाडि बढ्नुपर्छ। 

भनेपछि अब माओवादी,समाजवादीसँग भेटघाट, छलफल अब तीब्र हुन्छ ?

मुलुकमाथि चुनौती खडा भयो। मुख्य शक्ति एक भएर काम गरौँ भन्ने हो। त्यस्तो पनि हुनसक्छ। 

अब सत्तामा जाने विषयमा तपाईंहरुको धारणा के हो त?

राजनीतिक दलहरूको मुख्य उद्देश्य भनेको सत्तामा जाने हो। सत्तामा गएपछि मात्रै आफ्नो भिजनहरू कार्यान्वयन गर्न सक्ने हो। त्यही अनुसार बजेट बनाउने हो। तर,सबै नीति,व्यवहार,सिद्धान्त छोडेर मरिहत्ते गर्ने व्यावहार भयो भने त्यो राम्रो हुँदैन। हामी त्यस्तो गर्दैनौँ पनि।

प्रतिपक्षमै बसेर आएका हौँ। यसअघि प्रतिपक्षमै बसेर नै चुनाव लडेर पहिलो भएका पनि हौँ। सरकार बनाएका हौँ। त्यसैले सरकारमै जाने हतारो छैन। 

तपाईहरू अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई आउँ सँगै काम गरौँ भन्नुहुन्छ ?

यो नयाँ पार्टी विद्रोह गरेर आएको होइन, फेसबुक जमातले आएको हो,यो अस्थिर हुन्छ,यसको विश्वास छैन। यो मतदाताको आक्रोशको थुप्रो हो । देश निर्माणका लागि त एउटा नीति भिजन हुनुपर्छ। उहाँहरुले कांग्रेस, एमाले र माओवादीलाई गाली गरेर तानेको भोट हो यो। यो सधैं स्थिर हुँदैन। एमाले देशमा स्थिरता ल्याउन र समृद्धिका लागि आवश्यक सबै कुरामा सबैसँग सहकार्य गर्न, छलफल बहस गर्न तयार नै छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.