|

हेटौंडा : आफूले स्थापित गरेको घरमा आफैले सिकाएको मान्छेसँग पराजित हुँदा कस्तो अनुभव हुन्छ ? यो कुरा अहिले विरोध खतिवडाले अनुभव गरिरहेका होलान्।

मकवानपुरमा नेकपा एमालेलाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेका खतिवडा एमालेमा आफैँले राजनीति सिकाएका व्यक्तिसँग पराजित भएका छन्। पाँचौं जितका लागि चुनावी मैदानमा होमिएका नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य खतिवडालाई उनकै चेला महेश बर्तौलाले पराजित गरेका हुन्।

हुनत राजनीतिमा जे पनि सम्भव छ तर मकवानपुरमा आफैले सांगठनिक गरेको एमाले र आफ्नै चेलासँग चुनाव हानुपर्ला भन्ने खतिवडाले कल्पना गरेका थिएनन् होला। लगातार ४ पटक उठेजति चुनाव जितेका खतिवडा पहिलोपटक मंसिर ४ गते भएको निर्वाचनमा मकवानपुर–२ मा शिष्य बर्तौलासँग ४ हजार ५ सय मतान्तरले पराजित भए।

२०४८ देखि भएको ४ वटा निर्वाचनमा विजयको स्वाद चाख्दै आएका खतिवडा ३१ वर्षपछि पहिलोपटक पराजित भए।

धेरैले खतिवडालाई हक्की र निडर स्वभावको नेताका रूपमा चिन्छन्। निर्वाचनका वेला उनले गरेको भाषणको चर्चा पनि हुने गरेको छ। खतिवडाले मकवानपुरमा विद्यालय, सडक, सिँचाइ, स्वास्थ्यचौकी, पुल, विद्युतीकरण लगायत विकास निर्माणमा अगुवाइ गर्दै आएका छन्। २०४८, २०५१, २०५६ र २०७४ गरी चारपटक सांसद भएका खतिवडाले मन्त्री हुन लामो समय पर्खनु पर्‍यो।

मुलुकमा बहुदल स्थापनाका लागि भएको आन्दोलन, शैक्षिक तथा मजदुर आन्दोलनमा सहभागी हुँदा पटक–पटक जेल परे। खतिवडाले सबैभन्दा बढी १४ महिना र कम ३ महिना गरी पाँच वर्ष जेल जीवन बिताए। खतिवडाले पहिलो पटक २०३७ मा काठमाडौंको केन्द्रीय कारागारमा जेल जीवन बिताए।

त्यतिवेला उनी केपी ओली, राधाकृष्ण मैनाली, वेदुराम भुषालसँगै जेलमा बसेका थिए। आफूले भद्रगोल, डिल्लीबजार, भीमफेदी, स्याङ्जा, गौर, पोखरामा पनि जेल जीवन बिताएको खतिवडा बताउँछन्। खतिवडा भुटनदेवी माविबाट २०२८ देखि विद्यार्थी राजनीतिमा सक्रिय भएका हुन्।

त्यतिवेलै उनले अखिलको उपसचिव पदमा उम्मेदवारी दिए। उनको परिवार नै कम्युनिष्ट थियो। जसका कारण उनी पनि कम्युनिस्ट पार्टीमा आबद्ध भए।

खतिवडा २०३५–२०३६ मा कानुन क्याम्पसमा स्ववियु पदाधिकारी बने। त्यसका साथै अखिलको केन्द्रीय सदस्य पनि भए। उनी २०३५।३६ सालमा पार्टीको जिल्ला कमिटीमा आबद्ध भए। २०४० सालअघिसम्म उनी भूमिगत राजनीतिमा सक्रिय थिए।

२०४३ मा मकवानपुरबाट जनपक्षीय राष्ट्रिय पञ्चायत सदस्यको चुनावमा उम्मेदवार बने। खतिवडाले थाहा अभियन्ता रूपचन्द्र विष्टसँग प्रतिस्पर्धा गरेका थिए। खतिवडा नेकपा एमालेक केन्द्रीय सदस्य भइसकेका थिए। उनी पार्टीको केन्द्रीय उद्योग विभाग तथा लेखा आयोगका सदस्य पनि भएका थिए।

एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपछि पनि खतिवडा केन्द्रीय सदस्य भए। एमालेको आन्तरिक विवादमा खतिवडाले माधव नेपाललाई दरिलो साथ दिए। एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीमा उनी स्थायी कमिटी सदस्य छन्। 

संसदीय निर्वाचनमा मकवानपुरका कम्युनिस्ट नेताहरूमध्ये सबैभन्दा भाग्यमानी मानिएका विरोध खतिवडाको अपराजित यात्रामा पूर्णविराम लागेको छ। खतिवडाको अपराजित यात्रामा पूर्णविराम लगाउने पनि उनकै राजनीतिक चेला बर्तौला विद्यार्थी राजनीतिबाट २०७८ सालमा मात्रै पार्टीको राजनीतिमा प्रवेश गरेर पहिलोपल्ट संसदीय चुनाव लडेका हुन्।

बर्तौला हाल एमाले बागमती प्रदेश कमिटीका उपसचिव तथा प्रचारप्रसार विभाग प्रमुख छन्। २०७४ मा खतिवडालाई चुनाव जिताउन बर्तौला पनि मैदानमा थिए तर त्यसको ठीक पाँच वर्षपछि गुरुचेला प्रतिस्पर्धी बने। उनीहरू छुट्टिनुमा पार्टी विभाजन प्रमुख कारक थियो। एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीमा लागेपछि खतिवडा ३० वर्षको राजनीतिमा पहिलोपटक स्वास्थ्य तथा जनसंख्यामन्त्री बने।

पार्टी फुटेपछि मन्त्री बने पनि खतिवडाले आफ्नो पाँचौँ चुनावी प्रतिस्पर्धा पक्षमा पार्न सकेनन्। क्षेत्र नम्बर २ मा गठबन्धनको मत करिब ५८ हजारको हाराहारीमा थियो। स्थानीय तह निर्वाचनमा प्राप्त मतलाई आधार मान्दा नेपाली कांग्रेसको ३२ हजार, नेकपा माओवादी केन्द्रको २२ हजार र एकीकृत समाजवादीको करिब ३ हजार मत थियो। जसमा नेकपा एमालेको मत ३६ हजार ५ सयभन्दा बढी थियो।

अंक गणितमा खतिवडा अगाडि देखिए पनि निर्वाचनको नतिजामा बर्तौलाले बाजी मारे।

खतिवडाले यो निर्वाचनमा पराजय व्यहोर्नुका विभिन्न कारण छन्। तीमध्ये पहिलो कारण खतिवडाले पार्टी परिवर्तन गर्नु, गठबन्धनमा भोट हस्तान्तरण नहुनु, खतिवडाको खरो र विवादित भाषण, एमालेप्रतिको आक्रामक अभिव्यक्ति र देशभर युवालाई लिएर चलेको ट्रेण्ड मुख्य हुन्।

त्यसैगरी खतिवडाको पराजयको कारण २ नम्बर क्षेत्रबाटै निर्वाचन लडेका राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुली पनि हुन्। लामो समय नेपाली कांग्रेसबाट राजनीति गरेका पराजुली कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बने।

उनले १२ हजार मत पाए। पराजुलीले कांग्रेसको भोट तान्दा र माओवादीबाट अपेक्षाकृत रूपमा भोट नआउँदा खतिवडाले पाँचौँपटक संसद्को यात्रा तय गर्न सकेनन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.