|

डडेल्धुरा : डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भए। उनले ४२५ मतान्तरले नेपाली काँग्रेसका गोविन्दराज बोहरालाई हराए। 

सुदूरपश्चिम सरकारका बहालवाला सामाजिक विकासमन्त्री समेत रहेका बोहरा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार थिए। जोशीले ११,१६२ मत पाउँदा बोहराले १०,७३७ मत ल्याए।

टिकटका लागि धेरै प्रयास गरेका नेकपा (एकीकृत समाजवादी) का नेता जोशीलाई वाम–लोकतान्त्रिक गठबन्धनले पत्याएन। प्रदेशसभा–१ नेकपा माओवादी केन्द्र र प्रदेशसभा–२ नेपाली कांग्रेसको भागमा परेको थियो। गठबन्धनले प्रदेशसभा–२ को टिकट बोहरालाई दियो। यहाँका मतदाताले उनलाई पाखा लगाउँदै जोशीलाई प्रदेशसभा सदस्य बनाइदिए।

२०७४ को प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका कर्ण मल्लसँग झिनो मतान्तरले पराजित भएका थिए। यो पटक टिकट नपाएपछि उनले समाजवादीबाट राजीनामा दिए र स्वतन्त्र उम्मेदवारी दिए।

पार्टीबाट राजीनामा दिए पनि जोशीलाई नेकपा समाजवादीले समर्थन गर्‍यो र प्रतिनिधिसभामा नेपाली कांग्रेस वीपीलाई र प्रदेश २ मा जोशीलाई सघाउने शर्तमा तालमेल भयो। कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्ल पराजित भए पनि जोशी भने विजयी भए।

डडेल्धुरा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला पनि हो। स्थानीय तहको अंक गणित र माओवादी केन्द्रको सहयोगले जित्नेमा ढुक्क रहेको कांग्रेस अन्ततः पराजय भोग्न बाध्य भयो।

गठबन्धनले विश्वास नगरेका जोशीलाई मतदाताले अनुमोदन गरिदिए। जोशी विजयी मात्रै होइन कांग्रेसका किल्ला भत्काउनसमेत सफल भएका छन्। जोशीको जितलाई कांग्रेस वीपीका मल्लले पनि आफ्नो जितका रूपमा लिएका छन्। प्रदेशसभा २ मा देउवाका विश्वास पात्र बोहरा हार्नुले देउवापछि डडेल्धुरामा काँग्रेस कमजोर हुँदै गएको आँकलन गरिएको छ। 

प्रदेशसभा–२ मा जिल्ला सदरमुकामको अमरगढी नगरपालिका, गन्यापधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका र अजयमेरु गाउँपालिका १, २, ३ र ४ पर्छन्। अमरगढी, गन्यापधुरा र नवदुर्गामा कांग्रेसको नेतृत्वमा स्थानीय सरकार छ।

अजयमेरुमा पनि अध्यक्षमा माओवादी र उपाध्यक्ष कांग्रेसले जितेको थियो। यस्तो अवस्थामा पनि जोशीले कांग्रेसको किल्ला झत्काइदिएका छन्। पराजित बोहरालाई देउवाका अति विश्वासिला पात्रका रूपमा लिइन्छ। २०५२ सालमा देउवा प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव भएरसमेत बोहराले काम गरेका थिए।

को हुन् तारा?
०२७ चैत २७ गते गन्यापधुरा गाउँपालिकाको बामनगाउँमा भवानीदत्त जोशी र हरिनादेवीका जेठा सन्तानका रूपमा उनी जन्मिएका हुन्। भुवनेश्वरी माविबाट २०४३ सालमा एसएलसी गरेका उनले कैलाली बहुमुखी क्याम्पसबाट आइकम गरेका थिए।

सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरबाट स्नातक उनी भारतको कुमाऊँ विश्वविद्यालयका स्नातकोत्तर हुन्। उनले जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तरराष्ट्रिय सम्बन्धमा २०६८ सालमा  विद्यावारिधि गरेका छन्।

२०४५ सालमा कैलाली बहुमुखी क्यापसको अनेरास्ववियु प्रवेशसँगै उनले राजनीति शुरु गरेका हुन्। २०४७ सालमा गणेश मावि बडाल‚ वीरभद्र मावि‚ ​दुर्गा मावि र भुवनेश्वरी माविमा अध्यापन गरे।

२०५१ देखि २०५३ सम्म डडेल्धुरा–काठमाडौं सम्पर्क मञ्चको सदस्य भएका उनी २०५३ सालमा एमालेका डडेल्धुरा जिल्ला कमिटी सदस्य हुँदै २०५४ मा जिल्ला सचिव बने। २०६२ मा घोषणा गरिएको नगरपालिकाको निर्वाचनको विरोधमा उत्रिएका जोशी २५ दिन जेल चलान भए। ०६२।०६३ को आन्दोलनको वेला जोशी कारागार चलान गरिए। 

२०६९ मा एमाले डडेल्धुराको जिल्ला अध्यक्षमा सर्वसम्मत चुनिएका उनी २०७० सालको संविधानसभा चुनावमा पराजित भए। ०७१ मा पुनः एमाले जिल्ला अध्यक्ष निर्वाचित भए।
जोशी ‘भिजन डडेल्धुरा’का अभियन्ता फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेड कम्पनीका संस्थापक अध्यक्षसमेत हुन्। फार वेस्टर्न एग्रो जाइन्टले डडेल्धुरामा भटमास प्रशोधन उद्योग सञ्चालन गरिरहेको छ। जोशी डडेल्धुरा विमानस्थलका अगुवासमेत हुन्। 

‘यो जित डडेल्धुरावासीका लागि आंशिक सफलता’
प्रदेशसभा सदस्य बनेका जोशीले आफ्नो जित डडेल्धुरावासीका लागि आंशिक सफलता भएको बताए।

‘यो अभियान लामो समयदेखि चल्दै आएको छ। आज हामी आंशिक सफल भयौं, पूर्ण होइन’, उनले भने, ‘हामीले निर्वाचनको एउटा खुट्किलो पार गरेका छौँ। हाम्रा अगाडि तमाम चुनौती हुनेछन्।’

उनले निरन्तरता र परम्परागत राजनीति नगरेर विकास र परिवर्तनको राजनीति गर्ने प्रतिक्रिया दिए। ‘हाम्रा अगाडि उद्देश्य हुनेछ। हाम्रा हरेक पाइला परिवर्तनका लागि हुनेछ’, उनले भने, ‘मेरो एक्लो प्रयासले हुँदैन। तपाईंहरूले यहाँसम्म पुर्‍याउनु भयो। अझै साथ दिनुहोस्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.