|

जनकपुरधाम : महोत्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरत् सिंह भण्डारी सातौँपटक निर्वाचित भएका छन्।

भण्डारी १४ हजार ७० मतान्तरले निकटतम प्रतिद्वन्द्वी तराई मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार डा. विजय सिंहलाई पराजित गरेका  छन्।

सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले २५‚१९० मत ल्याएर विजयी भएका छन्  भने उनका निकटतम प्रतिद्वन्द्वी सिंहले ११‚१२० मत पाएका हुन्।

तेस्रो नम्बरमा एमालेका उम्मेदवार डा. रामपरीक्षण यादवले १०‚२५७ मत ल्याएका छन्।

भण्डारी यसअघि २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट भारी मतान्तरले विजयी भएका थिए

यो निर्वाचनसहित ९ पटक महोत्तरीबाट उम्मेदवार बन्दा उनी ७ पटक निर्वाचित भइसकेका छन्। प्रतिस्पर्धामा उनी २ पटक मात्रै पराजित भएका छन्। 

भण्डारी पञ्चायती व्यवस्थाकै वेला २०३८ र २०४२ सालमा महोत्तरीबाट निर्वाचित भएका थिए। प्रजातन्त्र स्थापनापछि २०५१, २०५६, २०६४, २०७४ सालको संसदीय निर्वाचन पनि उनले जिते। २०४८ र २०७० सालमा मात्रै उनले पराजय व्यहोर्नु परेको थियो।

भण्डारी महोत्तरीमा ‘दादा’ को नामले प्रख्यात छन्। ‘दादा’ अर्थात् दाजु सम्बोधन उनको विरासत जस्तै बनेको छ। भण्डारीले आफ्नो पिता पृथ्वीमान सिंह ‘मनु बाबु’को राजनीतिक विरासतलाई अगाडि बढाएका छन्।

पञ्चायती व्यवस्थाको समयमा भण्डारी विद्यार्थी थिए। सोही समयदेखि उनी समाजमा व्याप्त गलत क्रियाकलापका साथै कुरीतिविरुद्ध आवाज उठाउँथे। त्यतिवेलै उनका साथीहरूले स्नेहपूर्वक उनलाई  ‘दादा’ सम्बोधन गर्न थालेका थिए। पछि जिल्लाभरकै मान्छेले उनलाई दादा भनेर सम्बोधन गर्न थालेका हुन्।

उनी गत ४० वर्षदेखि राजनीतिमा सक्रिय छन्। पञ्चायती व्यवस्था, प्रजातन्त्र र गणतन्त्रसहितका व्यवस्थामा महोत्तरीका जनताको प्रतिनिधित्व गर्ने अवसर उनले पाए। 

यो निर्वाचनसहित ९ पटक महोत्तरीबाट उम्मेदवार बन्दा उनी ७ पटक निर्वाचित भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.