|

काठमाडौं : निर्वाचन आयोगले दोलखामा पुनः मतदानको तयारी गरेको छ। पाँच स्थलमा ‘बुथ कब्जा’ गरेर धाँधली गरेको भन्दै एमालेसहितका दलले पुनः मतदानको माग गरेपछि आयोगले मतदानको तयारी गरेको हो।

आयोगले सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा खटाएको तीन सदस्यीय जाँचबुझ टोलीले दोलखा पुगेर पुनः मतदान गर्नुपर्ने निष्कर्ष निकालेको हो । कति मतदानस्थलमा फेरि मतदान गराउने भन्ने जाँचबुझ टोलीले प्रतिवेदन आयोगमा बुझाएपछि तय हुने बताइएको छ।

एमालेले दोलखाको वैत्यश्वर माविको ६ मतदान केन्द्र, हेल्थपोस्ट तामाकोशीका तीन मतदान केन्द्र, वडा कार्यालय पिपलबोट वैत्यश्वरको एक मतदान केन्द्र, नवीन मावि शैलुङको तीन मतदान केन्द्र र जखे प्रावि मेलुङको चार मतदान केन्द्रमा पुनः मतदानको माग गरेको छ।

यस्तै आयोगले मतगणनामा विवाद देखिएको स्याङ्जामा जाँचबुजका लागि सहसचिव फणीन्द्र गौतम र कानुन अधिकृत गोकुल भुजेललाई खटाएको छ। स्याङ्जामा मतपेटिका संकलन भइसकेपछि धाँधली भएको भन्दै एमालेलगायत दलले पुनःमतदानको माग गरेका छन्।

चापाकोट नगरपालिका– ३ को दिसिङकोट आधारभूत विद्यालय, वडा नम्बर ४ को राम मन्दिर मावि, वडा नम्बर ५ को जनसक्रिय आधारभूत विद्यालय र सोही वडाको दिनदयाली आधारभूत माविको बुथ कब्जा भएको आरोप लागेपछि यहाँ मतगणना रोकिएको छ।

टोलीले ल्याएको तथ्य–प्रमाणका आधारमा पुनः मतदान गर्ने वा गणना प्रारम्भ गर्ने निर्णय हुने निर्वाचन आयोगले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.