|

काठमाडाैं : नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निट फेस्ट २०२२) को दोस्रो संस्करण सुरु भएको छ। बानेश्वरको थापागाउँस्थित मण्डला थिएटरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अतिथि तथा सहभागीबीच शुक्रबार महोत्सवको समुदघाटन भएको हो ।

‘सामाजिक रूपान्तरणको लागि रंगमञ्चः विविधिताको उत्सव’ भन्ने नाराका साथ भारतका सुप्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमीको विशेष आतिथ्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका हुन्। समारोहमा महानगरपालिकाका प्रमुख बालेन साह, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय  रेग्मी, जीआइजेड नागरिक शान्ति सेवाकी स्टेफिन थेइसलगायतले महोत्सवलाई शुभकामना दिए।

मन्त्री श्रेष्ठले नेपालको कला–संस्कृति प्रवर्नध र विकासका लागि नाट्य महोत्सवको उल्लेखनीय भूमिका हुने विश्वास व्यक्त गरे। उनले भने, ‘कला संस्कृतिको आदानप्रदानको रूपमा महोत्सवहरू जरुरी छ, नेपाल सरकार तथा संस्कृति मन्त्रालय यस्ता कार्यलाई सघाउन र प्रोत्साहन गर्न तयार छ।’

त्यस्तै महानगर प्रमुख बालेन्द्र शाहले एउटा नगरपालिका समृद्ध हुनका लागि कलाका गतिविधिहरू उत्तिकै हुनुपर्ने महसुस गरेको बताए। ‘काठमाडौं महानगरपालिकाले आगामी दिनमा वार्षिक बजेटमै नाट्य तथा चलचित्र महोत्सवहरू उल्लेख गर्ने प्रयत्न गर्नेछु। त्यो हुँदा अझै खुलेर यस्ता महोत्सव गर्न सकिन्छ र त्यसको प्रभाव पनि त्यही अनुरूप हुनेछ भन्ने लाग्छ।’

भारतबाट महोत्सवका लागि आएकी अभिनेत्री शबाना आजमीले नेपालमा आफू नाटकको महोत्सवमा सहभागी हुन पाउनु खुशीको कुरा रहेको बताउँदै भनिन्, ‘नेपालमा कलाकार मिलेर आफै नाटकघर निर्माण गर्नु र नियमित नाटक मञ्चन हुनु, यस्तो महोत्सव आँट्नु आश्चर्यजस्तो लागेको छ। यो निकै सह्रानीय कार्य हो, यसलाई निरन्तरता दिनुहोला।’​

महोत्सवका निर्देशक रंगकर्मी सिर्जना सुब्बाले महोत्सवलाई सबै मिलेर उल्लासमय रूपमा मनाउन आह्वान गर्दै रंगमञ्चले पाएको मायाप्रति आभार व्यक्त गर्दै कोभिडले थला परेको रंगमञ्चलाई उठाउँदै महोत्सवसम्म आइपुगेर स्वागत गर्न पाउँदा खुशी भएकाे पनि बताइन्।

समुद्घाटनका क्रममा मण्डला थिएटरले आयोजना गरेको नाटक लेखन कार्यशालाबाट छानिएका सात नाटकको संग्रह ‘इन्द्रधनुषः यस छिमलका नाटकहरू’ पनि विमोचन भएको थियो । महोत्सवको समुदघाटनको नाटकस्वरूप नयनराज पाण्डेको कथामा आधारित दिया मास्केद्वारा निर्देशित नेपाली नाटक ‘कथा कस्तुरी’ मञ्चन गरिएको थियो।

त्यस्तै महोत्सवको पहिलो दिन अनिल सुब्बा निर्देशित अर्को नेपाली नाटक ‘बुद्ध र भिकारी’ पनि मञ्चन भएको छ। पहिलो दिन बिहान ‘डिभाइजिङ अपेरेटिक ड्रामाटर्जी कार्यशाला’ पनि सम्पन्न गरेको महोत्सवले साँझमा ‘ब्रिथ एण्ड बिट’ शीर्षकमा शलिल सुवेदी र नवरा गुरुङको साँगितिक कार्यक्रम पनि गरेकाे थियाे।​

महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.