|

​कपिलवस्तु : कपिलवस्तु जिल्लामा एमालेकै वर्चस्व कायम भएको छ। ३ प्रतिनिधिसभा र ६ प्रदेशसभा रहेको जिल्लामा दुई प्रतिनिधि र चार प्रदेशसभामा एमालेले जित हात पारेको छ।

नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी, लोसपा लगायत दलहरू कमजोर देखिएका छन्। जिल्लाको क्षेत्र नं १ मा पूरै प्यानल एमालेले जितेको छ।

प्रतिनिधिसभा सदस्यमा बलराम अधिकारी, प्रदेशसभामा विष्णु पन्थी र मधुसूदनशरण चौधरी निर्वाचित भएका छन्। प्रतिनिधिसभामा अधिकारीले ३४‚६५७ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका प्रतिस्पर्धी सत्ता गठबन्धनमा उम्मेदवार चक्रपाणि खनाल १८‚९८३ मत पाई पराजित भए।

प्रदेशसभातर्फ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का विष्णुप्रसाद पन्थी २०‚२४७ मत प्राप्त गरेर पुनः प्रदेशसभा सदस्य निर्वाचित भएका छन्। त्यस्तै प्रदेशसभा (ख)मा पनि एमालेका मधुसूदनशरण चौधरीले ११‚७४८ मत प्राप्त गरी विजयी भएका छन्। क्षेत्रमा प्रतिनिधितर्फ माओवादीमा उम्मेदवार भएपछि काँग्रेसको एक समूहले असहयोग गरेको बताइएको छ।

काँग्रेस नेता ललित गुरुङले काँग्रेसकै केही नेताको सहयोगमा स्वतन्त्र उम्मेदवार दिएका थिए।

क्षेत्र नं २ को प्रतिनिधिसभामा नेपाली काँग्रेसमा उम्मेदवार सुरेन्द्रराज आचार्य निर्वाचित भएका छन्। आचार्य निर्वाचित भएपछि जिल्लामा सत्ता गठबन्धनको साख जोगिएको छ। झिनो मतान्तरले विजयी भएपछि जिल्लाका सबै क्षेत्रमा नेता कार्यकर्ता यस क्षेत्रमा पुगी र्‍याली निकालेका छन्। आचार्यले ३९‚०१४ मत प्राप्त गरेका छन् भने एमालेका वृजेशकुमार गुप्ताले ३८‚६९७ मत प्राप्त गरेका छन्।

क्षेत्र नं २ को प्रदेशसभा (क)मा नेकपा एमालेका नवराज लामिछाने र (ख)मा नेपाली काँग्रेसका सुधाकर पाण्डेले जित हात पारेका छन्।

यता क्षेत्र नं ३ को प्रतिनिधिसभामा एमालेका मङ्गलप्रसाद गुप्ताले जितेका छन्। तीनपटक सांसद भएका नेपाली काँग्रेसका उम्मेदवार अभिषेकप्रताप शाहलाई हराउँदै गुप्ता निर्वाचित भएका हुन्। गुप्ताले २२‚६१९ मत प्राप्त गर्दा शाहले १८‚९८२ मत पाएका छन्।

क्षेत्र नं ३ (क)मा नेकपा एमालेका अर्जुनकुमार केसी पुनः प्रदेशसभामा निर्वाचित भएका छन्। केसीले लोसपाका उम्मेदवार रविदत्त मिश्रलाई ७ मतले हराउँदै विजयी भएका हुन्। प्रदेशसभा (ख)मा राप्रपाका उम्मेदवार जानकी यादवको जितसँगै जिल्लामा राप्रपाले पनि खाता खोलेको छ। यादवले ८‚५८२ मत पाएका छन्।

क्षेत्र नं ३ मा सत्ता गठबन्धन कमजोर हुनुको कारण काँग्रेसमा अन्तर्घात भएको आरोप लागेको छ। शाह देउवा निकट रहेकाले उनलाई पौडेल/कोइराला समूहले असहयोग गरेको बताइएको छ। गत स्थानीय तहको निर्वाचनमा शाहले राप्रपाका उम्मेदवारलाई सहयोग गरेको आरोप समेत लागेको थियो। काँग्रेसको एक समूहले स्थानीय तहको बदला लिएर शाहलाई हराउने रणनीति खेलेको स्रोतले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.