|

काठमाडौं : बाजुराको बूढीनन्दा नगरपालिका ५ मा पुन: मतदान शान्तिपूर्ण रुपमा सकिएको छ।

सो मतदान स्थलका ९ सय ९९ मतदाता रहेकामा ५ सय ९७ मत खसेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए। बूढीनन्दामा मतदान सकिए पनि बाजुरामा मतगणना गर्न भने अझै केही दिन पर्खनुपर्नेछ।

बूढीनन्दा बाहेक जिल्लाभरका २४ भन्दा बढी मतदान केन्द्रको मतदान रद्द गर्न राजनीतिक दलले दिएको निवेदनमाथि छानबिन भइरहेकाले अहिल्यै मतगणना सुरु नहुने पौडेलले बताए।

विवादित केन्द्रको छानबिन गर्न शुक्रबार बाजुरा पुगेको निर्वाचन आयोगको टोलीले आज राजनीतिक दलका पदाधिकारीसँग छलफल गरेको छ । छानबिन टोलीले तयार पारेको प्रतिवेदन अनुसार निर्वाचन आयोगले विवादित स्थानमा पुनः मतदान गर्ने वा खसेकै मत गणना गर्ने निर्णय गर्नेछ ।

गत मंसिर ४ गतेको निर्वाचनमा बाजुराका विभिन्न मतदान स्थलमा विवाद र झडप भएको थियो । झडपका कारण एक जनाको प्रहरीको गोली लागी ज्यान गएको थियो भने एकजनाको कुटपिटबाट मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.