|

काठमाडौं : नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्यामा कमी आएको छ। भर्खरै सार्वजनिक भएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ ले विगत पाँच वर्षमा पूर्ण स्तनपान गराउने आमाको संख्यामा १० प्रतिशतले कमी आएको देखाएको हो।

चिकित्सक तथा स्वास्थ्यकर्मीले बच्चालाई जन्मेदेखि ६ महिना नलागेसम्म आमाको दूधबाहेक अन्य केही कुरा नखुवाउन अर्थात् पूर्ण रूपमा स्तनपान गराउनु भन्दै आएका छन् तर सन् २०२२ को सर्वेक्षण प्रतिवेदनले नेपालमा हाल ५६ प्रतिशत आमाले मात्रै शिशु जन्मिएको ५ महिनासम्म पूर्ण स्तनपान गराउने उल्लेख गरेको छ। पाँचवर्ष अघि (सन् २०१६) को एनडीएचएस प्रतिवेदनमा नेपालमा पूर्ण स्तनपान गराउने आमाको प्रतिशत ६६ प्रतिशत रहेको उल्लेख थियो।

विगतका ६ वटा सर्वेक्षणलाई हेर्ने हो भने नेपालमा पूर्ण स्तनपान गराउने प्रतिशतमा घटबढ भइरहेको देखिन्छ। सन् १९९६ को एनएफएचएसका अनुसार पूर्ण स्तनपान गराउनेको प्रतिशत ७५ थियो। सन् २००१ मा आइपुग्दा सो घटेर ६८ प्रतिशतमा झर्‍यो।

त्यसपछि सन् २००६ मा घटेर ५३ प्रतिशतमा झर्‍यो। सन् २०११ को सर्वेक्षणमा पूर्ण स्तनपान गराउनेको संख्या बढेको देखिन्छ। त्यस वेला ७० प्रतिशतले पूर्ण स्तनपान गराएको उल्लेख छ। त्यसपछि सन् २०१६ को प्रतिवेदनमा फेरि घटेर ६६ प्रतिशतमा झरेको थियो फेरि सन् २०२२ मा आउँदा १० प्रतिशतले कमी आएको छ 

स्तनपानलाइ प्रोत्साहन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सचिवको अध्यक्षतामा  स्तनपान प्रवर्धन संरक्षण समिति बनाए पनि समितिले प्रभावकारी काम गर्न नसकेको सर्वेक्षणको नतिजाले देखाएको छ।

महिलाहरूमा सौन्दर्यको चिन्ता तथा रोजगारी लगायतका कारण स्तनपान गराउने आमाको संख्या घट्दै गएको विज्ञहरूले बताउने गरेका छन्। पाँच वर्षअघिको प्रतिवेदनले ६ महिनासम्म आमाको दूध बाहेक केही नखुवाउने दक्षिण एशियाली देशको सूचीमा नेपाल दोस्रो स्थानमा थियो। पहिलो स्थानमा रहेको श्रीलंकामा ८२ प्रतिशतले पूर्ण स्तनपान गराउँछन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.