|

पर्वत : पोखरा महानगरपालिकाले पोखरालाई आकर्षक र थप सुरक्षित बनाउनको लागि १३ करोडको लागतमा हाईमास्ट सडक बत्ती जडानको काम शुरु गरेको छ।
पोखरा महानगरपालिका र नेपाल विद्युत प्राधिकरणबिच सम्झौता भएपछि गत भदौ १० गते महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गरेकोमा हाईमास्ट बत्तीको जडानको काम शनिवारदेखि सुरू भएको हो। ‘उज्यालो पोखरा’ कार्यक्रम अन्तरगत पोखराको जिरो किलोमिटर चोकमा ‘हाईमास्ट लाइट’ जडान गरेर परीक्षण पनि भएको छ। पोखरा महानगरपालिकालाई सडक बत्तीमार्फत उज्यालो बनाउने गरी ‘उज्यालो पोखरा’ अभियान सुरू भएको हो।

उज्यालो पोखरा अभियान अन्तरगत नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजना मार्फत टपसन इनर्जी प्रा.लि.ले प्राधिकरण र पोखरा महानगरपालिकाको लागत साझेदारीमा पोखराको ५० किलोमिटर सडकमा बत्ती जडानको काम हुने छ। १६ मिटर अग्ला पोलहरूमा ‘हाई मास्ट लाइट’ हरू जडान गरिने छन्। ती लाइटहरूको क्षमता २०० वाटसम्म हुनेछ।

अबको दुई महिनासम्म लगातार काम गरेर कुल २३ स्थानमा ‘हाईमास्ट’ बत्तीको जडान गरिने इन्जिनियर ध्रुव भट्टराईले बताए। पोखराको लेकसाईड पर्यटकहरूको गन्तव्य रहेकालाई त्यो ठाउँलाई लक्षित गरेर काम भइरहेको छ। फेवातालको किनारमा रहेको ‘फुट ट्रेल’ बत्ती जडानको भइरहेको र त्यहाँपछि पोखरा अन्य मुख्य चोकहरूमा जडान गर्ने गरी आयोजनाको काम अगाडि बढाइएको छ।

महानगर प्रमुख आचार्यले सडक बत्तीको जडानले पोखरालाई थप सुरक्षित र सुन्दर बनाउने विश्वास व्यक्त गरेका छन्। यसअघि करोडौँ रुपैयाँ खर्च गरेर जडान गरिएका सडक बत्तीहरू नियमित मर्मतको अभावमा जीर्ण बन्दै गएकोले ती बत्तीहरूको समेत मर्मत गरी पोखराका अधिकांश स्थानहरूमा थप बत्तीहरूको जडान गरेर पोखरा सहरलाई उज्यालो सहर बनाउने अभियानमा महानगर रहेको उनको भनाइ छ।

‘उज्यालो पोखरा’ सबैका लागि लोभ लाग्दो हुनुका साथै रातीको समयमा हुन सक्ने चोरी, लुटपाट, झगडा, सडक दुर्घटना लगायतका समस्या समाधानको लागि पनि ती बत्ती सहयोगी बन्ने आचार्य बताउँछन्। ‘उज्यालो पोखरा अभियानले पोखरालाई थप आकर्षक बनाउने छ।

 झलमल्ल पोखराले जो कसैको पनि लोभ्याउने छ। त्यो बाहेक पोखरालाई सुरक्षित राख्नको लागि पनि यो अभियान सफल हुने छ,’ उनले भने, ‘रातीको समयमा हुन सक्ने चोरी, लुटपाट रोक्नका लागि सहज हुने छ। विभिन्न ठाउँमा राहेको सी.सी. क्यामेराको लागि लाइट दिने काम यी बत्तीले गर्ने छन्। रात्रिकालीन व्यवसायहरूलाई थप सुरक्षित गर्नको लागि पनि यी बत्तीको आवश्यकता रहेको थियो।’

भदौमा शिलान्यास गरेपछि तिहारसम्ममा ‘हाइ मास्ट’ र स्मार्ट सडक बत्ती जडानको काम सक्ने लक्ष्य राखिएको थियो। विभिन्न कारणले ढिलाइ भएको भए पनि माघसम्ममा बत्ती जडानको काम पूरा गर्ने लक्ष्य महानगरपालिकाले राखेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.