|

काठमाडौं : प्रतिनिधिसभाको १६५ सिटका लागि भएको निर्वाचनमा सातजना मात्रै महिला निर्वाचित भएका छन्। सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहित ११ दलबाट ५२ जनामध्ये जम्मा आठ जना महिला प्रत्यक्षमा निर्वाचित भएका हुन्।

प्रत्यक्षमा निर्वाचित हुनेहरुमा नेपाली कांग्रेसबाट सिता गुरुङ एक मात्र महिला उम्मेदवार बनेकी छन्। तेह्रथुम – १ बाट निर्वाचनमा उम्मेदवारी दिएकी गुरुङ १९ हजार ७०२ मतसहित विजयी भएकी हुन्। उनले नेकपा एमालेका विजय सुब्बालाई एक हजार ७९ मतान्तरले पराजित गरेकी हुन्। सुब्बाले १८ हजार ६२३ मत पाए

त्यस्तै, रेखा शर्मा माओवादी केन्द्रबाट निर्वाचित हुने एक मात्र महिला सांसद बनेकी छन्। दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई १९३ मतान्तरले पराजित गर्दै शर्माले माओवादीभित्र महिलाको प्रतिनिधित्व गरेकी हुन्। शर्माले २६ हजार ८८० मत प्राप्त गरेकी छन्। पोखरेलले २६ हजार ६८७ मत प्राप्त गरेका हुन्।

 त्यस्तै नेकपा एमालेबाट तीन जना महिला उम्मेदवार निर्वाचित भएका छन् भने एक जनाले अग्रता लिइरहेकी छन्। एक स्थानमा मतगणना हुन सकिरहेको छैन।

धनुषा ३ बाट जुली कुमारी महतो (महासेठ) निर्वाचित भएकी छन्। उनले लोकतान्त्रिक समाजवादी पार्टीका अनिल कुमार झालाई ९ हजार ६६९ मतान्तरले पराजित गरेकी हुन्। 

महतोले ३३ हजार ३५५ मत ल्याएर विजयी हुँदा लोसपाका झा २३ हजार ६८६ मतसहित पराजित भए। बारा – ३ बाट एमाले नेतृ ज्वाला कुमारी साह निर्वाचित भइन्। साह जनता समाजवादी पार्टीका रामवावु कुमार यादवलाई दुई हजार ९ सय ७२ मतान्तरले पराजित गर्दै विजयी भएकी हुन्। साहले २० हजार २५१ मत पाउँदा यादवले १७ हजार २७९ मत पाएका छन्। 

एमाले नेतृ विद्या भट्टराई कास्की–२ बाट निर्वाचित भएकी छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कँडेललाई चार हजार ५०३ मतान्तरले पराजित गरेकी हुन्। भट्टराईले १६ हजार ९९८ मत पाउँदा कँडेलले १२ हजार ४९५ मत पाए।

एमाले नेतृ भगवती चौधरी सुनसरी–३ बाट उम्मेदवार छिन्। उनी सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग प्रतिस्पर्धामा छिन्।

पछिल्लो परिणामअनुसार चौधरीले १७ हजार ३१ मत पाएकी छन्। उनका निकटतम् प्रतिद्वन्द्वी गच्छदारले १२ हजार ४७४ मत पाएका छन्। एमाले सचिव पद्मा कुमारी अर्याल स्याङ्जा – २ बाट उम्मेदवार छिन्। तर, स्याङ्जा – २ मा हालसम्म मतगणना भएको छैन। 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई जना महिला निर्वाचित भएका छन्। गत असारमा नयाँ दल दर्ता गरेर पहिलोपटक निर्वाचनमा होमिएको  रास्पाले प्रत्यक्षमा दुईजना महिला पाएको हो।

काठमाडौं–२ बाट सोविता गौतम विजयी भएकी छन्। उनले नेकपा एमालेका मणिराम फुयाललाई पराजित गर्दै विजयी भएकी हुन्। गौतमले १५ हजार २३८ मत पाउँदा फुयालले ११ हजार ५६६ मत मात्रै पाए। गौतमले राष्ट्रिय स्वतन्त्र पार्टीलाई महिलातर्फ पहिलो जित दिएकी हुन्। 

ललितपुर – ३ बाट डा. तोसीमा कार्की विजयी भएकी छन्। उनले नेकपा एमालेका अमृत खड्कालाई १८ हजार १७३ मतान्तरले पराजित गरेकी हुन्। कार्कीले ३१ हजार १३६ मत पाउँदा खड्काले १२ हजार ९६३ मत मात्र पाए। 

नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षमा एक जना महिला सांसद पाएको छ। नगरिक उन्मुक्ती पार्टीकी रन्जिता श्रेष्ठ कैलाली – १ बाट निर्वाचित भएकी हुन्। उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता राम जनम चौधरीलाई पराजित गरेकी हुन्। श्रेष्ठले ३० हजार ४०४ मत पाउँदा चौधरीले १८ हजार ८ मत मात्रै प्राप्त गरेका छन्। 

नेकपा एसकी एक्ली तर, पराजित उम्मेदवार 

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्री गुल्मी –२ बाट पराजित भएकी छन्। उनी नेकपा एमालेका सचिव गोकर्ण विष्टसँग पराजित भएकी हुन्।

उनले २६ हजार ४४१ मत पाउँदा विष्ट २८ हजार ४७६ मतसहित विजयी भए। नेकपा एसले एक जना मात्र महिला उम्मेदवारलाई टिकट दिएको थियो। तर, उनी पनि पराजित भएसँगै नेकपा एस प्रत्यक्षमा महिलाविहीन भएको छ। 

यी हुन् कांग्रेसबाट पराजित महिला उम्मेदवार 
१.महालक्ष्मी उपाध्याय(डिना) मकवानपुर – १ (२५४३४)
२. सुजाता कोइराला, मोरङ – २ (३१९४०)
३. पुष्पा भुसाल गौतम, अर्घाखाँची – १(४०९४५)
४. चित्रलेखा यादव, सिराहा – २(२३०२८)

एमालेबाट पराजित महिला उम्मेवार 
१. शान्ता चौधरी, दाङ – १ (२१४७९)
२.मन्जु शर्मा, बाग्लुङ – २ (२०१८०)
३. निरु देवी पाल, कञ्चनपुर – ३ (१८४८५)
४.गौरी कुमारी ओली, डोटी – १ (२३००४)
५. कोमल वली, दाङ – ३ (२९०३२)

माओवादीका पराजित उम्मेदवार
१. बीना मगर, कञ्चनपुर – १ (१९३४६)
२. कल्पना धमला, काठमाडौं – ९ (६४०२)
३. अन्जना विशंखे, काठमाडौं – १० (५२६५)
४. गोमा गौतम (कुँवर), जुम्ला – १ (११९५९)
५. मानुषी यमि भट्टराई (अस्मिता सिहं) काठमाडौं – ७ (६०६३)
६. ओनसरी घर्ती, काठमाडौं – २ (९४५९)
७. पम्फा भुसाल, ललितपुर – ३ (८७६९)

रास्वपाबाट पराजित उम्मेदवार 
१. माया गुरुङ्ग, सिन्धुपाल्चोक – २(२४५२)
२. समिक्षा श्रेष्ठ, रामेछाप – १ (१४५७)
३. तिला खत्री, बाग्लुङ – २ (२३२५)
४. मेनुका ठकुरी, सिन्धुली – १ (२६९२)
५. वसुमाया तामाङ, धादिङ – २ (५५५९)
६. जीता वराल, चितवन – ३ (१४७७९)
७. शोभा कार्की, ओखलढुंगा – १ (७१४)
८. खेम कुमारी भुर्तेल, महोत्तरी – १ (२०६४)
९.सन्जू सिंह विष्ट, कपिलवस्तु – १ (३३७६)

राप्रपाका पराजित उम्मेदवार 
१. लिली वुढाथोकी, दाङ – १ (१४३८)
२. नगीना कुमार झा, सिराहा – ४ (१०७३)
३. पुजा घिमिरे, महोत्तरी – १ (९७४)
४. कुन्ती देवी पोखरेल (उपाध्याय) काठमाडौं – २ (११०२४)
५. सविता शर्मा, कपिलवस्तु – २ (१५७४)
६. कुन्तीकुमारी शाही, दैलेख – १ (४६१२)
७. रेखा थापा, मोरङ – ३ (१०९९८)
८. लीला रावल, रोल्पा – १ (२५५६)

जनता समाजवादी पार्टीबाट पराजित महिला 
१. दुर्पता सोमै, पाल्पा – २ (११२)
२. शर्मिला सुवाल (डंगोल), काठमाडौं – ९ (७९२)
३. बुद्धि कुमारी गुरुङ्ग, कास्की – २ (३५७)
४.पासाङ थापा मगर, तनहुँ – १ (२५९)

लोसपा
१. प्रतिमा बुढा मगर, दाङ – १ (१३३)
२. लक्ष्मी रसाइली, नुवाकोट – १ (४७)
३. धन कुमारी सुनार, नुवाकोट – २ (९८)

नागरिक उन्मुक्ति पार्टी
१. टीकालक्ष्मी चौधरी, सप्तरी – १ (१३७८)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.