|

कपिलवस्तु : असफलता नै सफलताको प्रतीक हो। यो भनाइ आत्मसात गर्दै उम्मेदवारहरू प्रत्येक निर्वाचनमा होमिने गर्छन्। धेरै पटक पराजित उम्मेदवार पनि निर्वाचन आएपछि उम्मेदवार बन्न कसरत गरिरहेका हुन्छन्।

प्रदेशसभा र प्रतिनिधिसभाको नतिजा आउने क्रम छ। यसै निर्वाचनमा कपिलवस्तुका एक उम्मेदवारले आठौँपटकमा सफलता हात पारेका छन्।

पञ्चायतकालदेखि नै उम्मेदवार बनेर निर्वाचित हुन नसकेका कपिलवस्तुका पुराना नेता मंगल गुप्ता ७७ वर्षको उमेरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। तीन पटकसम्म लगातार सांसद बनेका अभिषेकप्रताप शाहलाई हराउँदै उनी सांसद बनेका छन्। कपिलवस्तु क्षेत्र नं. ३ बाट गुप्ताले काँग्रेसका अभिषेकप्रताप शाहलाई पराजित गरे । उनले २०‚८५२ मत पाए भने शाहले १७‚७८८ मत पाए।

हजुरबुवा बुवा र नातिसँग निर्वाचन लडेर पराजित भएका गुप्ताले अन्ततः जित हात पारेका छन्। २०३९ सालमा गुप्ता तत्कालीन जिल्ला पञ्चायत सभापतिमा पराजित भएका थिए। २०४३ मा राष्ट्रिय पञ्चायत सदस्यदेखि निर्वाचन लड्न थालेका गुप्ताले पटक पटक हार व्यहोरेका छन्।

२०४८, २०५१ र २०५६ मा काङ्ग्रेसबाट जिल्लाको तत्कालीन क्षेत्र नं. ४ बाट संसदीय निर्वाचन लडेका थिए । २०७० र २०७४ को चुनाव तमलोपा र मधेशी जनअधिकार फोरमबाट लडेका गुप्ता प्रतिद्वन्द्वी बनेर चित्त बुझाएका थिए।

‘निर्वाचनमा पटक पटक उम्मेदवार बने, जनताको काम गर्ने भएकाले सम्मानजनक जनमत मत पाउने गरेको थिएँ’‚ गुप्ता भन्छन्, ‘योपटक ठूलो दल एमालेबाट उम्मेदवार बनेँ र विजयी भएँ।’

गत निर्वाचनमा गुप्ताले अन्तिम पटक भनेर सङ्घीय समाजवादी पार्टीबाट उम्मेदवार भएका थिए। गुप्ताको निवास कृष्णनगर भए पनि परिवार भने अमेरिका बस्ने गर्छन्। २०२४ सालदेखि राजनीति शुरु गरेका गुप्ताले अहिलेसम्म चारवटा पार्टी परिवर्तन गरेका छन्।

अन्ततः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीका लगाएर प्रवेश गराएका गुप्ता सङ्घीय सांसद बनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.