|

हेटौंडा : मकवानपुरमा कमल थापा नेतृत्वको राप्रपा नेपालले समानुपातिकमा ५३६ मत प्राप्त गरेको छ।

थापाको पार्टीले उनको गृहजिल्लामा प्रतिनिधिसभातर्फको समानुपातिकमा ५३६ मत पाएको हो। भर्खरै मात्रै गठित रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २९ हजार ८८९ मत सहित तेस्रो हुँदा थापाको पार्टीले गृहजिल्लामा ५३६ मत मात्रै प्राप्त गरेको छ।

राप्रपा नेपालले तिर चिह्नमा क्षेत्र नम्बर–१ मा ४५५ र क्षेत्र नम्बर–२ मा ८१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। नेकपा एमालेको सूर्य चिह्नबाट मकवानपुर–१ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका थापा तेस्रो बन्दै पराजित भएका थिए। थापा राप्रपाका आफ्नै पूर्व सहकर्मी दीपक सिंहसँग पराजित भएका हुन्।

आफ्नो पार्टीको लागि कहीँ कतै मत नमागेका राप्रपा नेपालका अध्यक्ष थापाको पार्टीले गृहजिल्लामा नै लज्जास्पद मत पायो।

मकवानपुरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले प्रतिनिधिसभातर्फको समानुपातिकमा ३,८२७ मत मात्र प्राप्त गरेको छ। समानुपातिकतर्फको जिल्लाभरको मतगणनामा नेकपा समाजवादीको कलम चुनाव चिह्नमा दुईवटै प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा गरी ३,८२७ मत प्राप्त गरेको हो।

नेकपा समाजवादीले मकवानपुर प्रतिनिधिसभा तर्फको क्षेत्र नम्बर–१ का समानुपातिकको मतगणनामा १,२४७ मत प्राप्त गर्दा क्षेत्र नम्बर–२ मा भने २,५८० मत प्राप्त गरेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार गणना भएको १,७७,८५८ मतमा नेकपा एमाले पहिलो दल बनेको छ।

एमालेले क्षेत्र नम्बर १ बाट २२,६११ र २ बाट २८,१९६ गरी कुल ५०,८०७ मत प्राप्त गरेको छ। नेपाली कांग्रेस ३६,२६४ मतसहित दोस्रो दल बनेको छ भने रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २९,८८९ मत सहित तेस्रो भएको छ। त्यस्तै नेकपा माओवादी केन्द्र २६,१३३ मतसहित चौथो बन्दा राष्ट्रिय प्रजातन्त्र पार्टी १६,७७१ मतसहित पाँचौँ स्थानमा रहेको छ।

खसेको मतमध्ये १,७०,१६६ सदर हुँदा ७,६९९ मत बदर भएको जिल्लाको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ। प्रत्यक्षतर्फ दुई प्रतिनिधिसभा रहेको जिल्लामा एमाले र राप्रपाले एक/एक स्थानमा जितेका छन्।

प्रदेशसभामा माओवादी केन्द्रले दुई स्थानमा बाजी मार्दा एमाले र कांग्रेस एक–एक स्थानमा विजयी भएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.