|

पर्वत : २०७४ सालको निर्वाचनमा चितवनबाट चुनावमा होमिएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यस पटक गोरखाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ बाट उठे।

उनी चुनाव लड्न गोरखा जाँदा जति चर्चा भयो त्यस्तै अर्को चर्चा पनि देशभर भयो। उमेरले सय वर्ष पार गरेका टीकादत्त पोखरेल नेपाली काँग्रेस (वीपी) बाट प्रचण्डका विरुद्धमा लड्नु।

उमेरले एक शताब्दी पार गरेर पनि प्रतिनिधिसभामा लड्नु र त्यसमा पनि ‘प्रचण्ड’ सँग भिड्नुका कारण मिडियामा उनको जति चर्चा भयो उनको मत परिणामले उनलाई फेरि पनि चर्चामा ल्याएको छ।

किनकि गोरखा–२ बाट प्रतिनिधिसभामा भिडेका १० जनामध्ये बढी मत पाएकाहरूको ‘लिस्ट’ मा उनको नाम नवौँ स्थानमा रहेको छ। पोखरेलले १० जनामध्ये एकजना उम्मेदवारलाई मात्र जितेका छन्।

मतका आधारमा १० औँ स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कुलबहादुर बस्नेतले १०९ मत प्राप्त गर्दा पोखरेलले आफ्नो उमेर भन्दा ३० मत बढी अर्थात् १३० मत पाएका छन्।

‘प्रचण्ड’ सँग भिडेर चर्चामा आए पनि उनको मत परिणामले भने उनको जमानत जफत हुने अवस्था आएको छ। उक्त क्षेत्रमा ५४ हजार ४४ मत खसेकोमा ५० हजार ९१८ मत सदर र ३ हजार १२६ मत बदर भएको छ।

उम्मेदवारले आफ्नो धरौटी जोगाउन सदर मतको १० प्रतिशत मत पाउनुपर्ने मापदण्ड छ। यसअनुसार गोरखा–२ मा ५ हजार २० भन्दा थोरै मत प्राप्त गरेको भए धरौटी जफत हुन्छ।

प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गर्ने उम्मेदवारले धरौटी स्वरूप १० हजार रूपैयाँ निर्वाचन आयोगमा बुझाएका छन्।

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँका पोखरेल नेपाली सेनाको जागिर त्यागेर २००४ सालमा मुक्ति सेनामा भर्ती भई राणा शासन अन्त्यका लागि लडाइ गरेका व्यक्ति हुन्।

अहिलेका नेताहरूमा मातृभूमिप्रति कुनै जिम्मेवारी बोध नभएको तर्क गर्ने उनले देश लुटेर आफूले कमाएका, शहीदको सपना लत्याएका, सबै काम विदेशीको इशारामा गरेका लगायतका समस्या अहिलेका नेताहरूमा रहेकाले उनीहरूलाई परास्त गर्न आफूले उम्मेदवारी दिएको पोखरेल बताउँछन्।

थाहाखबरसँग कुराकानीमा उनले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे आए पनि सिंहदरबारको ढोका जनताका लागि सधैँ बन्दको बन्द नै रहेकाले त्यसलाई खुलाउनुपर्छ भनेर आफू उमेरको प्रवाह नगरी चुनावमा होमिएको बताएका थिए।

टीकादत्त जस्तै अन्य ६ जना उम्मेदवारहरूको पनि धरौटी जफत हुनेछ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशील पन्तले १ हजार ८१३, मंगोल नेशनल अर्गनाइजेशनका सोमबहादुर गुरुङले १ हजार १६४, स्वतन्त्र गणेश देवकोटाले ६४८, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी) का नारायणबाबु आचार्यले ५२९, हाम्रो नेपाली पार्टीका प्रकाश थापाले २४६ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कुलबहादुर बस्नेतले १०९ मत पाएका छन्।

यो क्षेत्रमा लडेका १० जना उम्मेदवारहरूमध्ये ३ जनाको मात्रै धरौटी सुरक्षित भएको छ। उनीहरू नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेको दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी र नेकपा (एमाले) का अब्दुस मिया रहेका छन्।

दाहालले २६ हजार १०९, बुर्लाकोटीले १२ हजार ६३९ र मियाले ७ हजार ३९६ मत पाएका छन्। ‘प्रचण्ड’ र मियाकाबीच प्रतिस्पर्धा हुन सक्ने भनिएको यो क्षेत्रमा दोस्रो स्थान भो राष्ट्रिय स्वतन्त्र पार्टीले बनाएको छ।

निकटतम प्रतिद्वान्द्वीले पाएको भन्दा दोब्बरभन्दा बढी मत प्राप्त गर्दै ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.