१० घातक रोगका लागि १० लाख दिने

|

काठमाडौं : योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा अतिरिक्त सेवा सुविधा थप गरिएको छ। कोषको कार्यविधि परिमार्जन गरी सामाजिक सुरक्षाकोषमा योगदानकर्ताले पाइरहेको सेवासुविधा थप गरी १० घातक रोगको उपचारमा १० लाख  दिने व्यवस्था गरेका हो। 

आइतबार सामाजिक सुरक्षा स्थापना दिवसको अवसरमा एक कार्यक्रम आयोजना गर्दै  कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले विगतका सेवा सुविधा थप गरिएको जानकारी दिए। सामाजिक योगदानमा आधारित सुरक्षाकोषमा श्रीमान्‌ले याेगदान गर्दा श्रीमतीले पनि श्रीमान् सरह उपचार खर्च पाउने व्यवस्था गरिएको छ। यस्तै सुरक्षाकोषको औपचारिक क्षेत्रको तेस्रो संशोधनमार्फत थप श्रमिकमैत्री बनाउने गरी कोष अगाडि बढेको निर्देशक ज्ञवालीले जानकारी दिए।

सामाजिक सुरक्षाकोषको औपचारिक क्षेत्रको तेस्रो संशोधनमार्फत थप श्रमिकमैत्री बनाएर अगाडि बढाउको कोषले जनाएको छ। पौष ५ गतेपछि श्रीमान्‌ले सामाजिक योगदानमा आधारित सुरक्षाकोषमा योगदान गर्दा उसकी श्रीमतीले श्रीमान् सरह उपचार खर्च पाउने व्यवस्था गर्ने भएको छ।

निर्देशक ज्ञवालीले भने, ‘श्रीमतीले कोषमा योगदान गर्दा श्रीमान्‌ले पनि सुविधा पाउने व्यवस्था गरेको छ। त्यस्तै कोषमा योगदान गर्नेलाई कोषले दिने सुविधाको अतिरिक्त विभिन्न १० वटा घातक रोग लागेमा त्यसमा १० लाखसम्मको औषधि उपचारको अतिरिक्त व्यवस्था गर्ने तयारी भएको छ।’ वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको दुर्घटना खर्च, अशक्त आश्रित परिवारका लागि सुरक्षा योजना स्वीकृतको चरणमा रहेको बताए। 

१३ लाखभन्दा बढी आबद्ध गर्ने योजना बनाएको थियो तर हालसम्म ३ लाख ७३ हजार १११ श्रमिकमात्र सूचीकृत भएको सामाजिक सुरक्षाकोषले जनाएको छ। यसरी हेर्दा वर्षमा १ लाख व्यक्तिलाई पनि कोषमा आबद्ध गर्न सकिएको छैन। कोषका अनुसार अहिलेसम्म योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा श्रमिक तथा कर्मचारीको २५ अर्ब ५७ करोड संकलन भएको छ। यस्तै २ अर्ब ५७ करोड बराबरको सामाजिक सुरक्षा रकम लाभग्राहीलाई भुक्तानी गरिएको छ।

वर्षेनि थपिँदै नयाँ योजना, फितलो कार्यान्वयन 

सरकारले ११ मंसिर २०७५ मा योगदानमा आधारित सामाजिक सुरक्षाकोषको कार्यक्रम घोषणा गरेको थियो। त्यसयता दर्जनभन्दा धेरै श्रमिक र रोजगारदाता मैत्री योजना ल्याएको कोषले जनाएको छ। कोषले पहिलो चरणमा विभिन्न क्षेत्रमा काम गर्ने श्रमिक र रोजगारदाता कम्पनीलाई सूचीकृत गर्दै योगदानकर्ताका हकमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा गरी चार किसिमका सुविधा दिएको थियो। योगदान कर्ताको चाहनानुसार केही नयाँ योजना वर्षेनि थप्दै आएको कोषले जनाएको छ तर कार्यान्वयनको पाटो भने फितलो देखिएको छ। 

२०७७।०७८ मा १ करोडसम्म घरजग्गा कर्जा, ३५ लाखसम्म शैक्षिक कर्जा,२५ लाखसम्मको सामाजिक कर्जा, बेरोजगार सुरक्षा योजना र धितोको मूल्याङ्कन गरी अधिकतम ७० प्रतिशतसम्म कर्जा दिने नयाँ सुविधा थपेको थियो तर उक्त योजना कार्यान्वयन हुन सकेन। 

त्यसैगरी गत आर्थिक वर्षमा  दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, स्वरोजगार वा शेयर बजारका लगानीकर्ता कोषमा सहभागी हुन पाउने, सामाजिक सुरक्षाकोषमा दर्ता नभए श्रमिकले (मृत्यु, दुर्घटना र बिरामी भए) कोषको ऐनमा व्यवस्था भए अनुसार सुविधा रोजगारदाता कम्पनीले भुक्तानी सिधै दिनुपर्ने र बचत योजनाको रकम दुई दुई वर्षमा निकाल्न पाउने जस्ता महत्त्वपूर्ण योजना ल्याएको थियो। उक्त योजना पनि अलमलमा परेको छ।

सापटी योजना 

सामाजिक सुरक्षाकोषले योगदानकर्ता सापटी निर्देशिका २०७९ पनि जारी गरिसकेको छ। कोषले सापटी योजनाअन्तर्गत चार प्रकारका सापटी योजना अगाडि बढाएको थियो। घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र विशेष सापटी योजना शुरु गरेको छ। १ भदौदेखि उक्त योजना सञ्चालनमा ल्याइएको थियो।

कोषले योगदानमा आधारित सामाजिक सुरक्षाकोषको दायरा बढाउने काम भइरहेको बताउँदै उनले अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरूका निम्ति सामाजिक सुरक्षा योजना नीति मन्त्रालयमा पठाएको जानकारी गराए। कार्यविधि बनाएर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पठाइएको कोषले जनाएको छ। 

मन्त्रालयले नीति स्वीकृत भएपछि अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरू पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउनेछन्। ११ मंसिर ०७५ मा सामाजिक सुरक्षा योजनाहरूको औपचारिक शुभारम्भ र ०७६ साल साउन १ गतेदेखि योगदान रकम संकलन शुरु गरियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.