|

रुकुम (पूर्व) : पुथाउत्तरगङ्गा–१ मैकोटका ४४ वर्षीय सुरुल पुन मगर (अजयशक्ति) १७ वर्षको उमेरमै माओवादी लडाकु बने। ३० वर्षअघि समाज परिवर्तन गर्न सशस्त्र विद्रोहमा सहभागी उनी रुकुमपूर्व प्रदेशसभा (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भए।

प्रदेशसभा (क) मा पार्टीका आधिकारिक उम्मेदवार माओवादी केन्द्रका पोलिट ब्युरो सदस्यसमेत रहेका निवर्तमान प्रदेशसभा सदस्य तेजबहादुर ओलीविरुद्ध माओवादी पार्टीकै लुम्बिनी प्रदेश समिति सदस्य पुन मगरले बागी उम्मेदवारी दिएका थिए।

माओवादी केन्द्रबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका पुन मगरले जित हासिल गरेका छन्।

‘उत्पीडित समुदाय। राज्यको नजरबाट उपेक्षामा पारिएका जनताका निम्ति देशमा १० वर्षे सशस्त्र युद्ध चल्यो‚ ’ स्वतन्त्र उम्मेदवारी दिनुको कारण यसरी सुनाउँछन् पुन मगर‚ ‘साँच्चीकै त्यस वेला राज्यसँग लड्दा उपेक्षामा पारिका क्षेत्र, समुदायका मुख्य मुद्दा थियो। राज्यको नजरदेखि टाढा रहेका समुदाय माओवादी पार्टीले सञ्चालन गरेको सशस्त्र युद्धमा ज्यानको बाजी राखेर होमिए। उत्पीडित जनता र राज्यले पछि पारिएका समुदायकै हक, हितका निम्ति लड्ने माओवादीको मुख्य मुद्दा थियो।’

तर संसदीय राजनीतिमा प्रवेश गरेदेखि सशस्त्र युद्धताका उठाएको उत्पीडित जनताका मुद्दा माओवादी नेतृत्व पंक्तिले ओझेलमा पार्दै गएकै कारण पार्टी टुटफुटको चरण शुरु भएको उनको भनाइ छ।

उनले भने‚ ‘त्यस वेला माओवादीले राज्यसँग गरेको युद्ध खास गरी दुर्गम समुदायका जनताका बलमा लड्यो। युद्धमा बन्दुक बोकेर उत्पीडित जनतालाई अघि सारियो र उनीहरू नयाँ नेपाल निर्माणका लागि लडिरहे। ०५२ सालदेखि ०६२ सम्म उनीहरूलाई बन्दुकका साथ राज्यसँग भिड्न अघि सारियो। ०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरी १० वर्षभन्दा लामो गृहयुद्धलाई अन्त्य गरेको घोषणा गरियो। ०६४ सालमा निर्वाचन भयो। विद्रोही माओवादी पनि संसदीय राजनीतिमा प्रवेश गर्‍यो।’

सशस्त्र युद्धका समयमा बन्दुक बोकाएर अघि सारिएका योद्धाहरूलाई पछि पार्दै पार्टी व्यक्तिकेन्द्रित हुँदै गएको र पार्टीका तल्लो तहका कार्यकर्ताबाट आवाज उठ्न थाले पनि पार्टीको नेतृत्व पंक्तिले कहिले पनि नसुनेको उनको भनाइ छ। 

‘पार्टीले पटक–पटक अन्याय गरिराख्यो मैले पार्टीको निर्देशनअनुसार पार्टीमा इमान्दारीपूर्वक काम गरिराखेँ‚’ पुन मगरले भने‚ ’तर, कहिलेसम्म पार्टीको अन्याय सहने? मेरो समुदाय र उत्पीडित जनताका लागि लडेको पार्टीले जनताका मुद्दा ओझेलमा पार्दै गएपछि म बाध्य भएर पार्टीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार हुन पुगेँ।’

तर जनताले न्याय गरेको र यसलाई सदैव आत्मसात गर्दै युद्धकालकै खटाइमा जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता उनले जनाए। उनले भने‚ ‘पार्टीको अन्यायपूर्ण व्यवहारलाई उत्पीडित समुदायले न्याय दिनु भएको छ।’

०५२ सालपछि ‘जनमुक्ति सेना’ को सैन्य प्लाटुन सदस्य बनेर काम गरेका पुन मगरसँग पूर्व–पश्चिमका विभिन्न स्थानमा भएका साना–ठूला आक्रमणमा सहभागी भएका द्वन्द्वका तीतामीठा अनुभूति छन्।

चुनावअघि माओवादी लुम्बिनी प्रदेश सदस्य रहेका पुनसहित उनका समर्थक नेता तथा कार्यकर्तालाई पार्टीले कारबाही गरिसकेको छ, अहिले उनी स्वतन्त्र हैसियतमा छन्।

आगामी राजनीतिक यात्रा के–कसरी अगाडि बढ्छ, त्यसबारे उनी अहिले नै केही भनिहाल्ने पक्षमा छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.