|

काठमाडाैं : नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) चौथो दिनमा आइपुगेको छ।

चौथो दिन सोमबारदेखि  प्यानल डिस्कशन पनि शुरु हुँदैछ। नेपालका दुई नाटकको मञ्चन र कार्यशाला महोत्सवमा हुनेछ।

‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’को रुपमा मनाइरहेको महोत्सवमा सोमबार ‘काठमाडौंले छेकेको नेपाली रङ्गमञ्चको दुःखः मञ्च, दर्शक कि नाटक’ विषयक प्यानल डिस्कशन हुँदैछ।

साँझ साढे ७ बजे हुने कार्यक्रममा रङ्गकर्मीहरू पोखरा थिएटरका परिवर्तन, कलालय इटहरीका सोनु जयन्ती, बुटवलबाट सुरेश सापकोटा, कर्णाली आर्ट सेन्टरका हिरा बिजुली नेपालीसँग कदम थिएटर दमकका सिजन दाहालले अन्तरक्रिया गर्ने छन्।

दुई नेपाली नाटक

गत साउनमा मञ्चन भएकाे नेपाली नाटक ‘खुवालुङः ढुंगाको बाटो’ साेमबार नै मञ्चन हुँदैछ। साहित्यकार राजन मुकारुङद्वारा लिखित तथा किरण चामलिङ राईद्वारा निर्देशित यो नाटक मध्यान्ह १२ र दिउँसो ४ बजे मञ्चन हुनेछ।

‘खुवालुङ’ले किराती सभ्यताको इतिहासको रुपमा सदियौंदेखि सप्तकोशीको बीचमा उभिएको ढुंगाको कथाबारे बताउँछ साथै ढुंगाको मिथक बताउँदै गर्दा, सिंगो किराती समुदायको भावना नबुझी यसलाई यसलाई फुटाउने धम्की दिने सरकारको आलोचना गर्दछ।​

साँझ ६ बजे नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’ मञ्चन हुनेछ। जसलाई केदारनाथ पौडेलले लेखन तथा निर्देशन गरेका छन्।

रंगमञ्चमा हृदय र मस्तिष्कबीचको विरोधाभाषसँगै अस्तित्वसम्बन्धी प्रश्नहरू आउन थाल्नेछन्। यी प्रश्नहरूसँगै दर्शकहरूले आफ्नो अनुभवको आधारमा आफूभित्रको विचारहरूलाई फर्केर हेर्ने र त्यसबारे एकदमै स–साना विवरणहरू सम्झने प्रयास यस नाटकले गराउनेछ।

विशेष कार्यशाला

सोमबार २ बजेदेखि एक विशेष कार्यशाला पनि हुँदैछ। ‘अपाङ्गता भएका दर्शकका लागि रङ्गमञ्च कसरी पहुँचयोग्य बनाउने’ भन्ने विषयक कार्यशाला हुन लागेको हो।

रङ्गमञ्चलाई अझै समावेशी बनाउन कार्यशाला विशेष रहनेछ। ‘कार्डबोर्ड र रङ्गमञ्च’को विषयमा अर्को कार्यशाला पनि हुँदैछ।

आइतबार अमेरिका/भुटानको एकल नाटक ‘थ्री कन्ट्रीः वन मदर’, रुसको पपेट नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन भएको थियो।

क्याटी बेक निर्देशित अंग्रेजी भाषाको ‘थ्री कन्ट्रीः वन मदर’ लाई नीमा बल, क्याटी बेक, बेन्जामिन रेक्सरोडले लेखेका हुन्।

सन् १९९० देखि २००० को बीचमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपश्चात, शरणार्थीको रुपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी मानिसहरूको इतिहास दर्शाउने सत्यघटनामा आधारित कथा प्रस्तुत भएको थियो।

कोन्द्रातोएभा क्रिस्टिना लिखित तथा सुखोरुकोभा तातियाना निर्देशित रुसी पपेट नाटक ‘द म्याजिक स्वान–गिज’मा अभिभावकहरू आफ्ना नानीबाबुका साथ नाटक हेर्न नाटकघर आइपुगेका थिए।

नाटकले अभिभावक र बालबालिकाबीचको सम्बन्धलाई उन्दै दिदीभाइको कथालाई लोक शैलीमा प्रस्तुत गरेको थियो।

नेपालको तर्फबाट रसिक राजको पर्फमेन्स आर्ट ‘अवशेष’ पनि आइतबार नै प्रस्तुत भएको थियो। जसमा अन्शु खनाल, प्रभात तिमिल्सिना र सुरज पराजुलीको प्रस्तुति रहेको थियो।

मंसिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरू समावेश छन्। महोत्सवमा १८ नाटकको २५ मञ्चन हुँदैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.