|

काठमाडौं : मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा होमिएका करिब २५ जना चिकित्सकमध्ये चार जना मात्रै निर्वाचनमा विजयी भएका छन्। पछिल्लो प्राप्त परिणामअनुसार डा शुनिल शर्मा, डा तोसिमा कार्की, डा शेखर कोइराला र डा सशांक कोइराला मात्र विजयी भएका हुन्। शर्मा र कार्की पहिलोपटक संसद यात्रा गर्दैछन् भने दुवै कोइराला पुरानै अनुहार हुन्। 

नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक समेत रहेका डा शर्माले मोरङ–३ बाट विजयी भएका हुन्। उनले नेकपा एमालेका नेता एवं पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई करिब दोब्बर बढी मतले पराजित गरेका हुन्। 

शर्माले ४८ हजार ६३१ मत ल्याउँदा ढकालले २५ हजार ८९५ मत प्राप्त गरे। सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका उनलाई नेपाली कांग्रेसले टिकट दिएको थियो। शर्माले पहिलोपटक संसदको यात्रा गर्दैछन्। 

यस्तै  राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर–३ बाट विजयी भएकी छन्। उनले सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै विजयी भएकी हुन्। पेशाले शल्य चिकित्सक रहेकी डा कार्की पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट राजीनामा दिएर  निर्वाचनमा होमिएकी थिइन्। डा कार्कीले ३१ हजार १३६ मत ल्याएर जित हाँसिल गर्दा नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत प्राप्त गरेका थिए भने गठबन्धनबाट साझा उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी नेतृ एवं उर्जामन्त्री पम्फा भुसालले ८ हजार ७६९ मत ल्याएकी थिइन्। 

यस्तै चिकित्सा पृष्ठभूमिबाट राजनीतिमा होमिएका नेपाली कांग्रेसका दुई जना नेताले पनि चुनाव जितेका छन्। कांग्रेसका नेताद्वय डा शेखर कोइराला र डा शशांक कोइराला क्रमशः मोरङ–६ र नवलपरासी पूर्व १  बाट निर्वाचित भएका हुन्।

डा. शेखर ३५ हजार २१८ मतसहित पराजित भए। उनले नेकपा एमालेका लालबाबु पण्डितलाई पराजित गरेका हुन्। पण्डितले २२ हजार ९३२ मत ल्याए। डा. शशांक कोइराला २७ हजार एक सय २६ मतसहित विजयी भएका छन्। उनले  नेकपा (एमाले) का कृष्णप्रसाद पौडेललाई पराजित गरेका हुन्। पौडेलले २५ हजार ४४ मत प्राप्त गरे। चिकित्सा पेशा छाडेर लामो समय देखि राजनीतिमा होमिएको भए पनि डा शेखर र डा शशांक दुवै जना चिकित्सा पेशा पृष्ठभूमी भएका नेता हुन्।

पराजित चिकित्सक

नेकपा माओवादी केन्द्रबाट पाँचदलीय गठबन्धनका साझा उम्मेदवार डा भोजराज अधिकारीले पराजय भोगेका छन्। भरतपुर अस्पताल विकास समितिको अध्यक्ष समेत रहेका उनले राजीनामा दिएर निर्वाचनमा होमिएका थिए। तर, उनी  चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेसंग पराजित भएका हुन्। पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा अधिकारीले २५ हजार ८२२ मत ल्याएका थिए।

निर्वाचनमा पराजित भए संगै उनी पुनः नियमित बिरामीको सेवामा खटिसकेमा छन। भरतपुर अस्पतालबाट राजीनामा दिएपछि हाल उनी भरतपुरमानै रहेको पुष्पान्जली अस्पतालबाट विरामी हेर्न थालेको समेत डा अधिकारीले बताए। ‘ निर्वाचन पराजितलाई मैले स्वभाविक रुपमा लिएको छु र पुनः म हिजोदेखि बिरामीहरुको सेवामा समेत लागि सकेको छु,’ डा अधिकारीले भने। 

काठमाडौं–५ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेका डा रामप्रसाद उप्रेती पनि पराजित भएका छन्। डा उप्रेतीले तीन हजार १६२ मत ल्याएका छन्। उनी त्रिवि शिक्षण अस्पतालबाट अवकाश प्राप्त चिकित्सक हुन्। काठमाडौं–४ मा हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका डा अर्चन शम्शेर राणा पनि पराजित भएका छन्।

काठमाडौं क्षेत्र नम्बर ४ मा हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका डा अर्चन शम्शेर राणा पराजित भएका छन्। उनले एक हजार २१४ मत ल्याएका छन्। साथै ललितपुर–२ बाट चुनावमा होमिएका डा सुविन शाक्य पराजित भएका छन्।  हाम्रो नेपाली पार्टीबाट मैदानमा होमिएका उनले ८ हजार ८८६ मत ल्याए। उक्त क्षेत्रमा नेकपा एमालेका प्रेमबहादुर महर्जन विजयी भएका हुन्। सप्तरी–३ बाट चुनावी मैदानमा होमिएका डा नविन मण्डल पनि पराजित भएका छन्।

रौतहट–२ मा नेपाली कांग्रेसबाट टिकट पाएका डा फिर्दोस आलम पराजित भएका छन्। साथै चिकित्सकिय पेशा छाडेर पाँच वर्षअघि मात्र संसदमा आएका डा सुरेन्द्र यादव महोत्तरी ४ बाट पराजित भए। पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत रहेका यादव जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका थिए। उनी २१ हजार २९६ मत पाए। यस्तै बारा–१ बाट राकेश न्यौपाने, सुनसरी–२ बाट डा फरेन्द्र शाह र सप्तरी १ बाट डा रोहित पोखरेल पनि पराजित भएका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.