|

काठमाडौं : पाँचथरमा प्रतिनिधिसभा सदस्य निर्वाचन जितेपछि एमालेका वसन्तकुमार नेम्वाङ विजयी जुलुस मनाउन हिँडे। प्रत्यक्षको मतगणना सकेर जब समानुपातिकको बाक्सा खोल्न थालियो अनि धमाधम प्रत्यक्षको मतपत्र भेटिएपछि विजय जुलुस रोकियो।

कारण का‌ंग्रेसका उम्मेदवार भीष्मराज आङ्दाम्बे मात्रै ४७ मतले पछि थिए। ​नेम्वाङले ३२ हजार १ सय १० मत ल्याउँदा आङदेम्बेले ३२ हजार ६३ मत प्राप्त गरे।

पाँचथरका मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले समानुपातिकको बाकसमा प्रत्यक्षको मतपत्र भेटिएकाले अन्तिम नतिजा घोषणा हुन नसकेको बताए।

उनले समानुपातिकको मतगणना कार्य सकिएपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गर्ने र विजयी उम्मेदवारलाई प्रमाणपत्र दिने कार्य गरिने जानकारी दिए। 

‘समानुपातिकमा प्रत्यक्षको मतपत्र भेटियो। त्यसलाई जोडेर मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेका छौं। अहिलेसम्म समानुपातिकको बाक्सामा प्रत्यक्षका ३३ वटा मतपत्र भेटिएका छन्। अझै ५०-६०  वटा बाकस गन्न बाँकी छ,’ उनले थाहाखबरसँग भने। 

चुनाव जितेपनि नाम चढेन

निर्वाचन आयोगले विजयी भएर प्रमाणपत्र बुझिसकेका चार जना सांसदलाई अझै निर्वाचित बनाएको छैन। आयोगले आफ्नो वेबसाइटमा विजयी उम्मेदवारहरूलाई निर्वाचित भनेर उल्लेख नगरेको हो।

दाङ–२ बाट निर्वाचित नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मा, कैलाली १ बाट निर्वाचन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, कैलाली ३ बाट नागरिक उन्मुक्तीका गंगाराम चौधरी र कैलाली–४ बाट नेपाली कांग्रेसका वीरबहादुर बलायरको नाम आयोगले निर्वाचित भनेर उल्लेख गरेको छैन। 

दाङ–२ का प्रमुख निर्वाचन आयुक्त कृपासुर कार्कीले उक्त क्षेत्रको प्रत्यक्ष र समानुपातिकको मतगणना कार्य सम्पन्न गरेर निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गरिएको जानकारी दिए।

शर्माले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई १९३ मतान्तरले पराजित गरेकी हुन्। शर्माले २६ हजार ८८० मत प्राप्त गरेकी छन्। पोखरेलले २६ हजार ६८७ मत प्राप्त गरेका हुन्। शर्मा मंसिर ८ गते नै निर्वाचित भएकी हुन्। तर, पाँच दिन वित्न लाग्दा पनि हालसम्म आयोगको वेबसाइटमा निर्वाचित भएको नाम उल्लेख छैन। 

यस्तै कैलाली १ का प्रमुख निर्वाचन आयुक्त राजेन्द्रसिहं भण्डारीले आइतबार नै समानुपातिक र प्रत्यक्षको मतगणना सकेको जानकारी दिए। उनले मतगणनाको अन्तिम परिणाम आयोगलाई बुझाइएको बताए। 

कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ ३० हजार ४०४ मतसहित निर्वाचित भएकी छन्। श्रेष्ठले सत्तारूढ गठबन्धनका साझा उम्मेदवार एवं कांग्रेसका नेता रामजनम चौधरीलाई पराजित गरेकी हुन्। चौधरीले १८ हजार ८१ मत पाए।

रञ्जिता श्रेष्ठ मंसिर ८ गते नै विजयी भएकी हुन्। तर, हालसम्म आयोगको वेबसाइटमा निर्वाचित भएको उल्लेख गरिएको छैन। 

यस्तै कैलाली –३ का प्रमुख निर्वाचन आयुक्त लक्ष्मीनारायण दाहालले पनि मतगणना कार्य सकेर निर्वाचित प्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण गरिएको जनाकारी दिए। चौधरीले २३ हजार १२० मत ल्याएर विजयी भएका छन्।

उनका प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार कृष्णकुमार चौधरीले १७ हजार ४४९ मत ल्याएका थिए। गंगाराम चौधरी  मंसिर ६ गते नै विजयी भएका हुन्। तर, एक सातासम्म आयोगको वेबसाइटमा उनलाई निर्वाचित भएको भनेको छैन।

कैलाली–४ का प्रमुख निर्वाचन अधिकृत इन्द्रबहादुर कठायतले निर्वाचित प्रतिनिधिहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको जानकारी दिए।

उनले प्रत्यक्षसहित समानुपातिकको मतगणना सकिएकोसमेत जनाए। बलायरले नेकपा एमालेका लेखराज भट्टलाई पराजित गरेका हुन्। बलायरले २६ हजार १७१ मत पाउँदा भट्टले २२ हजार ५८७ मत पाए।

बलायर  मंसिर ७ गते विजयी भएका हुन्। तर, हालसम्म आयोगको वेबसाइटमा निर्वाचित भएको नाम उल्लेख छैन। विजयी भइसकेका ४ उम्मेदवारको नाम आयोगले सोमबार साँझ ५ बजेसम्म पनि वेबसाइटमा अग्रतामा राखेको छ। 

निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले कर्मचारीको संख्या कम भएकाले अपडेट गर्न बाँकी रहेको हुनसक्ने भन्दै अनभिज्ञता प्रकट गरेका छन्।  तर सुनसरी १ मा गएराति गणना सकिएलगत्तै आयोगले निर्वाचित भएको जनाएको थियो।

‘हामी तपाईंहरु (मिडिया) जस्तो छिटो छैनौं नि! अपडेट गर्न ढिला भएको होला म बुझ्छु,’ पौडेलले प्रतिक्रिया दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.