|

काठमाडौं : यो पटकको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनले नेपाली कला क्षेत्रलाई पनि राम्रैसँग प्रभाव पार्‍यो। केही कलाकारले उम्मेदवारी नै दिए भने केही खुलेर विभिन्न पार्टीको समर्थनमा उत्रिए। केहीले भने कुनै निश्चिन पार्टी या उम्मेदवारको समर्थन नगरे पनि विभिन्न माध्यमबाट निर्वाचनमा आफ्नो मतको सदुपयोग गर्न आग्रह गरे। 

यो पटकको निर्वाचनमा ६ कलाकारले प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका थिए। तर कसैले पनि  जित हात पार्न सकेनन्। प्रदेश सभातर्फ उम्मेदवारी दिएका एक कलाकारले भने जित हासिल गरे।

रेखा थापा
मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएकी अभिनेत्री रेखा थापा तस्रो नम्बरमा पुगिन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएकी उनले १० हजार ९९८ मत ल्याइन्। उनको क्षेत्रबाट नेपाली कांग्रेसका डा. सुनीलकुमार शर्मा ४८ हजार ६३१ मत ल्याउँदै विजयी हुँदा नेकपा एमालेका भानुभक्त ढकाल दोस्रो भए। ढकालले २५ हजार ८९५ मत ल्याए। 

चुनावको परिणामपछि रेखाले आफू लामो यात्राका लागि राजनीतिमा आएको र पहिलो चुनावमा जित अथवा हारले मात्रै अर्थ नराख्ने बताएकी छिन्। जनताको आवाज लिएर संसदमा जान नपाए पनि आफू सधैँ उनीहरूको आवाज बनेर रहने उनको भनाइ छ। 

हिमेश पन्त
कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हिमेश पन्तले धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका थिए। राष्ट्रिय स्वन्त्र पार्टीका तर्फबाट चुनावमा उठेका उनले १२ हजार ४९४ मत ल्याएर तेस्रो भए। यो निर्वाचन क्षेत्रबाट विजयी एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डेले ३६ हजार १८ मत ल्याए भने नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले २७ हजार ९९७ मत पाए। 

यो निर्वाचनको नतिजा आफ्नो पक्षमा नआए पनि आफ्नो राजनीतिक यात्रा भने कायमै रहने हिमेशले जनाएका छन्। आफ्ना मतदातालाई धन्यवाद दिँदै उनल आफूप्रतिको विश्वास अझ फराकिलो पार्ने बताए। 

कोमल वली 
नेकपा एमालेबाट दाङ क्षेत्र नम्बर ३ मा उठेकी गायिका कोमल वली पनि पराजित भइन्। यहाँ नेपाली कांग्रेसका दीपक गिरी निर्वाचित भए। गिरीले ३६ हजार ९११ मत पाउँदा वलीले २९ हजार ९२ मत ल्याइन्।  

सञ्जय श्रेष्ठ
काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी दिएका गायक सञ्जय श्रेष्ठले ५७७ मत ल्याए। लामो समय राप्रपामा सक्रिय रूपमा लागेका आफूलाई पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। 

यो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भए। खनाल १४ हजार २२१ मत ल्याउँदै विजयी हुँदा नेकपा एमालेका सर्वेन्द्र खनाल दोस्रो तथा नेपाली कांग्रेसका भीसेनदास प्रधान तेस्रो भए। 

मनोज पण्डित
काभ्रे २ बाट स्वतन्त्र उम्मेदवारी दिएका निर्देशक मनोज पण्डितले १७३ मत मात्रै ल्याउन सके। नेकपा एमालेका गोकुल बास्कोटाले ७० करोड भ्रष्टाचार गरेको प्रसंगमा दिएको अभिव्यक्तिका कारण उनकै क्षेत्रबाट उम्मेदवारी दिएको बताउने पण्डित छैटौँ स्थानमा आएका छन्। 

यो क्षेत्रमा बास्कोटा निर्वाचित भए। बास्कोटा ४५ हजार ३४५ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाइँ ३९ हजार ४८२ मतसहित दोस्रो भए। निर्वाचनको परिणामसँगै पण्डितले आफूले पाएको १७३ मतको कदर गर्ने र लाेकतान्त्रिक प्रणालीलाई शक्तिशाली बनाउन लागिपर्ने बताए। 

मधुसुदन पाठक
हाम्रो नेपाली पार्टीबाट काठमाडौं ५ मा उम्मेदवारी दिएका मधुसुदन पाठक (सितेबा) ले जम्मा ३६४ मत पाए। हाँस्य टेलिशृंखला ‘सक्किगो नि’का कलाकार पाठक यो क्षेत्रमा मत पाउने उम्मेदवारमा दशौँ नम्बरमा परे। 

काठमाडौं ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल विजयी हुँदा एमालेका वरिष्ठ नेता ईश्वर पोख्रेल दोस्रो भए। पौडेल १५ हजार २६९ मत ल्याएर विजयी भएका थिए। 

यसरी प्रतिनिधिसभातर्फ कुनै पनि कलाकारले जित हासिल नगर्दा प्रदेश सभामा भने नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका निर्माता तथा कलाकार रोज राणा विजयी भए।

प्यूठान क्षेत्र नम्बर १ (२) बाट उम्मेदवार राणा एमालेका हरिप्रसाद रिजाललाई हराउँदै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। रिजालले २० हजार ८०७ मत ल्याउँदा राणाले २२ हजार ५१८ मत पाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.