|

पाल्पा : वरिपरि घर बीचमा पिच सडक। त्यही सडकमा मान्छेको जमघट‚ जहाँ गीत घन्किएको छ। अनि फरकफरक समूहमा मानिस नाचिरहेका दृश्य। दर्शक सुरक्षाकर्मी।

यो दृश्य हो स्याङ्जाको वालिङ नगरपालिका-८ नगरपालिका चोकको। चुनावको मत गणना हुन थालेपछि यहाँ बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म यस्तो रमाइलो हेर्न पाइन्छ।

यहाँ कुनै सभा, समारोह वा साँस्कृतिक कार्यक्रम भने भइरहेको होइन। यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा धाँधली भएको र नभएको पक्षमा गरिएका आन्दोलन।

यहाँ नेकपा एमाले र गठबन्धनका दल नाचगान गर्दै धर्ना बसिरहेका छन्। करिब २० मिटरको दूरीमा दुवै पक्षको आन्दोलन चलिरहेको छ।

जिल्लाको चापाकोट नगरपालिकाको विभिन्न मतदान केन्द्रका बुथ कब्जा गरेर गठबन्धन दलका नेता तथा कार्यकर्ताले फर्जी मत खसालेको आरोप एमालेसहित अन्य ११ दलको छ। उनीहरूले पुनः मतदानको माग गरेका छन्।

मृत्यु भएका र विदेशमा भएका मानिसको नामबाट समेत मत खसालेको स्याङ्जा क्षेत्र २ का  उम्मेदवार तथा एमालेका केन्द्रीय सचिव पद्मा अर्यालले दाबी गरेकी छन्।

यता अर्का  उम्मेदवार कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले स्वच्छ र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न भएको बताएका छन्।

गठबन्धनमा आबद्ध दलले सौहार्द्रपूर्ण वातावरणमा मतदान सम्पन्न भएको हुँदा मतगणना थाल्न दबाब दिँदै आन्दोलन गरिरहेको छ। 

दुई दलको विवादका कारण ७ दिन बित्दासमेत यहाँ मतगणना हुन सकेको छैन। विवादबारे अनुसन्धान गर्न निर्वाचन आयोगबाट एउटा टोली आएको थियो।

सो टोली आइतबार फर्किएको छ। अहिलेसम्म मतगणना गर्ने वा पुनः मतदान के गर्ने भन्नेबारे कुनै जानकारी आएको छैन।

यहाँका मतदाताको मतगणना वा पुनः मतदान जे गरेर भए पनि छिटोभन्दा छिटो मत परिणाम सुन्न आतुर रहेको बुझिन्छ। केन्द्रमा राम्रै प्रभाव भएका नेताको लडाइँका कारण समयमा निर्णय नभएकोप्रति यहाँका जनता निराश छन्।

चापाकोट नगरपालिकास्थित दिसिङकोट आधारभूत विद्यालय कमिरे, राम मन्दिर माध्यमिक विद्यालय दारसिङ मतदान स्थल, दिनदयालु आधारभूत विद्यालयको केन्द्र, जनराष्ट्रिय आधारभूत विद्यालय चिदिपोखरी मतदानस्थलमा बुथ कब्जा गरी मत खसालेको एमालेको आरोप छ।

मतपेटिका वालिङ नगरपालिकाको कार्यालयमा राखिएको छ। यहाँ चारैतिर सुरक्षाकर्मी परिचालन गरिएको छ। झडपको अवस्थालाई मध्यनजर गरेर नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ।

मतगणना नहुँदा नगरपालिकाको कामकाजसमेत सञ्चालन हुन सकेको छैन। मंगलबारदेखि आकस्मिक सेवा दिइने सूचना प्रकाशित भएको छ।

आकस्मिक सेवा कार्यालयको पछाडि रहेको गेटबाट लिन सकिने नगरप्रमुख कृष्ण खाँणले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.