|

काठमाडाैं : नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मंगलबार पाँचौँ दिनमा आइपुगेको छ। पाँचौँ दिन दुई नाटकका साथै नृत्यनाटिका र अडियो नाटक प्रस्तुत हुँदै छ।

निटफेस्टमा मंगलबार बिहान १० बजे महोत्सवले सहकार्य गरेको कुञ्ज थिएटरमा अमेरिकी अडियो नाटक ‘ट्री कन्फेसन’बारे जुम कक्षा हुनेछ। ‘ट्री कन्फेसन’मा हामीले बिर्सिसकेको मानव र बोटविरुवाबीचको अन्तरसम्बन्धित पारिस्थितिक प्रणाली बारेको कथा एउटा रूखले बताउँछ। दर्शकश्रोताले रूखमुनि बसेर रूखको स्वीकारोक्ति सुन्न पाउनेछन्। यस अडियो नाटकलाई जेनी दिन बडरले लेखेका हुन् भने एरिन बी मिले निर्देशन गरेका हुन्।

त्यसैगरी मंगलबारै उरुग्वेको एन्द्रेस फागियोलिनो र बेतिना दोमिङ्गोएज निर्देशित नाटक ‘रियो’ पनि दिउँसो १२ र ४ बजे मञ्चन हुँदै छ। यो थिएट्रिकल क्लाउन पर्फमेन्समा खडेरीले पिरोलेको ठूलो क्षेत्र नजिक रहेको शहरको कथा भन्छ। जब दुईजना मानिसलाई उक्त खडेरी पर्ने क्षेत्रको बारेमा पत्ता लगाउन पठाइन्छ, तिनीहरूको यात्राले मानवीयताका धेरै पत्र खुलाउँदै जान्छ।

चौथो दिन मञ्चन भएको नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’को साँझ ६ बजे पुनः मञ्चन हुँदै छ। केदारनाथ पौडेलले लेखन तथा निर्देशन रहेको यस प्रस्तुतिले हृदय र मस्तिष्कबीचको विरोधाभाससँगै अस्तित्व सम्बन्धी प्रश्नहरूसँगै आफूभित्रका विचारलाई फर्केर हेर्ने र त्यसबारे  स–साना विवरण स्मरण गर्ने प्रयास गराउनेछ।

पाँचौँ दिनको अन्तिम प्रस्तुति स्वरूप साँझ ७ बजे ‘पाइतालाका यात्रा’ शीर्षकमा नृत्यनाटिका हुँदै छ। जसमा मनीषा बस्नेत, कुन्ती सिमाली, रोज महर्जन, ऋतिका महर्जन, अनुपमा केसी, डिलाशा गुरुङ, अनु गौतम, दीपिका खतिवडा, सुजाता गुरुङ, वर्षा ढकाल, ज्ञानु लामा, मेलिशा घिमिरे, सदीक्षा गौतम, सुजाता दास, मृणाल श्रेष्ठ, गणेश श्रेष्ठ, अनु गौतम, रिजवान थापा र सविना पोखरेलको प्रस्तुति रहनेछ।

मंसिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रूस, इटाली, स्पेन, बेलायत, बेलारूस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन्। महोत्सवमा १८ वटा नाटक मञ्चन हुँदै छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.