नवजात शिशु मृत्युदरमा भने भएन सुधार

|

काठमाडौं : नेपालमा ५ वर्षभन्दा कम उमेरका बालबालिकामा हुने पुड्कोपनमा उल्लेखनीय सुधार आएको छ। भर्खरै सार्वजनिक भएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ ले नेपालमा ५ वर्षभन्दा कम उमेर समूहका बालबालिकामा हुने पुड्कोपनमा सुधार आएको देखाएको हो।

नेपालमा हरेक पाँच वर्षमा एनडीएचएस सर्वेक्षण हुँदै आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न दातृनिकायसँगको सहकार्यमा गरेको उक्त सर्वेक्षणको रिपोर्टले नेपालमा पाँच वर्षमुनिका बालबालिकाको पुड्कोपनको अवस्थामा पाँच वर्षको अवधिमा ११ प्रतिशतले कमी आएको पुष्टि गरेको हो।

पाँच वर्षअघि (सन् २०१६) को यही सर्वेक्षणले नेपालमा पाँच वर्षमुनिका३६ प्रतिशत बालबालिकामा ड्कोपन रहेको देखाएको थियो। यही सर्वेक्षणले पाँच वर्षमा ११ प्रतिशतले पुड्कोपना हटेर २५ प्रतिशतमा झरेको देखाएको हो।

विगतमा नेपालमा पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनमा सन् १९९६ मा ५७ प्रतिशत, सन् २००१ मा ५७, सन् २००६ मा ४९, सन् २०११ मा ४१ र सन् २०१६ मा ३६ प्रतिशत रहेको थियो।

सर्वेक्षणले पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपना कम हुँदै गए पनि हाल देखिएको २५ प्रतिशत पुड्कोपनमा सबैभन्दा धेरै बालबालिका कर्णाली प्रदेशमा रहेको समेत देखाएको छ।

कर्णालीमा अझै पनि ३६ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या छ। पाँच वर्षअघि कर्णालीका ५४.५ प्रतिशतमा पुड्कोपनको समस्या थियो। पाँच वर्षको अवधिमा कर्णालीका पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपन घटे पनि देशका अरू ठाउँको तुलनामा भने अझै समस्या रहेको सर्वेक्षणले देखाएको छ।

यस्तै सर्वेक्षण अनुसार पुड्कोपनसहित ८ प्रतिशत बालबालिकामा उचाइअनुसार कम तौल (जसलाई शीघ्र कुपोषण) रहेको समेत देखाएको छ। यसैगरी १ प्रतिशत बालबालिकामा अति कुपोषणको समस्या छ।

बाल मृत्युदरमा ६ प्रतिशतले कमी

यसैगरी उक्त सर्वेक्षणले पाँच वर्षको अविधमा नेपालमा बालमृत्यु दरमा भने ६ प्रतिशत कमी आएको देखाएको छ। एनडीएचएस २०२२ को सर्वेक्षणले हाल नेपालमा बालमृत्युदर ३३ प्रतिशत देखाएको छ।

यसअघि सन् २०१६ को यही सर्वेक्षणले प्रति एक हजार जीवित जन्ममा ३९ बालबालिकाको मृत्यु हुने देखाएको थियो। यसअघि नेपालमा सन् १९९६ मा ११८, २००१ मा ९१, २००६ मा ६१, २०११ मा ५४ बाल मृत्युदर रहेको देखाएको थियो।

पाँच वर्षमुनिका बाल मृत्युदरसँगै एक वर्षमुनिका बाल मृत्युदरमा पनि ४ प्रतिशतले घटेको पाइएको छ। सन् १९९६ मा ७८, २००१ मा ६४, २००६ मा ४८, २०११ मा ४६, २०१६ मा ३२ हुँदै २०२२ मा २८ प्रतिशतमा झरेको हो।

सर्वेक्षण प्रतिवेदनअनुसार विगत पाँच वर्षको बीचमा नेपालमा नवजात शिशु मृत्युदरमा भने कुनै सुधार भएको छैन। पाँच वर्षअघि २१ रहेको नवजात शिशु मृत्युदर अहिले पनि २१ नै रहेको एनडीएचएसको अध्ययनमा उल्लेख छ।

बालमृत्युदर घटाउन गर्भावस्था र सुत्केरीको समयमा उचित हेरचाह आमा र बच्चा दुवैको स्वास्थ्यका लागि महत्त्वपूर्ण रहेको समेत सर्वेक्षणले उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.