|

काठमाडाैं : संघीय र प्रादेशिक आमनिर्वाचन सम्पन्न भएपछि अब देशभर संगीतको माहोल विस्तार हुने भएको छ। यसै साताबाट शुरु हुने एकमहिने राष्ट्रव्यापी सांगीतिक यात्राका लागि नेपथ्यको तयारी पूरा भएको छ।

उपत्यकाबाट बाहिरिन कलाकार, व्यवस्थापन तथा प्राविधिकहरूको टोली तयार अवस्थामा छन्।  

‘हाम्रा आ–आफ्ना विचार, आस्था र मान्यताले गर्दा चुनावमा स्वभाविक तवरले जताततै मतान्तरका घेरा कोरिएको हुनुपर्छ,’ एक महिना लामो सांगीतिक देश दौडाहामा निस्कनुअघि नेपथ्य ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ लख काट्छन्, ‘अब फेरि सिंगो समाज एउटै सूत्रमा गाँसिनु जरुरी छ, जसलाई संगीतले मद्दत गर्न सक्छ।’

‘अघिल्ला दिन हामीले जताततै पार्टीका झण्डा देख्यौं,’ अमृत थप्छन्, ‘यो साताबाट शुरु हुने नेपालभरिको यात्रामा सम्पूर्ण दर्शक रातो र चन्द्रसूर्यको झण्डा बोक्दै नाचेको हेर्न म आतुर छु।’

ब्याण्डको पहिलो प्रस्तुति मंसिर १६ गते विराटनगरमा हुनेछ। त्यसपछि क्रमशः पश्चिमतर्फ लाग्ने नेपथ्य टोलीले अन्तिममा काठमाडौं फर्केपछि पुस १६ गतेका दिन भृकुटीमण्डपका दर्शक सामु प्रस्तुत हुँदै यो अभियानको बिट मार्नेछ।

यसपाला नेपथ्यले देश दौडाहाका क्रममा सांगीतिक मनोरञ्जनको योजना मात्र बोकेको छैन। मानवता प्रवर्द्धनका लागि आफूलाई मञ्चहरूमा उभ्याउने अठोट बोकेको नेपथ्यले सडकमा रहेका असहायहरूका निम्ति आश्रय थलो उभ्याउन कन्सर्टकै माध्यमबाट सहयोगसमेत जुटाउनेछ।

आफ्ना गीतलाई ‘मानवता प्रवर्द्धन अभियान’ सँग जोड्नका लागि नेपथ्यले मुलुकभर फैलिएको सामाजिक संस्था ‘मानव सेवा आश्रम’सँग हातेमालो गरेको छ।

घरपरिवार र आफन्तविहीन भई वा परिवार र समाजबाट अपहेलित भई मानसिक रोग लागेका  व्यक्तिको सेवामा समर्पित विशुद्ध मुनाफारहित संस्था ‘मानव सेवा आश्रम’ एक दसशदेखि सक्रिय छ। यो संस्थाले तीन वर्षभित्र सिंगो मुलुकलाई सहयोगापेक्षी सडक आश्रित मानवरहित तुल्याउने संकल्प बोकेको छ।

‘नेपथ्यको कन्सर्टलाई सफल तुल्याउन ७७ वटै जिल्लामा रहेका हाम्रा स्वयंसेवी परिचालित गरिनुका साथै देशभर नै टिकट विक्री खुला भइसकेका छन्,’ मानव सेवा आश्रमका संस्थापक एवं अध्यक्ष रामजी अधिकारी भन्छन्, ‘प्रचारप्रसारका विभिन्न माध्यम प्रयोग गर्नेदेखि लिएर अनलाइनबाटै टिकट काट्न सकिनेसम्मका प्रबन्ध मिलाइसकेका छौं।’

अधिकारीका अनुसार यी कन्सर्टहरूको टिकट मानव सेवा आश्रमको आधिकारिक वेबसाइट msa.org.np मार्फत सोझै काट्न सकिन्छ। त्यसैगरी नेपथ्य ब्याण्डको वेबसाइट nepathya.com.np बाट पनि कन्सर्टको टिकट उपलब्ध गराइएको छ।

यो चुनाव सकिएपछिको समय मात्र होइन, खेती किसानी गर्ने देशभरका कृषकहरू धान काटेपछिको फुर्सदमा रमाउन खोज्ने क्षण पनि हो। स्वयं नेपथ्यका मुख्य गायक अमृत पनि यति वेला उनको कास्कीस्थित गोठमा धानको दाइँ सिध्याएर कन्सर्टका निम्ति आफूलाई तयार पारिरहेका छन्।

१६ गते विराटनगरको हाटखोला मैदानमा पहिलो कन्सर्ट आयोजना हुनेछ। उक्त कन्सर्टका लागि नेपालको धरान र दमक मात्र नभई भारतदेखिका इच्छुक दर्शकको टेलिफोन आउन थालिसकेको छ। मानवसेवा आश्रम विराटनगरकी संयोजक पार्वती तिवारीका अनुसार असमबाट पनि दर्शकले टिकटको माग गरिसकेका छन् भने सिमानापारिका अन्य दर्शकको पनि सन्देश प्राप्त भइरहेको छ। यसरी पूर्वी नेपालको केन्द्र विराटनगरबाट शरु हुने यात्रा त्यसपछि क्रमशः १९ गते वीरगन्जको ‘आदर्शनगर रंगशाला’, २२ गते हेटौंडाको ‘भुटनदेवी स्कुल मैदान’, २५ गते नारायणघाटको ‘क्याम्पाचौर’ हुँदै मंसिर महिनाको अन्तिम शो २९ गते नेपालगन्जको रंगशालामा पुग्नेछ। पुस ३ गते ब्याण्डले धनगढीको रंगशालामा आफूलाई प्रस्तुत गर्नेछ।

त्यसपछि ब्याण्ड वीरेन्द्रनगर सुर्खेतको खुलामञ्चमा पुस ६ गतेका दिन कर्णाली प्रदेशका श्रोतासामु उपस्थित हुनेछ। त्यसपछि फर्किएर बुटवल आइपुग्ने टोलीले ‘रामनगर खेलमैदान’मा तयार पारिने मञ्चमा ९ गते आफूलाई प्रस्तुत गरेपछि नेपथ्य यात्रा गृहनगर प्रवेश गर्नेछ। पुस १२ गते मंगलबार ब्याण्डले पोखरा नयाँबजारस्थित ‘प्रदर्शनी केन्द्र’मा आफूलाई उभ्याउने भएको हाे।

यसरी मुलुकका सम्पूर्ण प्रदेश घुमिसकेपछि अन्तिममा ब्याण्ड संघीय राजधानी काठमाडौं आइपुग्ने योजना तय गरिएको छ। नेपथ्यको यो भ्रमणलाई ‘नेपालय’ले व्यवस्थापन गर्दै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.