|
फाइल तस्बिर

काठमाडौं : ​मंसिर ४ को निर्वाचनका लागि सरकारले मतदान स्थल रहेका शिक्षण संस्था र विद्यालयमा तीन दिन बिदा दिएको थियो। तर निर्वाचनमा खटिएका सबै शिक्षक तथा कर्मचारी अझै नफर्किँदा पढाइ प्रभावित भएको छ।

कतिपय शिक्षक अझै मतगणनास्थलमा खटिएका छन्। त्यसैले पनि पठनपाठनमा असर पुगेको हो। सुनसरी लगायत जिल्लामा मतगणना भइरहेको छ। दोलखा, स्याङजा–२, बाजुरामा पुनः मतदान हुन बाँकी छ। परिणाम आइसकेका कतिपय स्थानमा पनि शिक्षक विद्यालय नपुग्दा नियमित पढाइ हुन सकेको छैन।

बनेका संरचना हटाइएन

निर्वाचन आयोगका अनुसार २० हजार भन्दा बढी सामुदायिक स्कुलमा मतदान केन्द्र बनाइएको थियो। मतदानका लागि बार लगायत संरचना बनाइएको थियो। तर, मतगणना सकिएको ठाउँमा समेत अझै पनि ती संरचना नहटाइएको पाएको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिए।

‘निर्वाचनले धेरै विद्यार्थीको पढाइमा असर पुगेको छ’, उनले भने, ‘मतदानका लागि बनाइएको संरचना पनि बल्ल हटाउँदै गरेको जानकारी आएको छ। कतिपय ठाउँमा त अझै निर्वाचन भइरहेको छ।’

उनका अनुसार शिक्षकहरू निर्वाचन सकेर फर्किए पनि अझै सबैले पढाउन थालेका छैनन्। ‘निर्वाचन सम्पन्न गरेर शिक्षकहरू फर्किए पनि सबैले अझै पढाउन थालेका छैनन्। ‘सायद पार्टीकै कार्यकर्ता भएर पनि होला,केही ठाउँका त अझै स्कुल बन्द नै छ’, उनले भने, ‘अधिकांश ठाउँमा त अझै नियमित पढाइ भएको छैन भन्ने गुनासाे छ।’

राज्यले निर्वाचनको बेला विद्यालय प्रयोग गर्नु नै ठूलो गल्ती भएको उनी बताउँछन्। ‘विद्यालयमा निर्वाचन गर्ने नै होइन,तर यहाँ मतदान केन्द्र नै विद्यालय प्रयोग गर्ने प्रवृत्ति छ। त्यसैकारण अहिलेसम्म पढाइमा असर पुग्यो’, उनले भने। मतदानस्थलका लागि वैकल्पिक उपाय खोज्नुपर्ने उनको भनाइ छ।

निर्वाचनले स्कुलको सम्पत्तिमा क्षति

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)का अध्यक्ष राजेश शर्माका अनुसार यो निर्वाचनमा राजनीतिक दलका कार्यकर्ताबीच झडप हुँदा विद्यालयको सम्पत्तिमा क्षति पुगेको छ।

निर्वाचनमा विवादका कारण झडप हुँदा विद्यालयमा क्षति पुगेको उनी बताउँछन्। मतदानका लागि बनाइएका संरचना नहटाउँदा पनि विद्यार्थीलाई समस्या भएको उनले बताए। ‘स्थानीय तह निर्वाचनमा मतदान गर्न बनाइएको संरचना हटाएका थिए। तर यो पटक संरचना पनि नहटाएको पाइयो।यसले विद्यार्थीहरूमा असर पुग्यो,’ उनले भने।

शिक्षकहरू पढाउन थालिसके : शिक्षक महासंघ  

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी निर्वाचनपछि शिक्षकहरू पढाउन लागिसकेको दाबी गर्छन्। उनले भने,‘निर्वाचन सकिएको छ,केही ठाउँमा भने विवादले भएन,अब त शिक्षकहरू फर्केर पढाउन थालेका छन्।’  

उनका अनुसार आयोगले नखटाएपछि धेरै शिक्षक कर्मचारी निर्वाचनमा खटिएनन्। आयोगका अनुसार सुरक्षाकर्मीबाहेक कुल दुई लाख ४६ हजार जनशक्तिको प्रबन्ध गरिएको थियो।

‘निर्वाचनमा तह अनुसार नखटाएपछि धेरै साथीले तोकिएको ठाउँमा जान मानेनन्। त्यसैले १२\१३ हजार मात्रै शिक्षक निर्वाचनमा खटिए होला,’उनले भने। यो विषयमा कुरा गर्न खोज्दा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता रूद्रप्रसाद अधिकारीले ‘अहिले केही भन्न नसकिने’ बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.