|

काठमाडौं : प्रतिनिधिसभाको १६५ मध्ये १५९ सिटको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। अब सुनसरी ३ र ४, दोलखा, स्याङ्जा २ र बाजुराको मतपरिणाम सार्वजनिक हुन बाँकी छ।

समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ। निर्वाचनको अन्तिम नतिजा सार्वजनिक नहुँदै सरकार निर्माणका लागि बहुमत जुटाउन र प्रधानमन्त्री बन्नका लागि नेताहरूको रस्साकस्सी सुरु भएको छ। 

नयाँ सरकार निर्माणका लागि गठबन्धनका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन्। सोमबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर भेटेर चुनावी नतिजा र पावर शेयरिङका बारेमा छलफल गरेका छन्। उनीहरूबीच यही गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ।

प्रत्यक्षमा १७ सिट जितेको माओवादी केन्द्रका नेता दिनानाथ शर्माले अहिलेको गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने बताए। उनले ठूलो दलको हैसियतले काँग्रेसकै नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरे। 

‘हामी उही गठबन्धनलाई निरन्तरता दिन्छौं। निर्वाचनमा ठूलो दलको हैसियतले नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्छ। किनकी लोकतन्त्रको सुन्दर पक्ष भनेको यही हो,’ शर्माले थाहाखबरसँग भने।  

माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले संख्याका आधारमा आफ्नो पार्टीले नेतृत्वमा दाबी नगर्ने बताए। उनले गठबन्धनभित्र छलफल गरेर आफूहरू अघि बढ्ने बताए। ‘निर्वाचन परिणामअनुसार हामीले सरकारको नेतृत्व गर्न मिल्दैन।’ उनले थपे।  

गगनको पक्षमा छैन काँग्रेस–माओवादी 

माओवादीले दाबी नगरेपछि नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीमा दाबी गर्ने कुरै भएन। त्यसैले सरकारको नेतृत्व काँग्रेसले नै गर्ने देखिन्छ। तर काँग्रेसभित्र सभापति शेरबहादुर देउवाबाहेक गगन थापासहित आधादर्जन आकांक्षी देखा परेका छन्।

चुनाव अघि नै आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका महामन्त्री गगन थापालाई संसदीय दलको नेताको चुनाव जित्न सहज देखिँदैन। काँग्रेसमा प्रधानमन्त्रीको दाबेदारमा देउवासहित, महामन्त्री थापा, नेताहरू रामचन्द्र पौडेल, डा.शेखर कोइराला, डा. शशांक कोइराला र प्रकाशमान सिंह रहेका छन्। 

काँग्रेस नेता मीन विश्वकर्माले गगनसहितका नेताहरूको प्रधानमन्त्री बन्ने चाहना चर्चामा आउने काम मात्रै भएको बताए।

‘दाबी सबैको हुनु मनका कुरा भए। काँग्रेसको संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ। अहिलेको अवस्थामा शेरबहादुर देउवा नै हो। गगनजीलगायतका नेताहरुका लागि चर्चामा आउनका लागि त्यसले काम गरेकै छ। अंकगणितीय हिसाबले दलको नेता छान्नु पर्ने भएकाले देउवा नै अन्तिम विकल्प हो,’ विश्वकर्माले भने। 

काँग्रेसका अर्का नेता भीमसेनदास प्रधानले पनि सभापति देउवा प्राकृतिक रुपमा प्रधानमन्त्रीको दाबेदार रहेको बताए। उनले गगनले प्रधानमन्त्री बन्ने आश्वासन बढेपछि माइलेज लिएको बताउँदै प्रधानमन्त्री बन्न उनलाई देउवा र शेखरको साथ चाहिने बताए। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पावर सेयरिङबारे अनौपचारिक सहमति भइसकेको समेत उनले दाबी गरे। 

‘केही दिन अगाडि गठबन्धनको बैठक बस्यो। बैठकले एकआपसमा मिलेर जाने सहमति गरेको छ। जनताले पनि गठबन्धनलाई बहुमत नै दिएका छन्। प्रधानमन्त्रीमा देउवा दाईको प्राकृतिक दाबेदारी हुन्छ। समानुपातिकमा आउने बहुसंख्यक सांसद उहाँ निकट नै हुन्छन्। प्रचण्डजीसँग आलोपालो सहमति हुने भएकाले गगनजीको प्रधानमन्त्रीको भाषणले माइलेज लियो। बहुमत ल्याउन देउवा कि त शेखरको साथ चाहिन्छ होला नि! रामचन्द्रलाई शेरबहादुर दाइले बोक्नुपर्छ। देउवा दाईले समर्थन गर्नुपर्छ,’ उनले भने। 

गगनले प्रधानमन्त्री हुनका लागि काँग्रेससहित माओवादी केन्द्रको पनि समर्थन पाउनुपर्ने छ। उनले निर्वाचन अगाडिदेखि चुनावपछि बन्ने नयाँ सरकारमा आफू प्रधानमन्त्री बन्ने दाबी गरिसकेका छन्। थापाले भनेजस्तो सहज न काँग्रेसभित्र छ न त माओवादीभित्र नै! त्यसो भए गगनलाई प्रधानमन्त्री स्वीकार्न माओवादी तयार छ त? शर्मा भन्छन्, –‘पहिलो नेपाली काँग्रेसले संसदीय दलको नेता चुनेर पठाउनुपर्यो। त्यसपछि स्वीकार गर्ने नगर्ने विषयमा हामी निर्णय गर्छौं।’ 

यस्तै प्रधानमन्त्रीका लागि काँग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंहलगायतका नेताहरूले सार्वजनिक रुपमा प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गरिरहेका छन्।

पौडेलले गठबन्धनका दलहरूसँग प्रधानमन्त्रीका लागि आफैंले छलफल सुरु गरिसकेका छन्। उनले सोमबार बिहान नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललाई भेटेर प्रधानमन्त्रीमा सहयोग गर्न आग्रह गरे। 

पौडेलले आफ्नो समय आएकाले प्रधानमन्त्रीमा समर्थन गर्न आग्रह गरेका हुन्। महामन्त्री थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीमा समर्थन गर्ने बताउने गरेका छन्।

यसरी हेर्दा काँग्रेसमा थापालाई शेखर पक्षले समर्थन गरे पनि इतर पक्ष स्वीकार्न तयार छैन। प्रवक्ता प्रकाश शरण महतले पार्टी सभापति देउवा नै प्रधानमन्त्रीको दाबेदार रहने बताए। 

गगनले आफ्ना उम्मेदवारलाई पराजित गर्न महत्वपूर्ण भूमिका खेलेको माओवादीको आरोप छ। माओवादीनिकट वाईसीएलका पूर्वअध्यक्ष तथा माओवादी पोलिटब्यूरो सदस्य रामप्रसाद सापकोटा दीपशिखाले राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर माओवादी हराउन लागेको आरोप लगाएका छन्।

यस्तै सोमबार मात्रै माओवादी सचिव डिलाराम आचार्यले डा.शेखर कोइराला र गगन थापा नेतृत्वको समूहले माओवादीलाई भोट नदिन निर्देशन नै दिएको आरोप लगाएका। आचार्यले त्यहीकारण माओवादीले भोट गुमाएको पनि बताए। 

यसरी हेर्दा थापाले माओवादीको साथ पाउने छैनन्। यता  राष्ट्रिय स्वतन्त्र पार्टीले उपर्युक्त परिस्थिति हेरेर आफुहरु सरकारमा जाने बताएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा. अरनिको पाँडेले गगनसँग काम गर्न सहज हुने उल्लेख गर्दै सरकारको नेतृत्वकर्ता हेरेर निर्णय गर्ने बताए। 

‘गगनसँग काम गर्न सहज हुन्छ। उपयुक्त पात्र परिस्थिति, पार्टी, व्यक्ति कस्तो खालको नेतृत्वमा मन्त्रिमण्ड बन्ने कुराको भर पर्छ। हामी काम गर्न आएका हौं। कसरी सजिलो हुन्छ सोहीअनुसार अगाडि बढ्छौँ। हामी चौथो शक्ति हुन्छौं होला त्यसआधारमा दल खोलेपछि सत्तामा जाने भनेर आएका हौं। जान्छौं।’ उनले भने। 

नेकपा (एकीकृत समाजवादी) पार्टीले सत्ता गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने निर्णय गरेको छ। निर्वाचन परिणामबारे छलफल गर्न मंगलबार बसेको सचिवालय बैठकले परिणाम सोचेजस्तो नआए पनि गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने निर्णय गरेको हो।

‘जे जस्तो मत परिणाम हामीले प्राप्त गर्‍यौं यो परिणाम हामीले सोचेको जस्तो छैन,’ बैठकबारे प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले भने, ‘तर, गठबन्धनका कारण प्राप्त गरेका उपलब्धीलाई हामीले रक्षा गर्नुपर्छ भन्ने ठाउँमा र गठबन्धनको भावना अनुसार भोलि पनि काम गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं।’

अंकगणितअनुसार काँग्रेसभित्र देउवा बलियो देखिएका छन्। काँग्रेसले १६५ मध्ये ९१ ठाउँमा आफ्ना उम्मेदवार उठाएको थियो। पछिल्लो परिणामअनुसार दुवै पक्षबाट ५३ जनाले निर्वाचित जितेका छन्।

संस्थापनतर्फका ६२ र इतरका २९ जनाले टिकट पाएका थिए। निर्वाचनमा देउवा पक्षका अधिकांश उम्मेदवारहरूले चुनाव जितेका छन्। त्यस्तै समानुपातिकको बन्दसूचीमा ११० मध्ये ३२ जना इतर पक्षबाट छन् भने बाँकी देउवा पक्षका छन्। समानुपातिकतर्फको प्रारम्भिक नतिजाको आँकलनबाट काँग्रेसले ३३ सिट पाउने सम्भावना छ। जसमा अधिकांश संस्थापन समूहकै पर्ने देखिन्छ ।

यस्तो छ अंकगणित 
पछिल्लो मतपरिणामअनुसार कुनै पनि दलको स्पष्ट बहुमत नपुग्ने देखिएको छ।

बहुमतको सरकार निर्माणका लागि २७५ मध्ये १३८ सिटको आवश्यकता पर्दछ। तर, दलहरुले निर्वाचनमा आवश्यक सिट संख्या ल्याउन नसक्दा संयुक्त सरकार बन्ने देखिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार नेपाली काँग्रेस सबैभन्दा ठूलो दल छ। 

काँग्रेसले प्रत्यक्षमा ५३ सिट ल्याएको छ। काँग्रेससहितको सत्ता गठबन्धनसँग प्रत्यक्षमा ८५ सिट छ। जसमध्ये माओवादी केन्द्रको १७, नेकपा एकीकृत समाजवादीको १०, लोकतान्त्रिक समाजवादीसँग ४ सिट र राष्ट्रिय जनमोर्चासँग एक सिट रहेको छ।

समानुपातिकमा काँग्रेसले ३३, माओवादीको १५ सिट आउने देखिछ। माधव  नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी, लोसपा र राजमोले थ्रेस होल्ड कटाउने सम्भावना छैन। समाजवादीले थ्रेसहोल्ड कटाइहालेमा ३ देखि ४ सांसद थपिने संभावना देखिन्छ।

सरकार निर्माण लागि सत्ता गठबन्धनसँग मात्रै बहुमत पुग्दैन। बहुमतीय सरकारका लागि सत्ता गठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टीको साथ लिनुपर्नेछ।

रास्वपाको प्रत्यक्षमा सात र समानुपातिकमा १५ सिट पाउने सम्भावना छ। उक्त सिट जोड्दा सत्ता गठबन्धनसँग बहुमत पुग्छ। ग्ठबन्धनका नेताहरुले रास्वपालाई सरकारमा ल्याउन पहल सुरु गरिसकेका छन्। 

यता एमालेसहितको गठबन्धनसँग प्रत्यक्षमा ५७ सिट छ। जसअनुसार एमालेसँग ४३, जनता समाजवादी पार्टी ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग ७ सिट रहेको छ। 
पछिल्लो मतपरिणामअनुसार समानुपातिकमा नेकपा एमालेले ३५, राप्रपाले आठ र जसपाले ५ सिट पाउने सम्भावना छ।

यस्तै नागरिक उन्मुक्ती पार्टी ३, जनमत पार्टी  र नेमकिपा एक/एक सिट र पाँच जना स्वतन्त्र सांसद छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.