ब्याजदर नघटे अर्थतन्त्रले गति नलिने : उद्योग वाणिज्य महासंघ

|

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघले राजस्वले चालू खर्च धान्न नसक्ने अवस्था आएको र त्यसले देश संकटमा जाने अवस्था सिर्जना भएको धारणा राखेको छ।​ मंगलवार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन उक्त धारणा सार्वजनिक गरेको हो।

साथै महासंघले ब्याजदर नघट्दासम्म अर्थतन्त्रलाई लयमा राख्न कठिन हुने धारणा राखेको छ।  महासंघले ब्याजदर नघटाए मुलुकको अर्थतन्त्र नै संकटमा जाने भन्दै केन्द्रीय बैंक र सरकारले ब्याजदर घटाउने गरी नीति लिनुपर्ने माग गरेको छ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष शेखर गोल्छाले ब्याजदर नघट्ने हो भने अर्थतन्त्र गम्भीर संकटमा जाने बताए। उनले अर्थतन्त्रलाई संकटमा जान नदिन नेपाल राष्ट्रबैंक र सरकारले तरलता बढाएर ब्याजदर घटाउन विषयमा भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताए। उनले चालू कर्जासम्बन्धी नीति २ वर्षलाई स्थगित गर्न माग गरे।

उनले भने, ‘राष्ट्र बैंकले चालू मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत बैंकहरूले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबीचको औसत अन्तर (स्प्रेड दर) घटाएको छ। हाल वाणिज्य बैंकहरूको स्प्रेड दर ४.४ प्रतिशत रहेकोमा अब ४ प्रतिशतमा झारेको छ। विकास बैंक र वित्त कम्पनीको ५ प्रतिशत रहेको स्प्रेड दर अधिकतम ४.६ प्रतिशत कायम गर्नुपर्ने भनेको छ। बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउन आधार दर (बेसरेट) घटाउनुपर्छ। बैंकको ब्याजदर नघट्ने हो भने अर्थतन्त्रलाई जोगाउन पनि कठिन हुनेछ।’

उनले मुलुकको अर्थतन्त्र कठिन अवस्थामा रहेको बताए। उनले मौद्रिक नीतिको समीक्षाले अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न नसक्ने स्पष्ट पारे। अध्यक्ष गोल्छाले अहिले अर्थतन्त्रमा देखिएको समस्या उद्योगी व्यवसायीको मात्रै नभएर सर्वसाधारणदेखि सरकारको विषयसमेत भएको बताए। उनले अर्थतन्त्रमा देखिएको समस्याले बजार महँगीले सर्वसाधारणलाई दैनिकी चलाउन समेत कठिन रहेको बताए।

उनले अर्थतन्त्रमा देखिएको समस्यालाई उद्योगी व्यवसायीको समस्या र ब्याजदरको समस्याको रुपमा मात्रै बुझ्न नहुने बताए। अध्यक्ष गोल्छाले नियामकीयको अपरिपक्ताले अर्थतन्त्रमा समस्या देखिएको खुलासा गरे।

उनले भने, ‘मुलुकको अर्थतन्त्र कठिन अवस्थामा छ। मौद्रिक नीतिको समीक्षाले अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नसक्ने अवस्था छैन। बढ्दो महँगीले सर्वसाधारणलाई दैनिकी चलाउन कठिन भएको छ। राजस्वले साधारण खर्च धान्न नसक्ने अवस्था सिर्जना भएको छ। मुख्य गरी नियामकीय अपरिपक्वताले अर्थतन्त्रमा समस्या देखिएको हो।’

अध्यक्ष गोल्छाले अर्थतन्त्रको उच्च मागलाई मुलुकको संरचनाले थेग्न नसकेको बताए। उनले कोरोना महामारीपछि कर्जाको माग बढेको तर निक्षेपभन्दा बढी कर्जा प्रवाह हुँदा अर्थतन्त्र समस्या परेको बताए। अध्यक्ष गोल्छाले गत वर्ष बैंकहरूले पाँच महिनामा ४ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकाले आयात अत्यधिक बढेको बताए। उनले आयात उच्च रूपमा बढ्दा विदेशी विनिमय सञ्चिती १७ प्रतिशतले घटेको बताए।

गोल्छाले अर्थतन्त्रमा समस्या देखिएपछि एक्कै पटक ब्रेक लगाउँदा अर्थतन्त्र संकटमा देखिएको बताए। उनले पछिल्लो समय महासंघको सर्वेक्षणअनुसार निर्माण क्षेत्रको कारोबार ७० प्रतिशत, दैनिक उपभोग्य सामानको कारोबार १८ प्रतिशतले, विद्युतीय उपकरणको कारोबार ५५ प्रतिशत, अटोमोबाइलको कारोबार ७५ प्रतिशत, बीमा क्षेत्रमा ३० प्रतिशतले, रेष्टुराँको २० प्रतिशत, होटलको अकुपेन्सी ३० प्रतिशत, शेयर बजार ४० प्रतिशत र घरजग्गा कारोबार ४८ प्रतिशतले घटेको बताए।

त्यस्तै महासंघले निजी क्षेत्रले आन्दोलन गर्न नचाहेको भन्दै आफ्नो गुनासो सुनुवाइ नभए आर्थिक सुधारका लागि आन्दोलनका थप कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.