|

हेटौंडा : मंसिर ४ गते भएको निर्वाचनमार्फत बागमती प्रदेशमा ७.५ प्रतिशत मात्रै महिला उम्मेदवार निर्वाचित भएका छन्। प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने प्रणाली प्रत्यक्षतर्फ पाँच मात्रै महिला निर्वाचित भएका हुन्।

६६ निर्वाचन क्षेत्र रहेकोमा हालसम्म दोलखाको दुईबाहेक अन्य ६४ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम आएको छ। बागमती प्रदेशमा दोलखाको १० वटा विवादित केन्द्रमा पुनः मतदान हुने भएकाले त्यहाँको नतिजा आइसकेको छैन। ती दुवै प्रदेश सभाको क्षेत्रमा महिला उम्मेदवार छैनन्। त्यसैले बागमती प्रदेशसभामा प्रत्यक्ष रूपमा निर्वाचित भएर आउने महिलाको संख्या बढ्ने  सम्भावना छैन।

प्रदेशसभामा ५९ जना पुरुष सांसदले प्रत्यक्ष निर्वाचित भएर संसदमा प्रवेश पाउँदा महिला सांसद भने प्रदेशको प्रत्यक्ष निर्वाचित हुने सांसदको ७.५ प्रतिशत मात्रै रहेका छन्। महिलालाई समानुपातिकमा राख्ने तर प्रत्यक्षमा अवसर नदिएका कारण समेत प्रदेशसभाको प्रत्यक्षतर्फ महिला उम्मेदवार कम रहेकाले पनि जित हासिल गर्ने महिलाको संख्या कम रहेको पाइएको छ। 

प्रदेशको दोलखा बाहेक १२ जिल्लाको हालसम्मको नतिजा अनुसार ५ विजयी महिला उम्मेदवारमध्ये नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २\२ जना  छन्। यस्तै नेकपा एकीकृत समाजवादीबाट १ उम्मेदवार विजयी भएका छन्। पाँच विजयी उम्मेदवार गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा थिए। पाँचजनाको प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवारसँग मात्र भएको हो।

हालसम्म बागमती प्रदेशमा नेपाली कांग्रेसले २४ सिट जितेको छ भने माओवादी केन्द्रले १४ सिट र नेकपा एमालले १२ सिट जितेको छ। एकीकृत समाजवादीले ५ सिट जितेको छ। सत्ता गठबन्धनका दलले ४३ सिट जितेकाले यही गठबन्धन कायम रहेको खण्डमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने सम्भावना छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट जितेको छ। मजदुर किसान पार्टीले १ र हाम्रो नेपाली पार्टीले १ सिट जितेको छ। 

बागमती प्रदेश सभामा प्रत्यक्षतर्फ प्रतिनिधित्व गर्ने महिलामा बागमती प्रदेशको पूर्वउपसभामुख माओवादी केन्द्रकी राधिका तामाङ नुवाकोट क्षेत्र नम्बर १ (१) बाट विजयी भइन्। उनले १६ हजार १६१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुशीलकुमार खड्काले ११ हजार ३५० मत पाए। त्यस्तै मकवानपुर –२ (१) बाट नेकपा माओवादी केन्द्रीकुमारी मुक्तानले जित हासिल गरिन्। 

उनले एमालेका विष्णुप्रसाद ढकाललाई ३०२ मतान्तरले हराइन्। उनले १९ हजार ८७३ मत ल्याइन् भने ढकालले १९ हजार ५५१ मत प्राप्त गरेका थिए। मुक्तान प्रदेशको वहालवाला सामाजिक विकास मन्त्री हुन्। 

यसैगरी सिन्धुपाल्चोलक–१ (१) बाट नेपाली कांग्रेसकी मसिना खड्का भण्डारीले जित हात पारिन्। उनले १४ हजार ६५२ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी तामाङले १३ हजार ४९० मत ल्याए। यो क्षेत्रमा राप्रपाकी महिला उम्मेदवार निर्मला श्रेष्ठले २ हजार ६७ मत ल्याइन्। एउटै क्षेत्रबाट दुई महिला प्रतिस्पर्धी बन्दा प्रत्यक्ष निर्वाचित हुने महिलाको संख्या घट्न पुगेको छ। 

यस्तै काठमाडौंका २० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ६ (१) बाट नेपाली कांग्रेसकी हरिप्रभा खड्गी विजयी भइन्। उनी काठमाडौं महानगरपालिकाकी पूर्व उपप्रमुख हुन्। उनले पनि एमालेका निरेशलाल सिंह महर्जनलाई हराइन्। उनले चार हजार ६५६ मत ल्याउँदा महर्जनले ३ हजार ९३६ मत पाए।

काठमाडौं १० (२) बाट एकीकृत समाजवादीकी रमा आले मगरले एमालेका रामशरण आले मगरलाई पराजित गर्दै दोस्रोपटक सोही निर्वाचन क्षेत्रबाट जित हासिल गरिन्। उनी यसअघि पनि सोही क्षेत्रबाट प्रदेश सभामा विजयी भएकी थिइन्। उनले ५ हजार ८१८ मत ल्याइन् भने एमालेका उम्मेदवारले ५ हजार १८८ मत ल्याए। ०७४ को निर्वाचनमा एमालेबाट चुनाव जितेकी उनले अहिले गठबन्धनको समर्थनमा समाजादीबाट एमालेको उम्मेदवारलाई पराजित गर्दै दोस्रो जित निकालेकी हुन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.