|

काठमाडौं : स्याङ्जा-२ र बाजुरामा पुनः निर्वाचन गर्ने कि मतगणना सुरु गर्ने भन्ने विषयमा आज निर्णय हुने संभावना रहेको निर्वाचन आयोगले जनाएको छ। 

सो विषयबारे आज पनि छलफल पश्चात् निर्णय गर्ने तयारी भएको आयोगका सह प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। आयोगले आज  बिहान ११ बजे छलफलका लागि बैठक बोलाएको छ।  

स्याङ्जा–२ र बाजुरामा एमाले र कांग्रेसले एक–अर्कालाई बुथ कब्जा गरेको आरोप लगाइरहेका छन्। एमालेले पुनः मतदानको माग गरिरहेको छ भने कांग्रेसले मतगणनामा जोड दिइरहेको छ। 

आयोगका ५ पदाधिकारीमध्ये केहीले पुनः मतदानको जिकिर गरिरहेका छन् भने अन्यले मंसिर ४ मा खसाइएकै मत गन्नुपर्नेमा जोड दिइरहेका छन्। 

आयोगले टोली पठाएर छानबिन गर्ने विषयमा समेत आयोगका पदाधिकारी एकमत हुन सकेका थिएनन्। आयुक्त ईश्वरी पौड्यालले स्याङ्जामा मतगणना गर्नुपर्ने र छानबिन टोली नै पठाउन नहुने भन्दै आयोगको निर्णयमा फरक मत राखेका थिए। 

निर्वाचन अधिकृतलाई मतगणनाको निर्देशन दिनुपर्ने उनको भनाइ थियो।  आयोगले बहुमतको निर्णयका आधारमा स्याङ्जा र बाजुरामा सहसचिवको नेतृत्वमा छानबिन टोली पठाएको थियो। 

टोलीले हिजो आयोगमा प्रतिवेदन बुझाएका थिए। दुवै टोलीले पुनः निर्वाचन गर्ने वा मतगणना गर्ने यकिन सुझाव दिएका छैनन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.