|

बागलुङ :  नेपोलियम बोनापाटको एउटा चर्चित भनाइ छ, ‘जसलाई हार्न डर लाग्छ, उसको हार निश्चित छ।’ त्यसैले हार्नबाट नडराएका एक व्यक्ति तेस्रो प्रयासमा प्रदेश सभाको भवन छिर्ने भएका छन्। प्रसंग हो बागलुङको।

पटक–पटकको असफलतालाई आफ्नो सिकाइको रुपमा लिँदै आएका  बागलुङ कांग्रेस सभापति जित शेरचन तेस्रो प्रयासमा प्रदेश संसद् भवन छिर्दै छन्। 

दुई पटकसम्म पराजित शेरचन तेस्रो प्रयासमा जनताले उनलाई संसद अनुमोदन गरेका छन्। २०७४ को प्रदेश निर्वाचन र २०७६ को प्रदेश उप–निर्वाचनमा हार ब्यहोरेका शेरचन २०७९ को प्रदेशसभा निर्वाचनमा विजयी भए।

'जीवन एउटा नदीको पानी जस्तै हो खोलामा बग्ने क्रममा कहिले पहाडसँग ठोकिन्छ त कहिले ढुङ्गासँग तर गन्तव्यमा पुग्न निरन्तर बग्न जरुरी छ, तेस्रो प्रयासमा संसद बनेको छु यसलाई सफलता भन्न सक्दिन मैले संसदमा पुगेपछि कामका आधारमा जनताले मूल्याङ्कन गर्नेछन्', नवनिर्वाचित प्रदेशसभा सदस्य शेरचनले भने, 'उत्पादनसँग जनतालाई जोडेर आम्दानी बढाउन सकेमा मात्रै प्रदेश सरकार बलियो बन्न सक्दछ, स्थानीय तहलाई संघसँग जोड्ने पुलको रुपमा प्रदेश सकार अग्रसर हुन आवश्यक छ।'

शेरचनले आफू निरन्तर राजनीति जीवनमा अगाडि बढेको भन्दै तेस्रोपटकमा संसद भवन छिर्न पाउदा जनताले आफ्नो यात्रामा थप बल पुर्‍याएको आभास भएको बताए।

यताकता प्रदेश संरचनाको विषयमा धेरै प्रश्नहरु उठिरहेको पाइएको बताउँदै शेरचनले प्रदेश सरकार बलियो बनाउन जनता उत्पादनसँग जोडिन आवश्यक रहेको बताए।

'निर्वाचनका एजेण्डा परम्परागत भए, विकास संरचना पञ्चायती शैलीका भए, गुरु योजना बनाएर कृषिमा आधुनिकरण र पर्यटनमा फड्को सँगै विकासका पूर्वाधार निर्माणमा लाग्नु आवश्यक छ', उनले भने, 'तेस्रो पटकमा संसद भएँ, तर सफलता–असफलता पाँच वर्ष पछि मात्रै पत्ता लाग्ला, जनताको सेवाका रुपमा सदैव राजनीतिमा छु, जनता समक्ष पुगेर गरेका वाचा बिर्सने छैन।'

यस्तो छ शेरचनको राजनीतिक यात्रा

नेपाली कांग्रेस बागलुङका सभापतिसमेत रहेका जित शेरचन २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका थिए। राष्ट्रिय जनमोर्चाको बलियो क्षेत्रका रुपमा हेरिने पश्चिम बागलुङमा शेरचन पहिलो प्रयासमै असफल भए। उक्त क्षेत्रमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार टेकबहादुर घर्ती ३ हजार बढीको फराकिलो मतान्तरका साथ विजयी भएका थिए। घर्तीले ११ हजार ८ सय ८४ र शेरचनले ८ हजार ६ सय २४ मत मात्रै प्राप्त गरेका थिए।

निर्वाचित भएका टेकबहादुर घर्तीको २०७५ मंसिर २७ गते निधन पछि रिक्त रहेका क्षेत्रमा सरकारले २०७६ मंसिर १४ गते उपनिर्वाचन गरायो। उपनिर्वाचनमा समेत शेरचन चुनावी मैदानमा आए।  तर शेरचन राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाहीसँग पराजित हुनुपर्‍यो।

शेरचनलाई जनमोर्चाका शाहीले २ हजार ९७ मतान्तरले पछि पार्दै दोस्रो प्रयास विफल बनाएका थिए। 

हालै सम्पन्न निर्वाचनमा समेत शेरचनले आफ्नो क्षेत्र भन्दा बाहिर टिकट प्राप्त गरेका थिए। तेस्रो पटक चुनावी मैदानमा आउनुभएका शेरचनलाई यसपटकको निर्वाचनमा दुई पटक हराउने राष्ट्रिय जनमोर्चाले समेत सघाएको थियो।

शेरचन यसपटक आफू दुई पटक पराजित भएको क्षेत्र छोडेर नयाँ क्षेत्रमा उम्मेदवारी बनेका थिए। बागलुङ क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा पराजित शेरचन यसपटकको निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ प्रदेशसभा (क) बाट संसद चुनिए। शेरचनले एमालेले समर्थन गरेको स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई ३ हजार मतान्तरले पराजित गरे। शेरचनले १५ हजार १६ मत प्राप्त गर्दा घर्तीले १२ हजार ८ मत प्राप्त गरे।

विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय शेरचन नेविसंघमा आवद्द थिए।  बागलुङका २०६२ सालमा नेविसंघबाट ताजहल क्याम्पस काठमाडौंको स्ववियु सभापति निर्वाचित शेरचन  २०६७ मा नेविसंघको केन्द्रीय सदस्य हुँदै हाल नेपाली कांग्रेस बागलुङको जिल्ला सभापती हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.