|

रौतहट : रौतहटका किसानलाई दोस्रो मुख्य बाली गहुँ छर्न अहिले भ्याइनभ्याइ छ।

किसानहरू यतिखेर गहुँ रोप्नका लागि आवश्यक उन्नत जातको बीउ, रासायनिक मल, खेतको सरसफाइ तथा जोताइमा लागेका छन। किसानले खेतमा भएका पराल तथा ठुटा जलाउनुका साथै जोताइ गर्न, पानीको मात्रा कम भएको जग्गामा सिँचाइ गर्न व्यस्त छन्।

गहुँ छर्ने वेला पनि आफूले सहज रूपमा मल नपाएको वृन्दावन नगरपालिका-१ का किसान अजय पटेलको भनाइ छ।

हाइब्रिड जातको बीउबाट प्रतिकट्ठा अढाई मनदेखि पाँच मन गहुँ उत्पादन हुने गर्छ। भारतीय बजार भङ्गाहा, इनर्वा, मैनाटाड, सिकटाबाट नेपाली किसानले श्रीराम ३०३, सुपर ३०३, ए वन ३०३ ब्रान्डका भारतीय गहुँका बीउ ल्याइरहेका छन्। यी बीउको मूल्य प्रतिकिलो ५५ देखि ८० भारु पर्छ।

किसानहरूले रासायनिक मलका लागि सास्ती भोग्नुपरेको गुनासो गरेका छन्। कतिपय किसानले नेपाल सरकारको अनुदानको मल आउने आशा कम भएको भन्दै भारतीय बजारबाट मल ल्याएका छन्।

केही किसानले मात्र यहाँको कृषि सहकारी संस्थाबाट मल लिन सकेका छन्। भारतीय बजारबाट मल ल्याउँदा डिएपी प्रतिबोरा ३‚१००, युरिया प्रतिबोरा १‚०५०, पोटास ३‚३५० रुपैयाँ पर्न जान्छ।

चन्द्रपुर–८ मा रहेको साना किसान कृषि सहकारी संस्थाका सञ्चालक प्रमोद चौधरीका अनुसार सहकारीमा किसान मल खोज्न आए पनि सहकारीमा मल छैन।

कृषि सहकारीबाट मल लिँदा डिएपी प्रतिबोरा २‚५०० र युरिया १ हजारमा पाउने गरेका छन्। सहकारीमा मल नहुँदा किसानहरू यतिवेला चोरी तस्करी गरी ल्याएको मल किन्न बाध्य छन्।

कृषि सामग्री कम्पनीले भारतबाट ३० हजार मेट्रिक टन युरिया मल भित्रिने क्रम शुरु भएको र जिटुजीको माध्यमले भारतबाट थप ३० हजार मेट्रिक टन मल ल्याउने तयारी भइरहेको बताइरहँदा रौतहटका किसानहरू भने मलको अभाव झेलिरहेका छन्।

उनीहरूलाई सहकारीमार्फत सहज रूपमा मल उपलब्ध गराउनुपर्नेमा बिचौलियाहरूले यो समयमा चलखेल गरी लुकाउने र महँगो मूल्यमा बिक्री गर्ने परिपाटी छ।

अहिले पनि सहकारीको माध्यमबाट वितरण गरिएको सूची कृषि सामग्री कम्पनीमा भए पनि ती सहकारीले भने किसानसम्म मल पुर्‍याउन सकेका छैनन् र नेपाली किसानहरू भारतीय मल महँगो मूल्यमा खरिद गर्न बाध्य छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.