|

बैतडी : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बैतडीमा उम्मेदवार बनेकामध्ये १५ जनाको धरौटी जफत भएको छ। प्रतिनिधिसभाका नौ र प्रदेश सभाका छ उम्मेदवार गरि १५ जनाको धरौटी जफत भएको हो। 

कुल सदर मतको १० प्रतिशत मत पनि नल्याए  धरौटी जफत हुने प्रावधान अनुसार १५ उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधवप्रसाद फुँयालले बताए।

धरौटी जफत हुनेहरूमा प्रतिनिधि सभातर्फ राप्रपाका देवबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाशचन्द्र भट्ट, राप्रपा नेपालका हिक्मतबहादुर चन्द, जनता समाजवादी पार्टी नेपालका आनसिंह भण्डारी, नेश्नलिष्ट पिपल्स पार्टीका कृष्णबहादुर चन्द,नेपाल मजदुर किसान पार्टीका कृष्णप्रसाद गोसाई,स्वतन्त्र उम्मेदवार केशवबहादुर चन्द,स्वतन्त्र उम्मेदवार मानसिंह विष्ट र  स्वतन्त्र उम्मेदवार त्रिलोकबहादुर चन्द रहेका छन्।

प्रतिनिधि सभा सदस्य तर्फ यहाँ ७७ हजार चार सय ६० मत खसेकोमा ७२ हजार चार सय ९८ मत सदर भएको थियो।

यस्तै प्रदेश सभा क्षेत्र नम्बर १ मा धरौटी जफत हुने उम्मेदवारहरूमा एकीकृत समाजवादीका नरेन्द्र विष्ट, राप्रपाका रणबहादुर विष्ट र राप्रपा नेपालका कृष्णा पन्त रहेका छन्। प्रदेश सभा १ मा ४० हजार एक ५५ मत खसेकोमा ३८ हजार एक सय ४२ मत सदर भएको थियो।

यस्तै प्रदेश सभा क्षेत्र नम्बर २ मा धरौटी जफत हुने उम्मेदवारहरूमा  राप्रपाका नारायणदत्त जोशी, राप्रपा नेपालका प्रेमबहादुर चन्द र नागरिक उन्मुक्ति पार्टीका रेबती बोहराको धरौटी जफत भएको हो। प्रदेश सभा २ मा ३७ हजार २८० मत खसेकोमा ३५ हजार ४६० मत सदर भएको थियो।

प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई सिट रहेको बैतडीमा २२ जना उम्मेदवार रहेका थिए। प्रतिनिधिसभामा नेकपा एमालेका दामोदर भण्डारी,प्रदेश सभा क्षेत्र नम्बर १ मा एमालेकै सुरेन्द्र पाल र प्रदेश सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका शिवराज भट्ट विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.