|

धनकुटा : मतदाता शिक्षा प्रभावकारी नहुँदा धनकुटामा १४ हजार बढी मत बदर भएको छ। मंसिर ४ गते सम्पन्न निर्वाचनका परिणाम आइसक्दा मतदाता शिक्षाको कमिका कारणले धनकुटा प्रत्यक्ष तथा समानुपातिक गरी १४ हजार ३ सय १८ मत बदर भएको पाइएको हो।

जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख जयराम श्रेष्ठका सबै मतगणना सकिँदा प्रत्यक्षमा ५ हजार ३ सय ४ र समानुपातिकतर्फ ९ हजार १४ मत बदर भएको छ। समानुपतिकको मत प्रत्यक्षमा भन्दा ३ हजार ७ सय १० बढी बदर छन्।

प्रतिनिधिसभाको एक तथा प्रदेशसभाको दुई गरी ३ वटा निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रत्यक्षतर्फ प्रतिनिधिसभामा २ हजार ७ सय १७ मत बदर भएको छ भने प्रदेशसभामा २ हजार ५ सय ८७ मत बदर भएको छ। जसमा प्रदेशसभा क्षेत्र १ मा एक हजार ५ सय ११ र प्रदेशसभा क्षेत्र नं. २ मा एक हजार ७६ मत बदर भएका छन्।

त्यस्तै, समानुपतिकतर्फ प्रतिनिधिसभामा ३ हजार ८ सय ९९ मत बदर भएको छ भने प्रदेशसभामा ५ हजार एक सय १५ मत बदर भएका छन्। जिल्लामा मतदाता शिक्षा प्रभावकारी नभएको कारण अपेक्षा गरिएको भन्दा धेरै मत बदर भएको देखिन्छ।

जिल्लामा कुल एक लाख १६ हजार ९ सय ९१ मतदाता रहेकामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६९ हजार ४ सय ४४ र प्रदेशसभाको प्रत्यक्षतर्फ ६९ हजार ३ सय ४३ मत खसेको थियो। जसमा प्रदेशसभा क्षेत्र नं. १ मा ३७ हजार ५ सय ५६ र प्रदेशसभा क्षेत्र नं. २ मा ३१ हजार ७ सय ८७ मत खसेको थियो।

यस्तै, प्रतिनिधिसभाको समानुपातिकतर्फ ७० हजार २ सय १९ र प्रदेशसभाको समानुपातिकतर्फ ६९ हजार ९ सय ३७ मत खसेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए।

निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउन नसक्दा बदर मतको संख्या बढेको उम्मेदवारहरूको गुनासो छ। तर, मतदाताहरू भने, उम्मेदवार र राजनीतिक दलहरुको चुनावी गठबन्धन तथा तालमेल मुख्य रूपमा दोषी रहेको बताउँछन्। धनकुटामा प्रत्यक्षतर्फ प्रतिनिधीसभामा ६६ हजार ७ सय २७ र प्रदेशसभा क्षेत्र नं. १ मा ३६ हजार ४५ र प्रदेश निर्वाचन क्षेत्र नं. २ मा ३० हजार ७ सय ११ मत सदर भएको थियो।

यस्तै, समानुपातिकतर्फ प्रतिनिधिसभाको ६६ हजार ३ सय २० र प्रदेशसभाको ६४ हजार ८ सय २२ मत सदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.