|

काठमाडौं : मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनबाट चुनिएर केही पूर्व विद्यार्थी नेता संसदमा देखिँदैछन्। विद्यार्थी राजनीतिबाट चर्चा कमाएका केही चिरपरिचित अनुहार ​यसपालिको संसदमा देखिन लागेका हुन्।

​एमालेका पोलिटब्युरो सदस्य ठाकुरप्रसाद गैरे पहिलोपटक संसद् प्रवेश गर्दैछन्। पाल्पा क्षेत्र २ मा उनी एकीकृत समाजवादी पार्टीका सोमप्रसाद पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भोजेन्द्रबहादुर कुँवरलाई हराउँदै विजयी भए। उनी अनेरास्ववियुका पूर्वअध्यक्ष हुन्।

झापा–१ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पनि प्रतिनिधिसभा सदस्यमा पहिलोपटक विजयी भए। शर्माले ३९ हजार ६२४ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ४४९ मत पाए। उनले पनि राजनीतिक करियर पनि विद्यार्थी संगठनबाटै सुरू गरेका थिए।

विद्यार्थी राजनीति हुँदै सांसद बनेका छन्, प्रदीप पौडेल। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हराउँदै काठमाडौं–५ मा नेपाली कांग्रेसका नेता पौडेल प्रतिनिसभा सदस्यमा निर्वाचित भएका हुन्। 

उनले राजनीतिक ‘करियर’ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबाट सुरू गरेका थिए। सन् २०१४ सेप्टेम्बर १७ मा सुशील कोइरालाबाट नियुक्ति स्वीकार गर्दै उनी नेपाली कांग्रेस केन्द्रीय समितिको सदस्य बनेका थिए। पौडेलले राजनीतिक जीवन अमृत क्याम्पसबाट नेपाल विद्यार्थी संघ नेताका रूपमा सुरू गरेका थिए। 

विद्यार्थी नेता महेशकुमार बर्तौला पनि पहिलोपटक संसद् पस्दै छन्। एमालेका नेता उनी मकवानपुर–२ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनी अनेरास्ववियुका पूर्व उपाध्यक्ष हुन्। नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई ३४ हजार ९५० मतले हराउँदै उनी निर्वाचित भए। खतिवडाले ३० हजार ३९६ मत पाएर पराजित भए। विजयी बर्तौला खतिवडाका राजनीतिक चेला मानिन्छन्।

विद्यार्थी राजनीतिबाट होमिएका योगेश गौचन थकाली पनि पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। कांग्रेसका गौचन मुस्ताङबाट ९१४ मतान्तरले विजयी भएका हुन्। उनले नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गरे।

सानै उमेरदेखि राजनीतिमा सक्रिय बनेका उनले जिल्लामा नेपाल विद्यार्थी संघबाट राजनीति सुरू गरेका हुन्। नेविसंघको राजनीतिसँगै भूगोलमा पनि जोडिएका योगेश जिल्ला कार्यसमिति सदस्य पनि सानै उमेरमा भएका थिए। 

निजी र सरकारी विद्यालय समान बनाउँछौँ : गैरे

गैरे गुणस्तरीय शिक्षाको व्यवस्था गरी अहिले समाजमा जुन निजी र सरकारी विद्यालय भन्ने पहिचान बनेको छ त्यसमा समानता ल्याउने गरी काम गर्ने बताउँछन्। ‘अहिले पनि निजी र सरकारी विद्यालय भनेर अलग अलग पहिचानसहित चलेको छ, यसलाई समानतामा बदल्ने काम गर्नेछु’, उनले भने, ‘यो आजको आवश्यकता नै हो।’ 

ग्रामीण भेगमा अझै पनि विद्यार्थीहरू घण्टौँ हिँडेर पढ्न जानुपर्ने बाध्यता अन्त्य गर्न काम गर्ने उनको प्रतिबद्धता छ। ‘गाउँघरमा पनि शहरमा जस्तो सवारीसाधनको व्यवस्था गरेर समस्या समाधान गर्न सकिन्छ’, उनले भने। शिक्षक–कर्मचारीको व्यवस्थापनसँगै भौतिक पूर्वाधारका समस्या पनि समाधान गर्न काम गर्ने उनले बताए।

शिक्षामा छलाङ मार्न राज्यले शिक्षा क्षेत्रमा बजेट वृद्धि गर्न पनि आवश्यक रहेको उनको भनाइ छ। ‘कुल बजेटको २० प्रतिशत बजेट शिक्षामा चाहिन्छ भनिँदै आएको छ’, उनले भने, ‘अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गराउने हो, यसका लागि पुरानो पाठ्यक्रम छ, समय अनुकूल परिमार्जन गर्नुपर्छ।’ परीक्षा प्रणाली वैज्ञानिक बनाउने, विज्ञान प्रविधिको विकासमा जोड दिने कार्यमा पनि हल गर्ने उनले बताए। उनले भने,‘शिक्षा क्षेत्रमा जे समस्या छन्, यसको एकीकृत ढंगले समस्या समाधान गर्न पहल गर्नेछु।’

अनुसन्धानमुखी पाठ्यक्रम विकस गर्छौँ : पौडेल 

निर्वाचित प्रदीप पौडेलले नेपालको अनुसन्धानका बारेमा ज्ञान प्राप्त गर्नेगरी पाठ्यक्रमको विकास गर्न पहल गर्ने बताए। ‘भाषिक र सांस्कृतिक पक्षबाहेक अन्य विषयमा एकरूपता हुनुपर्छ’, उनले भने, ‘पाठ्यक्रमलाई मौलिकतामा आधारित बनाउनुपर्छ. जनशक्ति उत्पादन गर्दा हाम्रो देशको आवश्यकतासँग जोड्नुपर्छ। यी कार्यमा सधैँ मेरो सक्रियता रहनेछ।’

पहिला त शिक्षा क्षेत्रलाई राज्यले दायित्वबोध गर्नुपर्ने उनी बताउँछन्। ‘राज्यले दायित्व बोध हुने गरि काम गर्नुपर्छ, त्यही अनुसार नीति बनाउनुपर्छ, जनतालाई जसरी पनि निःशुल्क शिक्षा प्रदान गर्नु राज्यको दायित्व हो,’उनले भने। 

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा सधैँ तालाबन्दी,आन्दोलन हुने गरेको छ। यसको समस्या समाधानको विषयमा उनले राज्यले विद्यार्थीको आवश्यकता पूर्ति गर्दै जाँदा यी गतिविधि आफैँ घट्दै जाने बताए। ‘क्याम्पसमा ताला लगाउन मिल्दैन भनेर कानुन बनाउन त सकिँदैन’,उनले भने,‘राज्यले माग सम्बोधन गर्दै गयो भने यस्तो गतिविधि घट्दै जान्छ।’ 

‘एक पालिका–एक आवासीय विद्यालयको व्यवस्था’

नवनिर्वाचित सांसद महेशकुमार बर्तौला राज्यले शिक्षालाई प्राथमिक क्षेत्रको रूपमा स्वीकार गर्नुपर्ने बताउँछन्। ‘कुल बजेटको २० प्रतिशत शिक्षामा छुट्याउनुपर्छ, यही कुरा पहिलो संसदमा ‘एड्भोकेसी’ गर्छु, सार्वजनिक शिक्षाको गुणस्तर वृद्धिका लागि विषयगत दरबन्दी छैन’, उनले भने, ‘आवश्यक दरबन्दी विद्यालयमा पठाउनुपर्ने काम सरकारले अविलम्ब वृद्धि गर्नुपर्छ। यसमा आफ्नोतर्फबाट भूमिका खेल्छु।’

उनका अनुसार ग्रामीण भेगमा अझै विद्यार्थीहरू घण्टौँ हिँडेर विद्यालय जाँदा अनेक समस्या भोगिरहेका छन्। ‘विद्यालयमा भौगोलिक विकट छ। चार घण्टासम्म हिँड्नुपर्छ, सरकारले न्यूनतम् पनि ‘एक पालिका–एक आवासीय विद्यालय’को व्यवस्था गर्नुपर्छ,’उनले भने,‘जहाँ २०० भन्दा बढी बालबालिका बसेर पढ्न सकून्। यसको पहलका लागि म विशेष भूमिका खेल्छु।’ 

उनी जनमुखी,ज्ञान,सीप मूलक,समानता मूलक शिक्षा प्रारम्भ माध्यमिक तहबाट गर्नुपर्ने बताउँछन्। उच्च शिक्षाको हकमा राज्यले विशेष लगानी गरिदिनुपर्ने उनको भनाइ छ। ‘म पीएचडी गरिरहेको छु। तर राज्यको पीएचडी कार्यक्रम नै छैन। सबै लगानी आफैँले गर्नुपर्छ’, उनले भने, ‘अब राज्यले लगानी गर्ने कार्यक्रम राखनुपर्छ। रिसर्च गर्नेहरूका लागि राज्यले आर्थिक सहयोगको व्यवस्था गर्नुपर्छ। यसमा विशेष पहल गर्नेछु।’

विश्वविद्यालयलाई भर्तीकेन्द्र बनाउने क्रम अब अन्त्य गर्नुपर्ने उनको भनाइ छ। ‘हामीले राम्रो खोजेनौँ। हाम्रो खोज्यौँ। सबैभन्दा यही विडम्बना यही हो। बौद्धिक कारखानामा भागवण्डा र  तालाबन्दीको होड रोक्न मेरो पहल हुनेछ’,उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.