देव गुरुङ भन्छन् : कांग्रेस–एमाले मिल्न सक्ने सम्भावनालाई पनि हामीले भुल्नु हुँदैन

|

काठमाडौं : प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको मतपरिणाम अन्तिम चरणमा पुग्दै गर्दा सरकार निर्माणका लागि कसरत सुरु भएको छ। सरकार निर्माणका लागि सत्ता गठबन्धन र प्रतिपक्षी दल नेकपा एमाले आ–आफ्नो गृहकार्यमा जुटेका छन्। 

सरकार निर्माणका लागि स्पष्ट बहुमत नपाएका दलहरूले गठबन्धन गरेर जाने विषयमा संवाद अगाडि बढाएका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी अहिलेको गठबन्धनलाई निरन्तरता दिने मनस्थितिमा छन् भने नेकपा एमाले पर्ख र हेरको अवस्थामा छ। 

आफूसँग गठबन्धन गरेका दलहरूलाई लिएर जाँदा बहुमत नपुग्ने अवस्था देखिएपछि एमाले पर्ख र हेरको नीति अवलम्बन गर्न बाध्य भएको हो। एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग चुनावी सहकार्य गरेको थियो।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले आफूहरू प्रारम्भिक छलफलमा रहेको बताए। उनले सत्ता गठबन्धनको रणनीतिलाई नजिकबाट नियालिरहेकाले गठबन्धनको कदमअनुसार अगाडि बढ्ने बताए। 

‘सरकार गठनका विषयमा हामी प्रारम्भिक छलफलमा छौँ। पार्टीको बैठक राखेर आवश्यक निर्णय लिने तयारी छ। अर्कोतिर गठबन्धनका गतिविधिहरूलाई पनि नियालिरहेका छौँ। किनकी उहाँहरू यही गठबन्धनलाई निरन्तरता दिने तयारीमा लाग्नुभएको छ।’ उपमहासचिव ज्ञवालीले भने, ‘यदि उहाँहरूलाई गठबन्धन ठिक लागेन भने, देशलाई स्थिरता दिन सकिएन भन्ने निष्कर्षमा पुग्नुभयो भने एमालेले आवश्यक निर्णय लिन्छ।’ 

उनले नेपालमा अहिलेको सत्ता गठबन्धनलाई केही बाह्य तत्वहरूले मन पराएकाले अर्को विकल्प आउन नसक्ने सम्भावना रहेको पनि बताए। ज्ञवालीले आफूहरू नेपाली कांग्रेस वा माओवादी केन्द्रसँग सहकार्यका विषयमा आवश्यक छलफल गरिरहेकोसमेत बताए।  

‘बाह्य शक्तिहरूले यही गठबन्धनलाई मन पराएका छन्। उनीहरूको रुचीअनुसार यो गठबन्धन चल्यो भने एमाले प्रतिपक्षमा बस्नुपर्ने अवस्था आउन सक्छ। तर, मुलुकलाई बन्धक बनाउने र अस्थिरता प्रदान गर्ने काम भएको खण्डमा एमाले स्थिरता दिन तयार छ,’ उनले भने, ‘सहकार्यका हिसाबले हामीले कांग्रेस, माओवादी वा कुनै पनि दलसँगका छलफलहरूलाई निरन्तरता दिने छौँ ।’

उनले पछिल्लो समय देखा परेका नयाँ पार्टीहरू जनमतको असन्तुष्टिलाई ‘क्याच’ गर्ने शक्ति भएको बताए। ज्ञवालीले नयाँ दलहरूको उदयलाई माअ‍ोवादी केन्द्रसँग तुलना गरे। 

‘जनमतको असन्तुष्टिलाई क्याच गर्न विभिन्न समयमा विभिन्न शक्तिहरू आउने गर्छन्। अहिलेको अवस्था पनि त्यही हो। हामीले माओवादी केन्द्रलाई पनि हेर्न सकिन्छ। किनकी २०६२/०६३ को जनआन्दोलनपछि पहिलो शक्तिको रुपमा उदाएको माओवादी अहिले कहाँ छ? समीक्षा गर्न सकिन्छ। संघीयता, धर्म निरपेक्षतालगायतका मुद्दा लिएर आएको माओवादी पतनको अवस्थामा छ। अहिलेका नयाँ दलहरू पनि त्यस्तै हो कि वैचारिक र राजनीतिक हिसाबले मजबुत छन् त्यो हेर्न बाँकी छ,’ ज्ञवालीले भने। 

उनले अहिलेको संसदबाट राजनीतिक स्थायित्वको खोजी कमजोर हुने बताए। एमालेका अर्का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ अहिलेको जनमतले राजनीतिक अस्थिरता निम्त्याएको बताउँछन्। उनले अहिलेको जनमतले संविधान र प्राप्त उपब्धीहरूलाई जोगाउन मुस्किल रहेको बताए।

‘अहिले हामी निर्वाचनको अन्तिम घडीमा छौँ। अहिलेको यो अभिमत जोखिमपूर्ण छ। किनकी कुनैपनि दलको स्पष्ट बहुमत छैन। यसले मुलुकलाई अस्थिरतातर्फ लैजाने छ। बाह्य शक्तिहरूले चलखेल गरिरहेका छन्। स्वतन्त्र दलहरूको उदयलाई जनताले पूराना पार्टीहरू सच्चिएर आउ भन्ने सन्देश दिएका छन्,’ उनले भने। 
उपमहासचिव गुरुङले स्थिर सरकारका लागि कांग्रेस–माओवादीलगायतका दलहरूसँग छलफल भइरहेको बताए।

‘देशलाई स्थिरता प्रदान गर्नका लागि हामीले ठूला दलहरूसँग छलफल र संवाद गरिरहेका छौँ। देश र संविधानको रक्षाका लागि परिस्थितिअनुसार आवश्यक निर्णय लिन्छौँ,’ उनले भने। 

एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले सत्ता गठबन्धनको रणनीति हेरेर आफूहरू अगाडि बढ्ने बताए। पाण्डेका अनुसार माओवादी केन्द्रले गठबन्धनलाई नै निरन्तरता दिने बताउँदै आइरहेकाले सत्ता सहकार्यबारे औपचारिक रुपमा छलफल भएको छैन। 

उनले नेकपा एकीकृत समाजवादीसँग सहकार्यको सम्भावना नरहेको बताए। पाण्डेले दल विभाजन गराएर गएका नेताहरू आत्मालोचना गरेर आए छलफल गर्न सकिने बताए। यता एकीकृत समाजवादी पार्टीले एमाले अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरे सहकार्य हुने बताउँदै आइरहेको छ। 

‘दल विभाजन गरेको हामीले कि उहाँहरूले ? उहाँहरूले आत्मालोचना गरेर आउनुभयो भए सोच्न सकिन्छ। नत्र तत्काल सम्भावना छैन,’ पाण्डेले भने। 

एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सम्भव भएसम्म एमालेको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने बताए। अहिलेको मुलुकको आवश्यकता एमाले नेतृत्वको बाम सरकार भएकाले सम्भव भएसम्म एमालेको नेतृत्वमा सरकार गठन पहल गर्ने बताएका हुन्।

उनले माओवादीलगायत अन्य कम्युनिष्ट पार्टीलाई भाइ कांग्रेस नबन्न सुझाव दिँदै भाइ कांग्रेस बने कांग्रेसलाई फाइदा र मुलुकलाई घाटा हुने तर्क गरे।

त्रासमा माओवादी !

नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा एमालेसँग सत्ता सहकार्यका लागि ढोका खुला राखेको छ। माओवादीले देशको बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै दुवै दलसँगको सहकार्यका लागि ढोका खुल्ला राखेको हो।

महासचिव देवप्रसाद गुरुङले निर्वाचनमा दलहरूले सोचेभन्दा फरक किसिमको नतिजा आएकाले देश अस्थिरतातर्फ धकेलिने बताए। 

‘हामीले कांग्रेस–एमालेसँगको सहकार्यका लागि ढोका खुला राखेका छौँ। निर्वाचनमा अपेक्षा गरेको भन्दा विपरीत नतिजा आएको र स्वतन्त्रका नाममा फरक फरक दलहरू आएका छन्। यसले देशमा अस्थिरता र अराजकता निम्त्याउने देखिछ। देशमा अस्थिरता पैदा गरेर विदेशी शक्तिहरू सक्रिय रहेका छन्। फरक खालका दलहरूको उदयले देशलाई कता लैजान्छ हामी सोहीअनुसार अगाडि बढ्छौँ,’ उनले भने। 

गुरुङका अनुसार माओवादीलाई कांग्रेस–एमाले मिल्ने डर पनि देखिएको छ। उनले कांग्रेस–एमाले मिलेर सरकार बनाउन सक्ने सम्भावनालाई पनि भुल्न नहुने बताए। 

वाम गठबन्धनको सरकार बन्न सक्ने सम्भावनाबारे थाहाखबरको जिज्ञासामा उनले भने, ‘देशलाई स्थिरता प्रदान गर्न वाम शक्ति एक ठाउँमा उभिनुपर्ने आवश्यकता छ। तर, कांग्रेस–एमाले मिल्नसक्ने सम्भावनालाई पनि हामीले भुल्नु हुँदैन।’

राप्रपा शर्तसहित सहकार्य गर्न तयार

प्रतिनिधिसभाको प्रत्यक्षमा सात सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी सरकार निर्माणका लागि ‘किङ मेकर’को रुपमा उभिएको छ। समानुपातिकमा पनि सात सिट ल्याउने संकेत दिएको राप्रपा कसको पक्षमा उभिन्छ भन्ने विषयमा सबैको चासो छ।

राप्रपा अन्तिम अवस्थामा सर्तसहित सरकारमा जान तयार देखिएको छ। उसले आफूहरू सरकारमा नगइ नहुने अवस्था आएमा शर्तसहित जाने भएको छ। 

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आफूहरू घोषणापत्रमा उभिएर काम गर्ने भएकाले शसर्त सरकारमा सहभागी हुने बताए। 

‘हाम्रो पहिलो प्राथमिकता सरकारमा जाने होइन। जनादेशको म्यान्डेट पनि त्यो होइन। हाम्रो प्राथमिकता घोषणापत्रमा भएका विषयवस्तु पूरा गर्ने हो। अहिले नै सरकार बनाउने प्राथमिकता हाम्रो होइन। तर, राप्रपाको उपस्थिति नभइ सरकार नबन्ने अवस्था आयो भने सर्तसहित सरकारमा जान तयार छौँ,’ उनले भने। 

यस्तो छ अंकगणित

पछिल्लो मतपरिणामअनुसार कुनै पनि दलको स्पष्ट बहुमत नपुग्ने देखिएको छ। बहुमतको सरकार निर्माणका लागि २७५ मध्ये १३८ सिटको आवश्यकता पर्छ। तर, दलहरूले निर्वाचनमा आवश्यक सिट संख्या ल्याउन नसक्दा संयुक्त सरकार बन्ने देखिएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार नेपाली कांग्रेस सबैभन्दा ठूलो दल छ। 

कांग्रेसले प्रत्यक्षमा १ सय ६१ सिटको नतिजा आउँदा ५४ सिट जितेको छ। काँग्रेससहितको सत्ता गठबन्धनसँग प्रत्यक्षमा ८६ सिट छ। जसमध्ये माओवादी केन्द्रको १७, नेकपा एकीकृत समाजवादीको १०, लोकतान्त्रिक समाजवादीसँग ४ सिट र राष्ट्रिय जनमोर्चासँग एक सिट रहेको छ।

समानुपातिकमा कांग्रेसको ३३, माओवादीको १५ सिट आउने देखिछ। माधव  नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन कठिन देखिन्छ। लोसपा र राजमोले थ्रेस होल्ड कटाउने सम्भावना छैन।

सरकार निर्माण लागि सत्ता गठबन्धनसँग मात्रै बहुमत नपुग्ने भएकाले अरु दल वा स्वतन्त्र सांसदलाई लिनुपर्ने हुन्छ।

प्रत्यक्षमा ७ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा १५ सिट ल्याउने संभावना देखिन्छ। त्यसो हुँदा सरकार बलियो हुने भएकाले गठबन्धनले ​रास्वपालाई सरकारमा ल्याउन पहल सुरु गरिसकेका छन्। 

यता एमालेसहितको गठबन्धनसँग प्रत्यक्षमा ५८ सिट छ। जसअनुसार एमालेसँग ४४, जनता समाजवादी पार्टीसँग ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग ७ सिट रहेको छ। 
पछिल्लो मतपरिणामअनुसार समानुपातिकमा नेकपा एमालेले ३४, राप्रपाले आठ र जसपाले ५ सिट पाउने सम्भावना छ। एक सिट प्रत्यक्षमा जितेको सिके राउतको जनमत पार्टीले पनि थ्रेस होल्ड कटाइसकेको छ। उसको थप ४ सांसद थपिने देखिन्छ।

यस्तै नागरिक उन्मुक्ति पार्टी ३, र नेमकिपा एक/एक सिट र पाँच जना स्वतन्त्र सांसद छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.